आइतबार, जेठ ६, २०८१

मैथिली कि मगही ?

दिनेश यादव २०७८ भदौ १ गते १४:४९

केही दिनयता सामाजिक सन्जालमा मैथिली र मगही भाषाबारे पक्ष र विपक्षमा बहसले व्यापकता पाएको छ । यी दुवै भाषाप्रति मेरो कुनै आग्रह/पूर्वाग्रह छैन । मैले दुवैलाई सम्मानपूर्वक लिएको छु । अन्य भाषाभाषीप्रेमी, भाषा सर्जक र भाषिक अनुयायीलाई सबैको भाषिक अधिकारको सम्मान गर्न विनम्र आग्रह पछि गर्दछु । हिजोसम्म मैथिली बोल्नेहरू आज किन आफूलाई मगही भाषी भन्न थालेका छन् ? मेरो विचारमा यो एउटा विद्रोह हो । मेरो यो आलेखलाई धेरैले ‘आगोमा घिउ’ थपेको पनि भन्ठालान् । केहीले मेरो यो प्रतिक्रियालाई जातियतासँग जोडेर पनि हेर्लान् । त्यस्ता सोच राख्नेहरूलाई विद्रोहको आगो निभाउने प्रयास गर्न पनि मेरो सविनय आग्रह छ । के यो विद्रोह रातारात भएको हो त ? मैथिली भाषामा वर्षौंसम्मको भाषिक थिचोमिचो, एकल जातिय वर्चस्प, मैथिल ब्राह्मणवादी मानसिकता, भाषिक कार्टेलिङ, सीमित व्यक्तिको भाषिक सिन्डिकेट, केही व्यक्तिको नटवरलालगिरी…लगायतको कारणले यो अवस्था आएको हो जस्तो लाग्छ । त्यसैले मैथिली र मगही भाषीबीचको यो बहस स्वभाविक हो । यसलाई सकारात्मक रुपमा लिनैपर्छ । कसैले आफूलाई मगही वा मैथिली भाषी भन्न सक्छन् । यसमा उसको व्यक्तिगत वाक स्वतन्त्रता र भाषिक अधिकार पनि हो । त्यसैले यो वा त्यो वा कुनै बहानामा दबाउन पाइन्न । फकाउन भने सकिन्छ ।

बहिष्करणमा बहुजन
पछिल्लो जनगणना २०११ का अनुसार नेपालको कूल जनसंख्याको ०.८३ प्रतिशत उच्च जाति (तीन जातीय समूह मैथिल ब्राह्मण, कायस्थ र राजपूत) छन् । तर, भाषिक रुपमा मैथिलीमा यिनैको हालीमुहाली छ, अझ ब्राह्मणको सबैभन्दा बढी छ । यिनैको बोली, शैली, भाषिका, भाष्यलाई ९९ प्रतिशत बहुजन मैथिलीभाषीमाथि वर्षौदेखि लादिएको छ । मैथिली भाषी क्षेत्रअन्तर्गत प्रदेश २ मा मैथिली बोल्नेको जनसंख्या ४५ दशमलव १८ प्रतिशत र अन्य भाषाभाषी (मगही, बज्जिका, अंगिका, भोजपुरी, नेपाली, थारु, छिक्काछिक्की, उर्दू, बंगाली, माडबारीसहित) को जनसंख्या ५४ दशमलव ८२ प्रतिशत छ ।

