आइतबार, वैशाख १४, २०८२

किन जनप्रिय छन् घिसिङ ?

मीना साउँद २०७८ साउन १९ गते १९:४७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

साथै प्रधानमन्त्री देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएपछि यो खबरले प्रमुखता नै पाएको छ । यस खबरले जनता प्रधानमन्त्रीप्रति गदगद भएका छन् । कुलमान घिसिङ त्यो नाम हो, जसले तीन करोड नेपाली जनालाई लोडसेडिङबाट मुक्ति दिलाएका थिए । घिसिङ त्यत्तिकै जनताका प्यारा बनेका होइनन् उनी नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक भएर आएपछि दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा पर्दै आएका नेपाली जनतालाई त्यस समस्याबाट मुक्ति दिलाएका थिए ।

घिसिङभन्दा पहिला प्राधिकरणमा आउनेले पनि जनतालाई लोडसेडिङबाट मुक्ति दिलाउने दाबी नगरेका भने पक्कै होइनन् । तर, नेतृत्वमा आइसकेपछि सबैको बोली भाषणमै सीमित हुन पुग्थ्यो । कुलमान नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा संस्थाको अवस्था अत्यन्तै नाजुक थियो । त्यस बखत जनता दैनिक १२ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका थिए । ‘जुन जोगी आए पनि कान चिरिएको’ भन्ने नेपाली उखानजस्तै बनिसकेको थियो नेपाली जनताका लागि नयाँ नेतृत्व आउनु ।

कुलमानले नेतृत्व सम्हालेको केही महिनामै काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरेका थिए । प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडसेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले उनको उक्त अभिव्यक्तिलाई त्यत्ति महत्त्व दिएनन् । नहुन पनि कसरी जनताले त्यसअघि धेरैका बाचा भाषणमै सीमित भएका देखिसकेका थिए । तर सबैको अनुमानविपरीत उनको घोषणा सही साबित हुन पुग्यो । काठमाडौं उपत्यका साँच्चिकै लोडसेडिङमुक्त भयो । काठमाडौंमा सफलता पाएपछि कुलमानको महत्त्वाकांक्षा बढ्यो । उनले भरतपुर, पोखरालगायत मुलुकका विभिन्न प्रमुख सहरहरूमा समेत क्रमिक रूपमा लोडसेडिङ अन्त्य गर्दै लिए । कुलमानको चर्चा-परिचर्चा भयो । जनताले उनलाई पत्याउन थाले । नपत्याउन् पनि कसरी ? लोडसेडिङका कारण टुकी, दियालोकै भरमा रात गुजार्न बाध्य जनता चौबीस घण्टा बत्ती बल्न थालेपछि खुसी हुनु स्वभाविक थियो ।

कुलमानको बाल्यकाल र प्राधिकरणसम्मको यात्रा
रामेछापको बेथान गाउँको एउटा सामान्य किसान परिवारमा जन्मिएका कुलमानको बाल्यकाल अभावमै अभावमा गुज्रिएको थियो । पढाइमा भने उनी बाल्यकालदेखि नै अब्बल थिए । प्रायःजसो उनी प्रथम हुन्थे । त्यसैकारण पनि होला कक्षा एक र दुई एकै वर्षमा उनले पूरा गरे । कक्षा तीन नपढी सीधै चारमा जम्प गरे ।

त्यसपछि उनी काठमाडौं आए । काठमाडौं आएपछि उनले पहिलोपटक बिजुली बलेको देखेका थिए । काठमाडौंमा पनि कक्षा ६ नपढी उनी सीधै ७ कक्षामा भर्ना भएका थिए । तैपनि उनको आउने नियमित नतिजामा कुनै पनि भिन्नता देखिएन अर्थात् उनि फेरि पनि प्रथम नै भए ।

पढाइप्रति उनको लगाव र क्षमताका कारण शिक्षकहरूले निजी विद्यालयमा भर्ना हुन प्रेरित गरे । निजी विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराइने हुँदा कक्षा पाँचमा भर्ना हुन उनलाई सुझाइयो । तर उनले मानेनन् । पुरानै विद्यालयमा फर्कन्छु भनेपछि उनि कक्षा ८ मा भर्ना भए । कक्षा ८ मा पनि प्रथम नै भए । कुलमान एसएलसी परीक्षामा भने ’उत्कृष्ट १०’ मा पर्न झिनो अन्तरले वञ्चित भएका थिए ।

