सोमबार, वैशाख १५, २०८२

प्राधिकरणले एनसेललाई तोक्यो १ अर्ब बढीको जरिवाना

नेपालखोज २०७८ भदौ ४ गते १८:५१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई एक अर्बभन्दा बढीको जरिवाना र क्षतिपूर्ति तिराउने निर्णय गरेको छ । प्राधिकरणको गत साउन ३२ गते बसेको बैठकले एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेका गेमलफ्ट र हुवाई एप ग्यालरी नामका सेवाहरू उपभोक्ताको मञ्जुरी नलिई अटो रिन्यू हुने गरी सञ्चालन गरेको पाएपछि ११ करोड ३७ लाख अड्चालिस हजार नौं सय ८६ रुपैयाँ जरिवाना भराउने निर्णय गरेको हो । एनसेलले थ्रीडेज रिन्युअल र विक्ली रिन्युअलका प्याकेजहरू २०७७ असोज १५ देखि २०७७ जेठ १८ सम्म अटो रिन्यु हुने गरी सेवा सञ्चालन गरी करबाहेकको उक्त रकम जरिवाना गराउने निर्णय गरेको हो ।

साथै हुवाई एप ग्यालरी नामको भास सेवाअन्तर्गत डेली रिन्युअल, थ्रीडेज रिन्युअल र विक्ली रिन्युअल र मन्थ्ली रिन्युअल प्याकहरू २०७५ असोज १५ देखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी सेवा सञ्चालन गरी करबाहेकको ९९ करोड ९२ लाख १८ हजार ८ सय ८६ रुपैयाँ उपभोक्तालाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

प्राधिकरणबाट विभिन्न मितिमा कम्पनीबाट सञ्चालित भासअन्तर्गतका सेवाहरू अटो रिन्यु हुने गरेको पाइएकाले उपभोक्तालाई पर्न गएको मर्काको सुनुवाइ गर्दै उक्त सेवाहरूको अटो रिन्यु गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको थियो । निर्देशन पालना नगरेपछि दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधिएकामा एनसेलबाट पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि क्षतिपूर्ति तिराउने निर्णय गरिएको प्राधिकरण उच्च स्रोतले नेपालखोजलाई जानकारी दिएको हो ।

कम्पनीले बुझाएको स्पष्टीकरणमा यस्ता भास सेवाहरू तेस्रो पक्षले प्रदान गर्ने सेवा भएको र ग्राहकले केवल सेवा खरिद बापतको शुल्क नगदरहित भुक्तानीका लागि मोबाइलमा भएको ब्यालेन्स उपयोग गर्ने मात्र भएको र उक्त सेवा खरिद कार्यको सहजीकरण एवं समन्वय गर्न एनसेल कम्पनीको मोबाइल सिमकार्डमा रहेको ब्यालेन्स प्रयोगसम्म हुने हुने भनी दिएको जवाफले उपभोक्तालाई भ्रममा पारेको भेटिएको छ ।

एनसेलले उपभोक्तामा भ्रम पार्ने गरी नकारात्मक तरिकाले यदि सेवा नवीकरण नगर्ने हो भने XXX नम्बरमा एसएमएस पठाइ सेवा रोक्न सक्ने आशयको एसएमएस पठाउने गरेको र यसबाट ग्राहकले एसएमएसको जानकारी नपाएमा, एसएमएस नबुझेमा वा कुनै प्रतिक्रिया व्यक्त नगरेमा अटो रिन्यु हुन गई सेवाग्राहीको ब्यालेन्स घटेको पाइएको थियो । यसबाट ग्राहकले सेवा उपभोग नगर्दा पनि रकम कट्टा भइरहने कार्यबाट उपभोक्ता ठगिन पुगेको प्राधिकरणको निष्कर्ष छ ।

एनसेलले पेस गरेको स्पष्टीकरणबाट ग्राहकको हितमा सेवा प्रदायक संवेदनशील नदेखिएको तथा यसरी कानुनी आधारविहीन विभिन्न तर्कसहित दिएको स्पष्टीकरणसमेत चित्त बुझ्दो नदेखिएको प्राधिकरणको ठम्याइ छ ।