प्रदेश २ मा मैथिली भाषीको कुल जनसंख्या ४५ दशमलव १८ प्रतिशतलाई शतप्रतिशत मान्दा ९८ दशमलव १८ प्रतिशत मैथिली बोल्ने अब्राह्मण अर्थात् ब्राह्मणेत्तर/कथित तल्लो र मध्यम वर्ग/जातिका छन् । उच्च जाति (ब्राह्मण र कर्ण-कायस्थसहित) को जनसंख्या १ दशमलव ८२ प्रतिशत मात्र हुन आउँछ । तर, यिनकै भाषा, शैली र बोली सबै मैथिलीजनमाथि लादिनु नै मैथिलीप्रति आमजनको वितृष्णा बढ्नुको प्रमुख कारण हो । अघोषित रुपमा कथित उच्च जातिकाले (खासगरी ब्राह्मणवादी) मानक मैथिलीलाई प्रचार गरिरहेका छन् । भन्नलाई सप्तरीया बोली, थरुवा बोली, यादव बोली, दलित बोली, मुस्लिम बोली, ठेठ बोली, ठेठली, राड बोली, सिरहाली बोली, महोत्तरीया बोली, सर्लाहीबला बोली, मधेसीया बोलीसहितलाई मैथिली त भनिरहेका छन् तर यी बोलीहरूलाई कतै समावेश गरिँदैन, गरिएको पाइदैन । मैथिलीमा यतिका बोली हुँदाहुँदै पनि सीमित जातिकै बोली र शैली मान्नुपर्ने किन ? अब्राह्मणसहितका अन्यले बोलेको मैथिली बोलाइलाई लेखाइमा किन समावेश नगर्ने ? बहिष्करण किन ? के मैथिलीमा योग्यता र क्षमता नभएर तिनीहरूलाई बहिष्करण गरिएको हो ? यो पनि होइन, बुख्याचाका रुपमा अब्राह्मणहरूलाई केही ठाउँमा ठड्याएकै पाइन्छ । ब्राह्मणेत्तरलाई बहिष्करण गरिएका थुप्रै प्रमाण छन् । सरकारी सञ्चारमाध्यम र प्रकाशित पुस्तकहरूलाई पनि यसको प्रमाणका रुपमा लिन सकिन्छ । सरकारी सञ्चारमाध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण तथा प्रज्ञा प्रतिष्ठानबाट मैथिलीमा प्रकाशित हुने सामग्रीहरूमा कथित मानक जाति (खासगरी मैथिल ब्राह्मण समुदाय) कै कब्जामा छ । यो कब्जाको योग्यता पहुँच र सोर्सफोर्स नै हो । हो, यसका केही अपवादचाहिँ हुन सक्ला ? पाठ्यपुस्तक र प्रज्ञा प्रतिष्ठानको ‘आङ्न’ पत्रिका , जहाँ ब्राह्मणेत्तरलाई सल्लाहकार वा प्रमुख बनाएपनि उनीहरूको भूमिका भने निरिह जस्तै देखिन्छ । त्यसो नहुँदो हो भने कसरी असमावेशी चरित्र यी क्षेत्रहरूमा बर्षौदेखि कायम रहयो त ?

मैथिली कसको ?
मैथिलीमा मानक र जातिका नाममा वर्षौंदेखि विवाद छ । त्यसको समाधान गर्नुको साटो सही मार्गदिशा देखाउनेलाई भाषिक विर्ता ठान्नेहरूले तिस्कृत र बहिष्कृत गर्दै आएको छ । यसका पनि उदाहरण थुप्रै छन् । म आफै पनि यसको एउटा राम्रो उदाहरण हुँ । मैले वर्षौंदेखि जुन मैथिली शैलीमा लेखिरहेको छु, त्यसलाई कथित मैथिली अभियानी/जातिवादी विद्वानहरूले मैथिली भाषा मान्न तयार छैनन्, देखिन्नन् । तर, पनि मैथिलीमै लेखिरा’को आफूलाई मैले भनिरा’छु । अब भने मलाई भन्न मन लागि रा’छ -यो मैथिली कसको हो ? झापादेखि रौतहटसम्मलाई मैथिली भाषी क्षेत्र भनेर दाबी गर्नेहरूलाई सोध्न चाहन्छु-के मैथिली कथित मानक जातिको मात्रै हो ? यदि होइन भने किन बहुसंख्यक अब्राहमण/सोलकन/दलित/मुस्लिम/थारूसहितलाई यसमा अटाइन्न ? मैथिलीमा कसरी ब्राह्मणवादी जातीय वर्चश्व कायम छ ? त्यसबारे यहाँ केही प्रमाण र तथ्य प्रस्तुत छ । मैले यो अध्ययनलाई प्राथमिक र माध्यमिक तहका पाठ्यपुस्तकहरूका विषयवस्तुलाई बनाएको छु । दुवै तहका पाठ्यपुस्तक हेर्दा, पढ्दा र अवलोकन गर्दा यी ब्राह्मणवादी सोच, मानसिकताले ग्रसित भएर लेखिएको निस्कर्षमा जो कोही पनि सजिलै पुग्न सक्छन् ।

