आइतबार, जेठ ६, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ साउन २३ गते १०:०८

ओमविक्रम विष्ट नेपाली संगीतमा रुचि राख्ने कुनै पनि स्रोतालाई चिनाइ राख्नुपर्ने नाम होइन । तीसको दशकबाट गायनको क्षेत्रमा फरक परिचयका साथ अगाडि आएका विष्टका गीतहरु अहिले पनि सबै उमेरका र खासगरी युवा स्रोताको मन-मस्तिष्कमा छाइरहेकोछ भन्नु अत्युक्ति हुँदैन।

• म, मौनतामा अल्झिरहेको एउटा जीवन…
• नभनी देऊ…
• मेरो रहर ब्युँझिएर…
• म सम्झन्थें…
• मेरो याद अझै आउँछ भने…
• याद गर ती दिनहरु…
• सुनचाँदीभन्दा महँगो यो ज्यानलाई…

आदि यी यस्ता गीतहरु हुन जसका कारण उनको लोकप्रियता अहिले पनि कायम नै छ। नेपाली गायन परम्परामा अत्याधुनिक शैली भित्र्याएको र यसलाई लोकप्रियता दिलाएको जस उनैलाई जान्छ। यस अर्थमा, ओमविक्रम नेपाली गीत-गायन परम्पराका एउटा ‘कोसेढुंगा’ पनि हुन्।

ओमजीको परिचयको सन्दर्भमा कुरा गर्दै गर्दा मलाई के पनि रमाइलो लाग्छ भने नेपाली साहित्यमा अभिरुचि राख्नेका लागि उहाँलाई सुप्रसिद्ध उपन्यासकार दौलतविक्रम विष्टको छोराका रुपमा जसरी चिनाउन सकिन्छ त्यसरी नै गीत/ संगीतमा अभिरुचि राख्नेहरुका बीच दौलतविक्रमलाई चिनाउनुपर्‍यो भने गायक तथा संगीतकार ओमविक्रमको पिताजीका रुपमा चिनाउन सजिलो हुन्छ जस्तो मलाई लाग्छ।

वि. सं २०११ फागुन ५ गते जन्मिएका ओमविक्रमसँगको मेरो चिनाजानी र मित्रता ०३६/३७ देखिको हो । मित्रतामा पनि हामी न कहिल्यै ‘नजिक’ का रह्यौं न कहिल्यै ‘टाढा’ का भयौं । एक किसिमले हामीबीचको सम्बन्ध अहिले पनि अ‍ौपचारिक किसिमकै छ भन्दा हुन्छ ।

ओमजीको स्वरमा मेरो शब्द रचनाको एउट पनि गीत बाहिर आएको छैन। २०५० सालमा नेपाली कथानक चलचित्र ‘सडक’ का लागि उहाँको स्वरमा एउटा गीत रेकर्ड त भएको थियो, तर किन हो पछि चलचित्रमा त्यो गीत प्रयोग गरिएन । बरु उहाँको संगीतमा २०५८ सालमा गायिका विमला राईको स्वरमा रेकर्ड भएको ‘तिमीले माया गर्छु भन्यौ मनमा फेरि चस्को पर्‍यो…’ भन्ने बोलको गीतचाहिँ सुन्न सकिन्छ । यो गीत, मुनलाइट रेकर्डसले प्रकाशनमा ल्याएको विमला बहिनीकै ‘माया’ शीर्षकको एकल एल्बममा संग्रहित छ।

त्यसै पनि पातलो भेटघाट हुने हामीबीचको भेट ओमजीले अमेरिकातिर बसाइ सार्नुभएपछि ठप्प प्राय: भएको छ । पछिल्लोपटक ३/४ महिनाअगाडि अमेरिकाकै एटलान्टा पुग्नु भएका बेला एटलान्टा निवासी मेरा प्रिय भाइ राजा घलेले हामीबीच कुराकानी गराइदिनुभएको थियो । मिर्गौलासम्बन्धी रोगको उपचारपछि उहाँमा नयाँ उत्साह भरिएको अनुभव, उहाँसँगको कुराकानीको क्रममा, मलाई भएको थियो। ओमजी भन्दै हुनुहुन्थ्यो- तपाईंका केही गीतहरुमा संगीत भरेको छु । अब नेपाल आउँदा पक्कै गाउँछु ।

ओमविक्रमसँगको यो फोटो भने तत्कालीन युवा, खेलकुद तथा संस्कृति मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्ने ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ ग्रहण गरेपछि त्यही कार्यक्रमका बीच २९ असार २०५६ का दिन जमल, काठमाडौंस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा खिचिएको हो । त्यस वर्ष ओमजीलाई गायनका लागि र मलाई साहित्य-सिर्जनाका लागि सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया