आइतबार, जेठ ६, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ भदौ ५ गते ११:०८

रविन शर्मा अर्थात् राजेन्द्र शर्मा !

राजेन्द्र शर्मालाई त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, रेडियो नेपालका नायव कार्यकारी निर्देशक, रेडियो नेपालकै अङ्ग्रेजी भाषाका समाचारवाचक, रेडियो सञ्चार- प्रशिक्षक आदि विभिन्न सन्दर्भमा नबिर्सने गरी सम्झनेहरुको ठूलो जमात छ । तिनै राजेन्द्र शर्मा सुप्रसिद्ध गायक रविन शर्मा हुन् भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ । विशिष्ट र अलग पहिचानका साथ स्थापित गायक रविन शर्मा सिद्धहस्त अनुवादक पनि हुन् ।

८ माघ, २०१६ सालमा झापाको बाहुनडाँडीमा जन्मिएका हुन् – रविन । मेरो गीत गाउनुभन्दा अगाडि नै रविनले केही गीत रेकर्ड गराइसकेका थिए र मेरो पनि एउटा गीत प्रसारणमा आइसकेको थियो। फेरि पनि, मलाई लाग्छ, गायक र गीतकारका रुपमा हामी दुवैजनालाई स्थापित गराउने गीत भने एउटै थियो र त्यो गीत थियो- २०४० साल असार ७ गते राम थापाको संगीतमा रेडियो नेपालमा रेकर्ड भएको :
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ !
त्यसताका अत्यन्तै लोकप्रिय रहेको यो गीत सम्झँदै गर्दा सम्झनामा के पनि आउँछ भने हाम्रो विवाह भोजमा निम्ता मान्न आएको बेला मेरी पत्नी उषाले रविनसँग परिचय भएलगत्तै त्यो गीत गाइदिन आग्रह गरेकी थिइन् र रविनले उनको त्यो आग्रह पूरा गरिदिएका थिए । मैले पनि त्यसबेला भर्खरैजसो थाहा पाएको थिएँ- त्यो गीत र रविनको गायकीको उनी ठूलो प्रशंसक रहिछन् !

एकपछि अर्को गर्दै रविनका गीतहरु लोकप्रिय हुँदै गए।

• कुन मन्दिरमा जान्छै यात्री…(महाकवि देवकोटा/रनजीत गजमेर)
• जुनी-जुनीलाई मेरी उनीलाई…(सुरेन्द्र राना/राम थापा)
•आफैंलाई भार भयो आज आफ्नो जिन्दगी…(प्रकाश
अधिकारी/शक्तिबल्लभ)
• ऐनै ऐनाको रहेछ…(अजनवी शाह/शक्तिबल्लभ)
• म जिन्दगी भर हिँडिरहें…(यादव खरेल/शिवशंकर) आदि ।

कुन मन्दिरमा जान्छौ यात्री… बोलको गीतले उनको गायनलाई अर्को नयाँ उचाइ दियो । राजेन्द्र शर्माको व्यक्तित्वले कहिलेकाँही रविन शर्मालाई नअल्मल्याएको होइन । जब आफूलाई अल्मलिएको आभास हुन्थ्यो, उनी फेरि गीत/ संगीतमा होमिन्थे। आधुनिक, चलचित्र,राष्ट्रिय भावना,भजन र बालगीत समेत गरी करिब ३०० गीतहरु रेकर्ड गराएका रविनले नेपाल भाषा (नेवारी भाषामा) पनि केही गीतहरु गाएका छन् । रविन शर्माका आधुनिक गीतहरु, आभास, सुनगाभा, सिलसिला, परेलीको आकाश, रुमानी बतास र मायालु आभास समेत गरी हालसम्म उनका सातवटा एकल गीति-एल्बमहरु प्रकाशनमा आएका छन् । यीमध्ये “परेलीको आकाश” र “रुमानी बतास” मा भारतको सिलिगुडी निवासी गीतकार पुष्कर पराजुलीको एकल शब्द- रचना र संगीतकार शरद सिन्हाको एकल संगीत रहेको छ। आफैंतिर फर्केर कुरा गर्ने हो भनेचाहिँ अम्बर गुरुङ, राम थापा, शक्तिबल्लभ, शिलाबहादुर मोक्तान, भूपेन्द्र रायमाझी, टीका भण्डारी, सुशील विश्वकर्मा, नारायण ओलीको संगीतमा आधुनिक, चलचित्र, सरस्वती बन्दना र राष्ट्रिय भावनाका समेत गरी मेरा शब्द- रचनाका दशवटा गीतले आजसम्म रविनको स्वरमा बास पाएका रहेछन् !

रविन शर्मा आफ्नै रुचिका गीतहरु गाउने गायक हुन। गायनलाई उनले कहिल्यै पनि भागदौडको विषय बनाएनन्। बरु हिउँदे नदी जस्तो आफ्नै गतिमा शान्त ढङ्गले सङ्लो बगिरहे। उच्चारणगत स्पष्टता र अनुभूतिको तिब्रता, मलाई लाग्छ, रविनको गायनको खास विशेषता हो। राम्रो गीत/ संगीतको खोजि र त्यसका लागि उनको लगन – रविन शर्मा आम गायकहरु भन्दा फरक हुनुको एउटा अर्को महत्त्वपूर्ण कारण हो। यसो भनिरहँदा म के सम्झिरहेको छु भने – २०५९ सालमा म ” लिपी” नामको आफ्नो एकल एल्बमको तयारीमा लागेको थिएँ। त्यसैमा समावेश गर्ने प्रयोजनका लागि आदरणीय संगीतकार अम्बर गुरुङले मेरो एउटा गीतमा संगीतको प्रारम्भिक खाका तयार गर्नु भएपछि सम्भावित गायकका बारेमा अम्बर दाइ र मेरो बीचमा लामै छलफल भयो । रविनको नाम अगाडि आएपछि भने अम्बर दाइले भन्नु भयो – रविन उपयुक्त हुन सक्छन् । गाह्रो के थियो भने सम्बन्धित गायकलाई अभ्यासका लागि बोलाई विस्तारविस्तारै उसको स्वर अनुरुप संगीत परिमार्जन गर्दै लैजाने अम्बर दाइको स्वभाव रहेछ। ट्रयाकमा,अझ त्यो पनि स्टुडियोमा पुगेर सिक्ने र त्यहीबेला गीत रेकर्ड गरी पारिश्रमिक लिएर हिंड्ने परिपाटी राम्रैसंग विकसित भैसकेको त्यो समयमा, गीत सिक्नकै लागि लामो समय खर्चिने कुरा अप्ठ्यारै थियो। नजिकको साथी हुनुको कारण मैले रविनलाई सबै बेलिबिस्तार लगाएँ। त्यो सुन्ने बित्तिकै रेडियो नेपालको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका रविनले भने- मेरो लागि यो सुखद अवसर हो, जत्ति समय लागे पनि म तयार छु। नभन्दै झण्डै एक महिनाको अभ्यासपछि ” आफ्नै लागि ज्युन गाह्रो, तिम्रो भई के गरुँ म?…” बोलको त्यो गीत रेकर्ड भयो। स्टुडियोबाट बाहिर निस्केपछि रविनलाई ढाप मार्दै अम्बर दाइले भन्नु भयो- राम्रो गायौ! मलाई लाग्छ, गायक रविन शर्मामा रहेको यो लगनशीलता अहिलेको पुस्ताको लागि ठूलो पाठ हुन सक्छ।

नीर शाहको शब्द- रचना र सि. के. रसाइली को संगीतमा २०३६ सालमा ” मेरो सृजनाको संसारमा … ” बोलको गीत रेडियो नेपालमा रेकर्ड भएसंगै अ‍ौपचारिक रुपमा शुरु भएको रविन शर्माको गायन- यात्रा अझै पनि कायम छ। यो बीचमा रविनले पाएको “सामाजिक स्वीकृति” जत्ति उँचो छ उत्तिकै फराकिलो पनि छ। २०३९ सालमा रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको प्रतियोगितात्मक साङ्गीतिक कार्यक्रम “प्रतिभाको खोजि” मा संयुक्त रुपमा द्वितीय पुरस्कार ( त्यो बर्ष गायनमा प्रथम पुरस्कार कसैलाई दिइएन!), सोही बर्ष रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत सम्मेलनमा गायनतर्फ द्वितीय पुरस्कार, २०४५ सालमा तत्कालीन श्री५ महेन्द्र प्रकृति संरक्षण कोषले आयोजना गरेको राष्ट्रव्यापी प्रकृति संरक्षण गीत प्रतियोगितामा प्रथम पुरस्कार , २०६८ सालको “नन्द- हरि सोफिया संगीत सम्मान “, २०६९ सालको “छिन्नलता गीत पुरस्कार”, सन् 2013 मा वैशाखी पर्व सम्मान (भारत, सिक्किम) समेतका पुरस्कार / सम्मानद्वारा सम्मानित रविन शर्मा २०६१ सालमा राज्यकातर्फबाट प्रदान गरिएको सुप्रवल गोरखादक्षिबाहु ( गो.द.वा. तेस्रो ) को विभूषणद्वारा विभूषित प्रतिभा पनि हुन्।

कविडाँडा साहित्य समाज चितवनका उपाध्यक्ष एवम् मकवानपुर बहुमुखी क्याम्पस हेटौडामका अङ्ग्रेजी बिषयका प्राध्यापक हुनुहुन्छ – उदय अधिकारी। साहित्यको गम्भीर अध्येताको रुपमा म उहाँलाई लामै समयदेखि चिन्दै आइरहेकोछु। हामीबीच आफ्न‌ किसिमको आत्मीयता छ। भेटेपिच्छे उहाँको आग्रह हुन्छ – लौ न दाइ!तपाईं र रविन शर्माका गीतको एउटा छुट्टै एल्बम निकाल्नु पर्‍यो। थाहा छैन यो संयोग कहिले जुर्छ वा जुर्द‌ैन पनि। तर उहाँलाई भेटेपिच्छे रविनको सम्झना भने आँखाभरि सङ्लिने गर्छ!

लेखिरहे रविनका बारेमा लेख्ने कुरा धेरै छन। नाट्यसंस्था “सर्वनाम” संग जोडिएका कुरा पनि छन्। सम्झँदै पनि रमाइलो लाग्ने चिट्ठी आदानप्रदानका सन्दर्भहरु पनि छन्। ती सबैलाई एकछिनका लागि विर्सूँ भन्ने हो भने पनि अनुवादका सन्दर्भमा रविनसंगको सहकार्य भने बिर्सन सम्भव नै छैन। अहिले www. amazon.com मा समेत उपलब्ध रहेको रविन शर्माद्वारा अङ्ग्रेजी भाषामा अनुदित मेरा ७५ वटा कविताहरुको सङ्ग्रह Mode Of Life शीर्षकमा सन् 2009 मा प्रकाशनमा आएको हो। यो पुस्तक प्रकाशनमा आए लगत्तै अङ्ग्रेजी भाषा- साहित्यका ज्ञाता प्रोफेसर डा. अभि सुबेदीले कविताको आत्मा छामेर अनुवाद गरेको भनी त्यसैबेला (नयाँ पत्रिका – ८ माघ २०६५) रविन शर्माको प्रशंसा गर्नुभएको थियो भने समानरुपमा नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्नु हुने दार्जिलिङ निवासी सुप्रशिध्द कवि मित्र मनप्रसाद सुब्बाले हालसालै Mode Of Life पढ्नु भएपछि मलाई फोन गरेर रविनको अनुवाद क्षमताको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो। यी केही उदाहरण मात्र हुन। यस्तो प्रशंसा गर्ने अरु पनि थुप्रै हुनुहुन्छ। यसभन्दा अगाडि रविनले अनुवाद (सम्पादन समेत) गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि श्रवण मुकारुङसम्मका ३४ जना ख्यातिप्राप्त गीतकारहरुका ५/५ वटा गीतहरु समावेश भएको Selected Nepali Lyrical poems नामक पुस्तक सन् 2001 मै जीवा लमिछानेले प्रकाशनमा ल्याउनु भएको थियो। मलाई लाग्छ, यस किसिमको यो पहिलो प्रकाशन थियो । गीत प्रेमीका अतिरिक्त शोधार्थीहरुका लागि पनि , सन्दर्भ सामाग्रीको रुपमा, यो पुस्तक उत्तिकै उपयोगी हुने देखिन्छ । संय‍ोगले पुस्तक तयार गर्ने सन्दर्भमा धेरथोर संयोजनकारी भूमिका मैले पनि निर्वाह गरेको कारण आफ्नो काममा रविनको उत्साह, मेहनत र लगनलाई नजिकबाट नियाल्ने अवसर त्यसबेला पनि मैले पाएको थिएँ।

अब फोटोतिर फर्कौं।

चार दशकभन्दा लामो रविन र मेरो संगतमा हामी दुइजनाको छुट्टै तस्वीर भने एउटा मात्रै रहेछ! त्यो पनि रविनले अमेरिकातिर एक किसिमले बसाई सारीसकेपछि बीचमा उनी काठमाडौं आउँदा खिचेको! कथाकार भोजराज घिमिरेको कथासङ्ग्रह “अन्तिम प्रश्न “को विमोचन कार्यक्रम २०७६ साल साउन ३२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिएको थियो। हामी दुबैजना संयोगले त्यही भेटियौं र यो फोटो खिचेछौं। त्यसपछि रविनसंग भेट भएको पनि छैन। यस अर्थमा पहिलो फोटो आजका मितिमा कुरा गर्दा हामी बीचको पछिल्लो भेटको निशानी हो। त्यसो त रविनसंगका अरु तस्वीर नभएका होइनन् । हामी प्राय: कार्यक्रमै भेटिंदा रहेछौ र सामुहिक तस्वीरमा उभिँदा रहेछौं।दोस्रो तस्वीर नेपाल पर्यटन बोर्डको सभाकक्षमा ५ माघ, २०६५ का दिन रविन र म‌ैले संयुक्तरुपमा Mode Of Life सार्वजनिक गर्दाको हो, जसमा प्रो. अभि सुवेदी, प्रो. गोविन्दराज भट्टराई, प्रो. सञ्जिव उप्रेतीलाई समेत देख्न सकिन्छ भने तेस्रो तस्वीर चाहीँ रविनले छिन्नलता गीत पुरस्कार ग्रहण गर्दाको दिन कार्यक्रम-स्थल ताहाचलमा खिचिएको हो, जसमा हामी दुइका अतिरिक्त गायिका तारा थापा, संगीतकार सचिन सिंह, गायक प्रमोद खरेल समेतलाई ठम्याउन सकिन्छ।

प्रतिक्रिया