मंगलबार, वैशाख २५, २०८१

अमंगल भएपछि के गर्ने ?

ओम आचार्य २०७८ भदौ १ गते ७:२१

मेष र वृश्चिक राशिको स्वामी मंगल ग्रह हो र यो भूमि कारक हुन्छ । भूमिलाई उठाउने गँगटा अर्थात् गँगटा जमिनमुनि बस्छ र जमिनलाई माथि उठाउँछ । यी दुवै राशिलाई कर्कट राशि योगकारक हुन्छन् । कर्कट भनेकै गँगटा हो । कर्कट जल प्रधान प्राणि हो तसर्थ यो जलीय राशि पनि हो । जलसँग भूमिको अन्तरंग सम्बन्ध छ । अर्को कुरा पृथ्वी पानीमा डुबेको थियो । त्यतिबेला वराह भगवानले पृथ्वीको उद्धार गरेका थिए । बराह भगवान भौम प्रधान व्यक्तिका लागि इष्ट हुन । मंगल प्रतिकूल छ भने त्यसलाई अनुकूल बनाउन वराह भगवानको उपसना-पूजा आदि उपयुक्त हुन्छ ।

भूमि सुख छैन भने, भूमिमा झगडा छ भने, वराह भगवानको उपसनाले लाभ मिल्छ । वराह भगवानको कृपाका लागि बँदेलको दारा धारण गर्दा सकारात्मक परिणाम मिल्छ । यसबाट बल-वीर्य प्राप्त हुन्छ, भूत-प्रेतबाट सुरक्षा मिल्छ । मंगलले रगतसँग पनि सरोकार राख्छ । मंगल प्रतिकूल हुँदा रक्तदान गर्नु उपयुक्त हुन्छ । यसबाट शुभ परिणाम मिल्छ । कार्तिकेय देवसेनाको सेनापति हुन् भने नवग्रहमा मंगल सेनापति हुन् । यी दुवैको चरित्र र स्वभाव मिल्छ । मंगलको शुभतामा वृद्धिका लागि कार्तिकेयको उपसना, साधना अत्यन्त लाभदायक छ । कार्तिकेयको साधनाबाट काल सर्प योग तथा राहु जन्य दोष पनि समन हुन्छ । मेष र वृश्चिक राशि भएकाहरूले सधैँ उठ्ने बितिक्कै भूमिलाई ढोग्नुपर्छ । देवीभागवत पुराणमा उत्तम मन्त्र छ ‘मंगल चण्डिके’ यो धेरै राम्रो मन्त्र हो जसकाे नियमित जापले परिणाम आफ्नो पक्षमा आउनेछ ।

मूलाधार चक्रको रङ रातो हुन्छ जुन शक्तिको रङ हो । शक्तिको अर्थ हो, ऊर्जा जागरूकता र विकास, रातो रङ सुतेको चेतनालाई सक्रिय सचेत चेतनामा परिवर्तित गर्ने कुराको प्रतीक पनि हो । यदि तपाईंको रगत तातो र युवा छ भने तपाईं युवा हो, तर यदि तपाईंको रगत चिसो र दोषपूर्ण छ भने यसको अर्थ तपाई थाकिसक्नु भयो, तपाईं वृद्ध हुँदै हुनुहुन्छ ।