काठमाडौंको अमृत साइन्स क्याम्पसमा अध्ययन सकेर उनी भारतमा इन्जिनियरिङ पढ्न गए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ’ऊर्जा व्यवस्थापन’ मा उनले स्नातकोत्तर गरे । पछि एस इन्स्टिट्युट अफ म्यानेजमेन्टबाट उनले ईएमबीए पनि गरे । लोकसेवा आयोग र नेपाल वायुसेवा निगममा समेत नाम निकाले पनि उनले कर्मथलोको रूपमा प्राधिकरण नै रोजे । २०५१ सालमा सरकारी सेवामा उनी प्रवेश गरे । प्राधिकरणमा पनि उनले पढाइको क्रममा प्रगति हासिल गरे जस्तै छलाङ मार्न सफल भए । जसका कारण आफूभन्दा अग्रजलाई समेत पछि पार्दै प्राधिकरणको शीर्ष नेतृत्वमा उक्लन उनी सफल भए ।

विद्यार्थी जीवनदेखि नै एकपछि अर्को फड्को मार्न सफल कुलमानले प्राधिकरणमा काम गर्दा मारेको महत्त्वपूर्ण छलाङ भनेको २०६७ सालमा पाएको चिलिमे जलविद्युत् आयोजनाको प्रमुखको जिम्मेवारी हो । चिलिमेमा उनले देशमै पहिलोपटक जलविद्युत्‌को सेयर सर्वसाधारणका लागि जारी गर्ने काम गरेका थिए, जसले उनलाई चर्चामा पुर्‍याएको थियो । सेयर मात्र नभएर उनले स्थानीयवासीबाट शुभेच्छा बटुल्न सफल रहे । उनले जनताको भरोसा र विनाढिलासुस्ती आयोजनासम्बन्धी काम बढाएका कारण पनि उनको चिलिमे कार्यकाल निकै सफल रहेको मानिन्छ ।

रसुवा जिल्लास्थित आयोजनामा सुरुमा बोर्ड डाइरेक्टरका रूपमा प्रवेश गरेका कुलमान पछि आयोजनाका कार्यकारी निर्देशक नै बन्न सफल भए । पछि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले उनलाई चिलिमेबाट केन्द्रमा फिर्ता बोलाएकी थिइन् । चिलिमे जलविद्युत् कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेका थिए ।

प्राधिकरणमा रहँदा हासिल गरेका उपलब्धि
नेपालमा सुक्खायाममा १८ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था थियो । घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको दोस्रो महिनामा काठमाडौंबाट लोडसेडिङमुक्त गर्ने कार्य परीक्षणको रूपमा सुरु गरे । सो परीक्षण सफल भएको आधारमा २०७३ चैत १ देखि देशव्यापी रूपमा लोडसेडिङ अन्त्य गर्न उनी सफल भएका थिए ।

त्यस्तै, चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि मानिन्छ । घिसिङले ६० मेगावाटको त्रिशूली थ्री ए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए । तर, उनले आफ्नो कार्यकालमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा हुन सकेनन् । निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा पूरा हुन पाएको थिएन ।

२०७३ भदौ २८ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान प्राधिकरणको ४ वर्षे कार्यकाल सकेर २०७७ भदौ २८ गते प्राधिकरणबाट बाहिरिएका थिए । लोकप्रिय बनेका कुलमान घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउन जनस्तरबाटै दबाब आएको थियो । तर, सरकारले भने उनलाई दोहोर्‍याउन अरुचि देखाएपछि सरकारको विरोधसमेत भएको थियो । आफैं पनि अर्को कार्यकालमा दोहोरिन इच्छुक घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त निर्देशन दिएसँगै आमजनता खुसी भएका छन् । अहिले आम मानिसले बत्ती जानुलाई ’कुलमान जानुभयो’ भन्ने गरेका छन् । जसलाई उनले गरेको कामको कारण दिइएको आदरको रूपमा धेरैले अर्थ्याउँछन् ।

प्रतिक्रिया