आइतबार, वैशाख २३, २०८१

जानौं पनि मानौं पनि ‘सडक दुर्घटनास्थल हो’

विपिन गौतम २०७८ साउन ३२ गते १४:४९

नेपालभरका प्रहरी कार्यालयमा जानकारी भएअनुसार गत आर्थिक वर्षमा २० हजार ६४० वटा सवारी दुर्घटना भएको छ । तर विनाजानकारीका दुर्घटना योभन्दा बढी पनि हुन सक्छन् ।

साना-तिना ठक्कर लाग्ने हल्लाखल्ला गर्ने आफैं मिल्ने, आफैं उपचार गराउने, सवारीसाधन लिएर चालक भाग्ने, नभेटिने, घटनास्थलमै मिलाउने यस्ता भएका काम प्रहरी अभिलेखमा आइपुग्दैनन् ।

२० हजार ६४० वटा भएका सवारी दुर्घटनामा १८ हजार ६ सयजना साधारण घाइते भए भने ६ हजार ४४८ जना सख्त घाइते भएर जीवनभरको पीडा लिई उपचार गराइरहेका छन् । दुर्घटनाबाट कतिका हात-गोडा र अन्य अंग छुटिन्छन्, काम नलाग्ने हुन्छन् । दुर्घटनाबाट जीवन सुखमय हुन सक्दैन ।

आर्थिक वर्ष ०७७/७८ असार मसान्तसम्ममा २५ सयजनाले जीवन गुमाए । उमेरको महत्त्वपूर्ण समयमा बढी मानिस युवा अवस्थामै सवारीसाधनको दुर्घटनामा परेर थलिन्छन् । घर परिवारका आशाको केन्द्र नै घरमै थुप्रिन बाध्य हुन्छन् ।

३३ हजार १३५ वटा सवारीसाधन दुर्घटना भएर २० हजार ११६ सवारीसाधन क्षति भए ती पनि निर्माण नहुन्जेल प्रयोग हुन्नन् र देश, समाज, व्यवसायी, चालक मजदुरहरुलाई हानि नै पुगिरहेको हुन्छ । सवारी यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं २०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भएपछि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को ऐन नियम तर्जुमा भयो ।

ऐन-कानुन यातायात व्यवस्थापनका लागि बने पनि मुख्य कार्यान्वयन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ । यात्रुको आवागमन र वस्तु ओसारपसारका लागि सुरक्षित भरपर्दो र सुलभ तरिकाबाट यातायात सञ्चालन गर्ने भनिए पनि सरकारको आफ्नै सार्वजनिक सवारीसाधन नभएकाले विभिन्न यातायात व्यवसायीहरुको सबै सजिला-अप्ठ्यारा मागहरुसँग सरकार सम्झौता गर्दै अघि बढ्दै छ ।

‘काठमाडौंका जेब्राक्रस छैनन् सुरक्षित, सडकमा हतार गर्नुहुँदैन’

सर्वसाधारण नेपालीले उपत्यकामा धेरै ढिला गरी सवारीसाधन देख्न र चढ्न पाएका हुन् भने तराईमा भारतीय खुला सीमा भएका कारण सवारीसाधनको अनुभव पहिले नै गरिसकेको मान्न सकिन्छ ।

सरकारी तथ्यले पनि वि.सं. १९९६ सालदेखि मात्र सार्वजनिक सवारीसाधन सञ्चालन भएको हो । त्रिभुवन राजपथको निर्माणपछि देशको राजधानीलगायत अन्य क्षेत्रमा सवारीसाधनको प्रयोग सुरु भयो भनिएको छ ।

करिब ८२ वर्षको यातायातको इतिहास छ भने नेपालमा करिव चालीस लाख सवारीसाधन दर्ता भइसकेको पाइन्छ । सार्वजनिक सवारीको तुलनामा व्यक्तिगत सवारीसाधनको बाहुल्यता छ । उचित र आवश्यक भौतिक पूर्वाधारबिनाका सडकमा आवश्यक प्रशिक्षण, शिक्षा र सवारीज्ञानको कमी भएका पैदलयात्री, चालक, व्यवस्थापकका कारण बर्सेनि लाखौको संख्यामा भौतिक क्षति, हजारौंको संख्यामा मानवीय क्षतिको देशले पीडा भोगिरहेको छ ।

सवारी दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई कम भने गर्न सकिन्छ । यसका लागि निम्न बुँदाको कार्यान्वयन सही तरिकाबाट हुनुपर्छ ।

-सडक निर्माण
-सवारीसाधन आयात
-सवारी ज्ञान, स्कुल-कलेज पाठ्यक्रम शिक्षामा अनिवार्यता
-सवारीसाधन प्रशिक्षण केन्द्रको अनिवार्यता
-सिकारु सवारी चालक नीति
-विशेष सवारी चालक प्रशिक्षण स्थान निर्धारण
-सवारी चालक प्रमाणपत्र वितरण नियमितता र कठोर परीक्षा
-सवारी चालक प्रमाणपत्र प्राप्तिपछि नवीकरण समयमा वा समय-समयमा अनिवार्य सवारी ऐन नियम र सवारी सञ्चालनका नियमहरुको जानकारी अनलाइन वा स्वयं उपस्थित भई लिनु र लिएको हुनुपर्ने बाध्यात्मक व्यवस्था
अनलाइन कक्षामा बसेको प्रमाण सम्बन्धित व्यक्तिको सवारी चालक प्रमाणपत्र अभिलेख खातामा नवीकरणअगावै अभिलेखीकरण हुनुपर्ने ।

जानौं पनि मानौं पनि ‘सडक दुर्घटनास्थल हो’

विपिन गौतम

गौतम नेपाल प्रहरीका पूर्वडीएसपी हुन् ।

प्रतिक्रिया