ओम ह्रीं क्रोधधारिण्यै स्वाहा
वीरता , साहस ,शत्रु नाश र मंगल ग्रहको शुभतामा वृद्धिका लागि, नेतृत्व क्षमतामा विकासका लागि यो मन्त्र लाभदायक छ । नौ ग्रहमा मंगल देवलाई भूमिपुत्र भनिन्छ अर्थात् पृथ्वी मंगलकी माता हुन् । यसमा माता र पुत्रको असीम सम्बन्ध अनुभव गरिएको छ । जब पृथ्वीमा संकट आउँछ, हनुमान, नरसिंह ,कार्तिकेय एवं अनन्त विष्णु अवतार मंगल ग्रहको माध्यमबाट पृथ्वीमा आएर माताको कष्ट निवारण गर्छन् । दश महाविद्याअन्तर्गत भगवती बगलामुखीको सिधा सम्बन्ध मंगल ग्रहसँग छ । मंगल ग्रहलाई अनुकूल तुल्याउने सबैभन्दा सजिलो उपाय मुगाको गणेश र चारमुखी रुद्राक्ष धारण गर्नु पनि हो । मंगलको विपरीत ग्रहदशामा भूकम्प, जनहानि, दरिद्रता, ऋण, दुर्घटना, शल्यचिकित्सा, जटिल रोग, गर्भपतन, सन्तान उत्पत्ति नहुनु आदि समस्या सामना गर्नुपर्ने हुनसक्छ ।

त्यस्तै माङ्गलिक व्यक्तिहरू तेज हुन्छन् उनीहरुको मस्तिष्क अत्यन्त सक्रिय हुन्छ । मांगलिक व्यक्ति कसैसँग दब्दैन । हनुमानजीको बुद्धि अत्यन्त तीक्ष्ण छ । यसै कारण मंगलको अधिष्ठाता हनुमानजी हुन् भनिएको हो । मंगल अत्यधिक क्रियात्मक ग्रह हो । यो व्यक्तिको शारीरिक शक्तिको सूचक हो । ग्रहमा यसलाई सेनापति पनि मानिन्छ । यसलाई युद्धको देवता पनि मानिन्छ । मंगल युद्धको निर्झर हो । शक्तिको विधाता हो र क्रूरताको कोष हो, देशप्रेम तथा साहसको केन्द्रविन्दु हो । मंगल मज्जाको करक हो । मंगलको सञ्चालन शक्तिले हामीहरूलाई कार्य गर्न प्रेरित गर्छ ।

मंगलको सन्देश नै कार्य गर्नुस् भन्ने हुन्छ । मंगल शक्तिशाली स्वभावको ग्रह हो । जसको कुण्डलीमा मंगल शुभ हुन्छ उसले आफ्नो पराक्रमको प्रयोग शुभकार्यमा गर्छ । मंगल दोषले दुर्भाग्यको सिर्जना गर्नसक्छ । जब हाम्रो क्रिया अपर्याप्त हुन्छ तब यो हानिकारक हुन सक्छ । अधिकांश कार्यमा ध्यान नदिनेहरू र कार्यमा विलम्ब गर्नेहरूको मंगल केही हदसम्म अयोग्य हुन्छ । शक्तिशाली मंगलले पञ्च महापुरुष योग प्रदान गर्छ । जसलाई रुचक योग भनिन्छ ।

यदि लग्न वृश्चिक छ र मंगल केन्द्रमा कहीं पनि छ भने त्यसले चक्रवर्ती योग प्रदान गर्छ । त्यो लाभदायक योग हो । त्यस्तै चन्द्र मंगल योग त्यो पनि केन्द्रमा छ भने उत्तम मानिन्छ । मंगल, मंगलको प्रतिरूप ज्योतिषमा मेष राशिको वसन्तसँग सम्बन्ध छ । यसको अर्थ नयाँ शुरुवात वा जन्मको प्रतिक हो । मेष राशि जीवात्माको आध्यत्मिक जन्मको सङ्केत पनि हो र मंगलले यो आत्मालाई श्रेष्ठ साहसी र वीर वनाउँछ । मंगल वृश्चिक राशिको पनि प्रबन्धक हो जो मृत्युको प्रतीक हो ।

मंगल (मेष) प्रथम भाव जीवनको सुरुवात हो र वृश्चिक अष्टम भाव मृत्युको प्रतीक हो । मेष राशिले वसन्तको आगमन गराउँछ भने वृश्चिक राशिले शरद ऋतुको प्रारम्भ गराउँछ । यो जीवन र मृत्युको प्राकृतिक लयमय प्रतीक हो ।

प्रतिक्रिया