प्राथमिक तहका पाठ्यपुस्तकमा लेखकहरूमा धीरेन्द्र झा ‘प्रेमर्षि’ र धर्मेन्द्र झा ‘विह्वल’ हुन् । यो तहका पाठ्यपुस्तकमा पनि अब्राह्मणहरू सल्लाहकार र परिमार्जनकर्ता छन् तर पनि त्रुटिहरू उस्तै छन् ।

कक्षा ९ को पाठ्यपुस्तकमा समावेश केही पाठहरू हेर्दा त्यसको पुष्टि हुन्छ । उक्त कक्षा त एउटा प्रतिनिधि उदाहरण मात्र हुन सक्छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको र जनक शिक्षा सामग्रीले प्रकाशित गरेका प्राथामिक तहको पाठयपुस्तकदेखि माध्यमिक तहसम्मै एकल जातिय पहिचानमा आधारित सामग्री भेटिएकै छन् । पाठ्यपुस्तकका लेखक, सम्पादक, लेखक समूह, पाठ्यसामग्री, पाठ्यविषयवस्तुसहित सबैमा ब्राह्मणवादी मानसिकता हाबी छ । कक्षा ९ को मैथिली पाठ्यपुस्तकमा २१ वटा पाठ छन्, जसमा कथित मानक जातिका लेखक १४ अर्थात् ६६ दशमलव ६६ प्रतिशत (ब्राह्मण ११+कायस्थ ३), यादव २ (९ दशमलव ५२ प्रतिशत) , साह २ (९ दशमलव ५२ प्रतिशत) र धानुक १ (४ दशमलव ७९ प्रतिशत) तथा जात नखुलेको २ (९ दशमलव ५२ प्रतिशत) जनालाई समेटिएको छ । बाँकी दुईमा नाम उल्लेख नभएपनि मानसिकता भने उही छ ।

पाठ्यपुस्तकमा दलित, मुस्लिम, सोलकन, ओबीसीसहितलाई निषेध र अछूतको व्यवहार गरिएको छ । यति मात्रै कहाँ हो र ? यो पुस्तकमा ७ वटा जति ब्राह्मणसँग सम्बन्धित पाठ/पाठ्यसामग्री/विषयवस्तु राखिएका छन् । चार वटा जति मैथिली भाषासंग सम्बन्धित र अरू विविध विषयसंग सरोकार राख्नेछन् । पुस्तकका लेखक यतिसम्म ब्राह्मणवादी छन्, जसले पत्नीवाद, परिवारवाद, सगोत्रवादलाई प्रश्रय दिन अलिकति पनि लाज मानेका छैनन् । अझ पुस्तकमा उदेक लाग्दो कुरो त के छ भने यसमा महिला लेखकका रूपमा अंगीकृत नागरिकताधारीलाई मात्रै स्थान दिइएको छ । भारतीय सहगोत्री लेखकलाई बढी प्राथमिकता दिइएको छ । कमजोर प्रस्तुति र शैली तथा अनेकौ अशुद्धिका बाबजुद यो पुस्तकको तीनवटा संस्करण (२०५७, २०६७ र २०७६) प्रकाशित छन् । यसबारे आजसम्म कसैले किन नलेखेकोमा आश्चर्यचकित छु । फेरि यस्तो असमावेशी मैथिली किन पढ्ने र आफ्नो सन्तानलाई किन पढाउने, जसमा मैथिलीभाषी शिल्पीसमुदाय, मुस्लिम, ओबीसी, सोलकन, थारुसहितको भाषा, शैली, संस्कार, देवीदेवतालगायतलाई उपेक्षा, विभेद र बहिष्कार गरिएको छ । हरेक पाठ्यपुस्तकमा विद्यापतिको चर्चा त छ त, दलितका लोकदेवता सलहेस र दिनाभदरी कतै उल्लेख छैन ।

