मंगलबार, जेठ १, २०८१

‘उमेर मात्र नेतृत्वको मानक होइन’

नेपाली कांग्रेसको ढोका सबै क्षेत्रका मानिसका लागि खुला हुनुपर्छ । यसबाट पार्टीको सामर्थ्य वृद्धि हुन्छ, जनमत विस्तार हुन्छ,पार्टीप्रति भरोसा पनि बढ्छ ।

नेपालखोज २०७८ साउन २६ गते १०:५१

समग्रमा पार्टीलाई आन्तरिक रुपमा सुधार गर्ने, पार्टीमा गुणात्मक सुधार ल्याउने, कांग्रेसको पार्टी संगठनमा रुपान्तरण, त्यो पनि क्रान्तिकारी रुपान्तरणको आवश्यकता छ ।

हाइलाइट्स :

-महाधिवेशन हुने साल क्रियाशील सदस्यता बाँडनु हुँदैन, मिल्दैन । यो वैधानिक व्यवस्थाको प्रतिकूल काम हामीले गरिरहेका छौं । संसारभरका डेमोक्रेटिक पार्टीको उदाहरण हेर्दा पनि थाहा हुन्छ । सदस्यता वितरण, नवीकरण निरन्तर जारी रहनुपर्छ तर महाधिवेशनको मुखमा क्रियाशील सदस्यता वितरण रोक्नुपर्छ । राष्ट्रिय कार्यकारिणीको निर्वाचन हुने वर्ष संसारका कुनै पनि प्रजातान्त्रिक पार्टीले सदस्यता बाँड्दैनन् । अहिले त विधानकै धारा निलम्बन गरेर यो काम गरिएको छ, यसपटकको महाधिवेशनपछि नै यो कामले निरन्तरता पाउनु हुँदैन ।

-महाधिवेशनमा सबैको ध्यान नेतृत्व चयनमै गएर अड्ने गरेको छ । विदेश विभागबाहेक हाम्रो पार्टीको आठवटा तहगत संरचना छन् राज्यको पुनर्संरचनापछि । महाधिवेशन आएपछि सबैको ध्यान ती कुन-कुन तहमा को-को पुग्ने भन्नेमै सबैको ध्यान केन्द्रित हुने र शक्ति खर्च हुने गरेको छ । हाम्रो महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रममा कम ध्यान पुग्ने गरेको छ । यसपटक त झन् कोभिडले गर्दा नीति र कार्यक्रममा त्यति छलफल हुने अवस्था वा सम्भावना पनि छैन ।
-महाधिवेशनका लागि कुनै वैकल्पिक उपाय अपनाउन सकिन्छ कि भन्ने कुरा पनि आइरहेको छ । पाँच हजारभन्दा बढी प्रतिनिधि केन्द्रमा एकै ठाउँमा जम्मा भएर महाधिवेशन सम्पन्न गर्न गाह्रो पनि छ अहिलेको महामारीमा । त्यसैले महाधिवेशनको प्रक्रियामा कुनै वैकल्पिक बाटो अपनाइने सम्भावनासमेत छ ।

‘पार्टीभित्रको लथालिंग सुधार अहिलेको पहिलो आवश्यकता’

-हाम्रो पार्टी व्यक्तिप्रधान, नेताप्रधान हुँदै गयो । वैयक्तिक स्वार्थ हाबी हुँदै गयो पार्टीमा । महाधिवेशनमा प्रतिस्पर्धी नेताहरुको आपसी स्वार्थको टकराव बढी देखापर्न थाल्यो । हाम्रो संस्थागत पहिचान, हाम्रो वैचारिक धरातल, हाम्रो सिद्धान्त, हाम्रो परम्परागत नीति आदि के हो ? त्यसमा हामिले के-कस्ता परिवर्तन वा परिमार्जन ल्याउनु आवश्यक छ ? हाम्रो आदर्श-सिद्धान्तलाई अहिले समयसापेक्ष व्याख्या कसरी गर्ने ? त्यसमा हिजोका नेताहरुले गरेको व्याख्या पर्याप्त छ कि छैन ? थप केही कुरा परिमार्जन गर्नुपर्ने हो कि ? भन्ने जस्ता विषयमा ध्यान कम जाने गरेको छ ।

-हामीले समाजवादको कुरा गायत्री मन्त्रका रुपमा मात्र जपेर वा प्रजातान्त्रिक समाजवाद को कुरा मात्र भनेर, राष्ट्रियता र लोकतन्त्रको कुरा मात्र भनेर, त्यसलाई स्पष्ट रुपमा जनताबीच बुझाउन सकेनौं भने फेरि पनि दुर्भाग्य झेल्नुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