त्यसैले एनसेलले अनुमतिपत्रको सर्तबमोजिम प्राधिकरणको स्वीकृति नै नलिई निर्देशनविपरीत सेवा सञ्चालन र अटो रिन्यु गरेकाले प्राधिकरणबाट पटकपटक ऐनको दफा ४७ (१) र ४७ (२) बमोजिम कारवाही गर्दा पनि प्राधिकरणको निर्देशनको अवज्ञा गरी सेवा सञ्चालन गरिरहेको भेटिएको छ । उक्त कम्पनीले निर्देशनको अवज्ञा गरी सेवा सञ्चालन गरिहेको दूरसञ्चार ऐन २०५३ को दफा ४७ (१) बमोजिमको कसूर गरेको ठहर गर्दै दूरसञ्चार ऐन २०५३ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्नो निर्णयमा एनसेलले गेमलफ्ट तथा हुवाई एप ग्यालरीका डेली रिन्युअल थ्रीडेज रिन्युअल, विक्ली रिन्युअल तथा मन्थ्ली रिन्युअललगायत प्याक सब्सक्राइब गरेका प्रत्येक ग्राहकलाई २०७७ जेठ १८ सम्मको रकम एक अर्ब ११ करोड २९ लाखसहित सेवा सञ्चालनमा रहेको अन्तिम मितिसम्म हुन आउने रकमसहित दूरसञ्चार ऐन २०५३ बमोजिम क्षतिपूर्तिबापत सम्बन्धित ग्राहकलाई उनीहरूको मोबाइल नम्बरहरूमा नै तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

यसरी फिर्ता गरिएको रकमको विस्तृत विवरण मासिक रुपमा प्राधिकरणलाई उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । ग्राहकलाई रकम फिर्ता लिन आउन सञ्चार माध्यमहरूबाट जानकारी गराउने प्राधिकरणले उल्लेख गरेको छ । यसरी रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई अथवा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गरी प्राधिकरणलाई समेत जानकारी गराउन भनिएको छ ।

प्राधिकरणको निर्णयमा गेमलफ्ट तथा हुवाई एप ग्यालरी नामको भास सेवाका अटो रिन्यु हुने प्याकहरू सञ्चालन गरी मिति २०७७ जेठ १८ देखि हालसम्म प्रत्येक ग्राहकबाट के-कति आय आर्जजन गरेको छ । त्यसको विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको हो । निर्देशनविपरीत सञ्चालन गरिएका गेमलफ्ट तथा हुवाई एप ग्यालरीलगायत अटो रिन्यु हुने गरी हाल सञ्चालनमा रहेका भास सेवाहरू एक साताभित्र मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिबमोजिम हुने गरी मात्र सञ्चालन गर्न भनिएको छ । अन्यथा त्यस्ता सेवाहरू एक साताभित्र बन्द गरी प्राधिकरणलाई जानकारी गराउने र सेवा बन्द गर्नुअघि सब्सक्राइब गरिसकेका सबै ग्राहकको रकम उनीहरूकै मोबाइल नम्बरमा फिर्ता गर्नसमेत निर्देशन दिएको छ ।

विभिन्न भास सेवाहरू तथा भोइस/डाटा प्याकेज/प्लानलगायत सेवा सञ्चालन गर्दा सब्सक्रिप्सन पेज, एसएमएस नोटिफिकेसन मेसेज, एनसेल मोबाइल एप सीडीआर बिलिङ सिप्टम मा फरक-फरक शब्दावलीहरू प्रयोग नगरी सामान्य उपभोक्ताले पनि बुझ्ने शब्दावलीको प्रयोग गर्न र ग्राहकले चाहेको बेला सजिलै सेवा बन्द गर्न सक्ने व्यवस्था गर्न प्राधिकरणले भनेको छ ।

साथै कुनकुन भ्यालु एडेड सेवा ग्राहकले सब्सक्राइब गरेका छन्, कति दररेटको शुल्क लागेको छ, सो विषय सजिलै हेर्न सक्ने गरी मोबाइल एपमा जानकारी गराउनसमेत निर्देशन दिएको प्राधिकरण स्रोतले जनाएको छ ।

प्रतिक्रिया