विद्यापतिभन्दा पहिलेका कृषि वैज्ञानिक/साहित्यकार डाक ग्वार (घाघ), लोरिक मनियार, लोना माँ, मीरा सुल्तान, कारु खिरहरि, भुइँया बाबा, चिन्तामन बाबासहितलाई विल्कुलै निषेध गरिएको छ । यस्तै निषेध कक्षा १० मा पनि गरिएको छ । पुस्तकमा पाठको शुभारम्भ ब्राह्मण जातिबाटै हुन्छ र अन्त्य पनि त्यही जातिसँग सम्बन्धित सामग्रीबाटै गरिएको पाइन्छ । कक्षा १० मा समावेश १६ पाठमध्ये १० जना कथित मानक जातिबला (ब्राह्मण ७ र कायस्थ ३) अर्थात् ६२ दशमलव ५ प्रतिशत छन् भने अन्य ६ वटामा नाम उल्लेख छैन, तर लेखाइको प्रकृति हेर्दा यो पनि कथित उच्च जातिकाले नै लेखेका हुन् । यसमा लेखकका रुपमा पतिपत्निको उपस्थिति गजबको छ । तर, अन्य मैथिलीजनलाई यहाँ पनि निषेध गरिएको छ । यी दुई पुस्तकमा लेखक तथा सम्पादक धीरेन्द्र झा हुन् । यसको लेखन र परिमार्जनकर्ताहरूमा मैथिलीका थुप्रै चिरपरिचित व्यक्तिहरू छन् । तर पनि त्रुटिहरूको चाङ छन् । यसले तिनीहरूको भूमिकालाई पनि शंकाको घेरामा राख्न सकिन्छ ।

बालबनोविज्ञानविरुद्धका पाठ्यसामग्री
प्राथमिक तहको मैथिली पाठ्यपुस्तकहरूमा पनि अवस्था उस्तै छ । यो तहको कन्टेन्टमा पनि ब्राह्मणवादी गन्धहरू ठाउँ-ठाउँमा प्रशस्तै भेटिन्छन् । अझ उदेक लाग्दो कुरा त के छ भने यसका स्केचहरू विशुद्ध ब्राह्मणवादी सोच र मनोग्रन्थीले ग्रसित छन् । यसका केही नमुनाहरू हेर्न सकिन्छ । पाठ्यपुस्तकमा उल्लेखित स्केचहरू वर्षौंसम्म मैथिली भाषाकै नाममा धेरै बालबालिकाको मनोविज्ञानमा एउटा खास जातिको पहिचान कायम गर्ने उद्देश्यले राखिएको हुनुपर्छ, यो बाहेक अन्य कुनै कारण हुनै सक्तैन । बहुसंख्यक मैथिलीजनका अबोध बालबालिकाहरू वर्षौंसम्म दूषित मानसिकताको सिकार बने, बनाइएका छन् । मैथिली पाठ्यपुस्तकका विषयवस्तुहरू, लेखकहरू र सामग्रीहरूको छनोटमा एकल ब्राह्मणवादी मनोरोगीहरूको दबदबा त छँदै छ, अभ्यासहरू र चित्र/स्केचमा समेत उही मानसिकता देखिन्छ, देखियो । प्राथमिक तहका पाठ्यपुस्तकमा लेखकहरूमा धीरेन्द्र झा ‘प्रेमर्षि’ र धमेन्द्र झा ‘विह्वल’ हुन् । यो तहका पाठ्यपुस्तकमा पनि अब्राह्मणहरू सल्लाहकार र परिमार्जनकर्ता छन् तर पनि त्रुटिहरू उस्तै छन् ।