-दुनियाँबाट आउटडेटेड भइसकेको, म्याद गुज्रिएको दबाईजस्तो भइसकेको, असान्दर्भिक भइसकेको साम्यवादी विचार आज नेपालमा मौलाएको छ, फस्टाएको छ । यसको कारण के हो त भन्दा प्रजातान्त्रिक शक्तिहरुले अर्थात् हामीले हाम्रो विचारलाई जनताबीच स्पष्ट रुपमा लैजान सकेनौं, जनतालाई सम्झाउन, बुझाउन सकेनौं । डेमोक्रेसी के हो, लोकतन्त्र के हो, साम्यवाद के हो, कम्युनिज्म के हो ? भन्ने कुरा बुझाउन सकेनौं । नयाँ पुस्ताले आफैं पढेर जानेको छ त्यो अलग कुरा हो तर उनीहरुलाई प्रजातन्त्रको, लोकतन्त्रको बाटोमा ल्याउन मोटिभेट गर्न उत्प्रेरित गर्न सकेनौं । त्यसैले नयाँ पुस्ताको युवा कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँडेको छ । संसारले बुझेको छ लोकतन्त्र मात्र एउटा त्यस्तो बाटो हो जसले मानवतावादलाई अपनाएको छ, जसले सह-अस्तित्वलाई अँगालेको छ । सहिष्णुता, भातृत्व, बन्धुत्व, एकता, समन्वय, शान्ति आदिलाई आफ्नो मूलमन्त्र बनाएको छ लोकतन्त्रले तर हाम्रो युवापुस्ता त्यो बाटो छाडेर कम्युनिस्ट पार्टीको झन्डा बोकेर गलत बाटोमा हिँडिरहेको छ । हामीले यसलाई रोक्न सकिरहेका छैनौं । यो हामी समग्रको, सबैको कमजोरी हो ।

-हाम्रो ध्यानचाहिँ पार्टीको अमुक पदमा पुग्ने र त्यही पदका आधारमा राज्यको पद हासिल गर्नेमा छ । हामी आफ्नो सिट, ओहोदा सुरक्षित गर्ने चिन्तन, मनोविज्ञानले ग्रस्त छौं । त्यसैले नेपाली कांग्रेसले आम-निर्वाचनमा पनि अपेक्षाकृत सफलता हासिल गर्न सकेन । हाम्रो पार्टीका निकायहरु पनि भ्रातृ संगठनहरु पनि केन्द्रदेखि तलसम्म बलियो देखिएनन् । पार्टीको संगठनात्मक स्थितिमा पनि एकदम ह्रास आयो, कमजोरि देखियो । यो सबै हाम्रै आफ्नै कारणले गर्दा भएको हो ।

-उमेर मात्र नेतृत्वको मानक होइन । कहिलेकाहीँ पाको उमेरको नेताको सान्दर्भिकता कायमै रहन्छ, उसको सक्रियता, विचार आदिका कारणले, आममानिसमा उसको स्वीकार्यता वा समर्थनका कारणले । यद्यपि विचार, सक्रियता, नेतृत्व कुशलता आदिमा असफल भए पनि नेतृत्वमा बसिरहने प्रवृत्ति देखिएको छ नेपालमा । कांग्रेसमा मात्र होइन अरु सबै पार्टीमा यस्तै समस्या छ ।

-नेतृत्व हस्तान्तरण पुस्तान्तरणसहित हुनुपर्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कुरा जस्तो मात्र हुनु हुँदैन, पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने कुरा सशक्त रुपमा उठेको छ । नेतृत्व परिवर्तनमा पुस्तान्तरणसहितका नेतृत्व हस्तान्तरण अनि त्यसपछि रुपान्तरण ।

-पार्टीमा रुपान्तरण भन्नाले केन्द्रदेखि वडा तहसम्मका हाम्रा संरचनाका कार्यशैलीमा रुपान्तरण, आन्तरिक व्यवस्थापकीय अवस्थामा रुपान्तरण, किनभने हाम्रा पार्टीहरु अस्तव्यस्त छन् । पार्टी कार्यालय व्यवस्थित छैन, पार्टीको संरचना माथिदेखि तलसम्म अस्तव्यस्त छ । पार्टीभित्र न्याय हराएको छ । मूल्यांकन प्रणाली एकदम कमजोर छ । आफ्नो समर्थन गर्ने मात्र पार्टी कार्यकर्ता हो भन्ने बलियो धारणा बनेको छ नेताहरुमा । तसर्थ यी सबै कुरामा परिवर्तन चाहिएको छ । अहिलेको लथालिंग अवस्थामा सुधार अहिलेको पहिलो आवश्यकता हो ।