पाठ्यपुस्तक केही पुरानो भए पनि नयाँमा समेत उही मानसिकता तर, फरक शैली र प्रस्तुतिका साथ पुरानै सोच हाबी भएको देखिन्छ । मगही र मैथिली भाषाको वर्तमान बहसमा पक्ष वा विपक्षमा लाग्नेहरूलाई जानकारी दिने उद्देश्यले मात्र यो सामग्रीको चर्चा गरिएको हो । यसलाई कसैले आफ्नो समर्थन वा विरोध नठानी दिनुहोला । मेरो मातृभाषा मैथिली हो, यही सत्य हो । तर, म सबै भाषाभाषीको भाषिक अधिकारको पक्षपाति पनि हुँ । कुनै भाषा कसैमाथि थोपर्नु गैरकानुनी त हुँदै हो, व्यक्तिगत स्वतन्त्रताको बर्खिलाप पनि हो । मेरो अध्ययन र भोगाइले मैथिली भाषामा अब्राह्मण/सोलकण/दलित/मुस्लिम/थारूसहितलाई अछूत जस्तो व्यवहार गरिएकै थियो, गरिएकै छ । म आफ्नै उदाहरण दिन्छु- १९९० को दशकमा मैले मैथिलीमा साहित्य सिर्जना सुरू गर्‍या हुँ । मेरा ती सिर्जनाहरूलाई ‘मैथिली’ मान्न केही जातिवादी/मैथिली अभियानीहरू तयार भएनन् । त्यसपछि मेरा तिनै रचनाहरू हिन्दीमा अनुवादपछि छापिए । अझ ‘कादम्बिनी’ जस्तो हिन्दी साहित्यिक मासिकको सन् १९९६ को अप्रिल अंकमा समेत मेरा कविता छापिए । कथित मानक मैथिली जातिबालाले त्यो छाप्न रूचाएका थिएनन् । यति भइसक्दा पनि मैथिलीमै लेख्न मैले छाडिनँ । ‘अपन मिथिला’ मा ब्यानर स्टोरी होस् वा ‘आंजूर’ पत्रिकामा मैथिलीमा अनुसन्धानमूलक आलेख नै किन न होस्, लेखिरहें । प्रज्ञा प्रतिष्ठानको ‘सयपत्री’मा मैथिलीसम्बन्धी आलेख छापियो , प्रज्ञाकै मैथिली पत्रिका ‘आंङन’ मा झुक्किएर एउटा आलेख छापियो भन्नुपर्छ । मातृभाषा दिवसमा मैले मैथिलीमै कविता वाचन गरें तर प्राज्ञको कविता संग्रहमा मबाहेक सबैको परिचयसहित कविता छापियो ।

यसबारे जिज्ञासा राख्दा कथित मानक जाति र ब्राहमणवादी मानसिकता नै त्यसको कारण भएको थाहा पाएँ । ‘आँजूर’ मा छापिएका आलेख र अन्य केही अप्रकाशित मैथिली भाषाका अनुशन्धनात्मक विश्लेषणसहित ई-पुस्तक प्रकाशित गरें । विश्वकै चर्चित साहित्यिक अनलाइन पोर्टल ‘कविता कोश’ले ‘भाषा, साहित्य आ मानक’ शीर्षकको मेरो पुस्तकलाई राम्रो स्पेस दिएको छ । मैले मैथिली भाषामा संघर्ष गरें, गरिरहेको छु तर, नयाँ पुस्ताले यसरी संघर्ष गर्दैनन्, गर्नेबाला छैनन् (गुलामी मानसिकता भएका बाहेक) । केही भाषिक नटवरलालहरूका कारण मैथिलीलाई ब्राह्मणको भाषा भएको ट्याग लागिसकेको छ । त्यो हटाउन जरूरी छ । ब्राह्मणेत्तरलाई मैथिलीमा निषेध गरी गन्तव्यमा पुग्न सकिन्न । फेरि केही आफ्ना चाटुकार, हनुमान र किर्तनिया’ ब्राह्मणेत्तरलाई समावेश गरेको ढोलहा पिटेर पनि मैथिलीको दूर्गति रोकिन्न । अब, बृहत्तर सहभागिता अपरिहार्य र टड्कारो भइसक्यो ।

मैथिलीको दुर्गति
मैथिली भाषाको दुर्गतिमा ब्राह्मणवादी सोच र मानसिकता प्रमुख कारण हो । पहुँचकै आधारमा पद र अवसरको जोगाडमा रातदिन सक्रिय रहनेहरूले मधेसीप्रति आमजनको वितृष्णा र विकर्षण बढाएको सत्य हो । तिनीहरूले सोर्सफोर्समा पद पाउने अनि परिवारवाद, दियादवाद, भाइवाद, भतिजावाद, नातागोतावाद, ब्राह्मणवाद, काकावाद, जातिवादको नांगो नाच देखाउन तल्लिन हुने गरेका छन् । त्यसैले तिनीहरूका लागि प्राथमिकताको हेरारकी क्रमशः स्वयं व्यक्ति (पद पाउने आफ्नै स्तुतिगानलाई पहिलो प्राथमिकतामा राख्ने), पत्नि (दोस्रो प्राथमिकता), परिवार (तेस्रो प्राथमिकता), जाति (चौथो प्राथमिकता), आफन्त/परिचित (पाँचौं प्राथमिकता), ब्राह्मणवाद (छैटौं प्राथमिकता, भजन गाउनेहरू (सातौं प्राथमिकता), मैथिली (आठौंमा प्राथमिकता) पर्ने गरेको छ । यसैगरी मैथिलीको दुर्गतिको अन्य कारणहरूमा मानक, शैली, प्रस्तुति, अब्राह्मण समुदायको अजागरुकता, धर्मअन्धता, जातिय अंहकार, संचारमा ब्राह्मणवादीको पहुँचलगायतका छन् ।

समाधानका उपाय
मैथिलीलाई पहिलेकै अवस्थामा पुर्‍याउनका लागि गल्ती गर्नेहरूले तत्कालै आम मैथिलीजनसँग क्षमायाचना माग्दै अगामी दिनहरूमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता आउन जरुरी छ । मैथिलीमा साँच्चिकै समावेशिता, समभावता, समसम्मानता र समआदरता आवश्यक छ । सर्वजनको भाषा, शैली, बोली , भाषिकासहितलाई समेटनका लागि सर्वमान्य, सर्वजातीय, सर्ववर्गीय, सर्वलैंगीयसहितको एउटा बृहत्तर गोलमेच सम्मेलनको आयोजना गरी मैथिलीमा सबैखाले विवादको निरुपण गर्न सकिन्छ । मैथिलीबारे कुरा गर्दा कसैलाई जातिवादी भएको आरोप लगाउने मानसिकता पनि त्याग्न जरुरी छ । होइन भने मगही, बज्जिका, अंगिका, छिक्काछिक्की, जोहलासहितको भाषातर्फ सर्वसाधारणको आकर्षणलाई कसैले रोक्न सक्तैन । मैथिलीको मानकको आधार संस्कृतलाई बनाउने अभियानमा केही ब्राह्मणवादी लागेका छन् । यसले मैथिलीको झनै क्षति हुने निश्चित छ ।

प्रतिक्रिया