-केन्द्रीय समितिको ठाउँमा विधानले व्यवस्था नगरेको पदाधिकारीहरुको बैठकबाट काम चलाउनु र त्यसले निरन्तरता पाउनु गलत हो ।

-समग्रमा पार्टीलाई आन्तरिक रुपमा सुधार गर्ने, पार्टीमा गुणात्मक सुधार ल्याउने, कांग्रेसको पार्टी संगठनमा रुपान्तरण, त्यो पनि क्रान्तिकारी रुपान्तरणको आवश्यकता छ । चानचुने सुधारले, चानचुने परिवर्तनले हुँदैन । किनभने नेपाली कांग्रेस अहिले एकदमै अस्तव्यस्त, लथालिंग अवस्थामा छ । पार्टीमा विद्यमान तदर्थवादको अन्त्य हुनुपर्छ । यस्तो अवस्थामा पार्टीले आगामी चुनौतीहरु सामना गर्न सक्दैन ।

आगामी महाधिवेशनले पार्टीभित्र निकै ठूलो परिवर्तन ल्याउनेछ । त्यो परिवर्तनलाई कसैले पनि रोक्न सक्दैन । अहिले पार्टीमा क्रियाशील सदस्यहरुको ७० प्रतिशतभन्दा बढी संख्या ६० वर्षमुनिको छ । यसको प्रभाव नयाँ नेतृत्वमा देखिने निश्चित छ ।

-संघीयता र हिन्दुराज्यको कुरा पार्टीभित्र उठेको छ । तर पार्टीले यो कुरा उठाएको छैन । हाम्रै पार्टीको नेतृत्वमा बनेको नेपालको संविधानले व्यवस्था गरेको प्रावधान तत्काल बदल्ने पार्टीको अहिले कुनै योजना छैन । बहुसंख्यक वा आमजनताको चाहना नै यसमा देखियो भने हामीले यसलाई रोकेर राख्न सक्दैनौं । जनताको चाहना भएपछि प्रजातन्त्रवादी पार्टीले त्यसलाई रोक्नु पनि, बन्देज लगाउनु पनि हुँदैन । तर अहिलेलाई संघीयता खारेज गर्ने धर्मनिरपेक्षताबाट पछाडि हट्ने कुनै योजना छैन ।

-आगामी महाधिवेशनले पार्टीभित्र निकै ठूलो परिवर्तन ल्याउनेछ । त्यो परिवर्तनलाई कसैले पनि रोक्न सक्दैन । अहिले पार्टीमा क्रियाशील सदस्यहरुको ७० प्रतिशतभन्दा बढी संख्या ६० वर्षमुनिको छ । यसको प्रभाव नयाँ नेतृत्वमा देखिने निश्चित छ । हामीले भनेका छौं पहिलो पुस्तालाई बिदा गरेर सम्मानित ठाउँमा राखौं, कार्यकारी भूमिकामा दोस्रो पुस्ताका युवा नेताहरुलाई पुर्‍याउँ र विल्कुलै नयाँ पुस्तालाई पर्याप्त ठाउँ दिएर सामेल गरौं ।

-भारतमा २३ वर्षयता भाजपाले नौजना अध्यक्ष फेर्‍यो, उता कांग्रेस (आई) मा त्यही अवधिमा दुईजना अध्यक्ष भए सोनिया र राहुल गान्धी । यसबीच भाजपा कहाँबाट कहाँ पुग्यो कांग्रेस (आई) चाहिँ दुई-दुईवटा निर्वाचनमा नराम्रोसँग पराजित भएर कहाँ पुगेको छ ?

-नेपाली कांग्रेसको ढोका सबै क्षेत्रका मानिसका लागि खुला हुनुपर्छ । यसबाट पार्टीको सामर्थ्य वृद्धि हुन्छ, जनमत विस्तार हुन्छ, पार्टीप्रति भरोसा पनि बढ्छ । यसबाट पार्टीको संगठनात्मक आधार बलियो हुन्छ । संगठन सुदृढ हुन्छ ।

प्रतिक्रिया