शुक्रबार, जेठ ४, २०८१

‘स्वादमा चर्को, स्वास्थ्यलाई झर्को’

केशव भट्टराई २०७८ भदौ ५ गते १७:३२

पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्– नुन कम खाने बानीको विकास बाल्यकालदेखि नै गर्नुपर्छ

काठमाडौं । दैनिक भान्सामा नभइ नहुने खाद्य परिकार नुन हो । स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्त्वपूर्ण तत्त्व हो । दिनमा एक व्यक्तिले पाँच ग्रामभन्दा बढी नुन खाए स्वास्थ्यका दृष्टिकोणले खतरापूर्ण हुने विश्व स्वास्थ्य संगठनले विभिन्न अनुसन्धानबाट निष्कर्ष निकालेको छ । स्वादमा लोभिएर धेरै नुन खाँदा विभिन्न रोगको खतरा हुने जनस्वास्थ्य तथा पोषणविद्हरूको सुझाव छ । पोषणविद् डा. अरुणा उप्रेतीले पाँच ग्रामभन्दा बढी नुन सेवनले विभिन्न स्वास्थ्य समस्याको खतरा हुने बताउँछिन् ।

नेपालखोजसँग कुरा गर्दै उनले बढी नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने र मिर्गौलाले बिस्तारै काम गर्न छोड्ने जस्ता समस्या हुनसक्ने बताइन् । यस्तै कम मात्रा नुन सेवन गर्दा पनि शरीरमा विभिन्न समस्या देखा पर्ने डा. उप्रेतीको भनाइ छ ।

नेपालीले भान्सामा दाल,तरकारी पकाउँदा अलिकति कम हुनेबित्तिकै थप्ने बानी छ । यस्तै अचारको परिकार बनाउँदा त चर्को गरी नै नुन थप्ने गरिन्छ । यहाँसम्म कि सलाद र फलफूलमा पनि नुन हालेर खाने गरिन्छ । डा. उप्रेती मानव स्वास्थ्यका लागि आवश्यक पर्ने नुन नेपालीले चाहिनेभन्दा बढी खाने गरेको भन्दै चिन्ता व्यक्त गर्छिन् ।

अर्कातिर भान्सामा उपभोग गरिने खानेकुराभन्दा बढी परिमाणमा नेपालमा पत्रु वा ‘फास्टफुड’जन्य खानामा नुनको मात्रा हुने गरेको छ । अधिक नुन सेवनले बालकदेखि वृद्धवृद्धालाई असर गर्ने उनको भनाइ छ ।

बेलायतस्थित एक्सन अन साल्टले भर्खरै स्वास्थ्यवर्द्धक खाद्य सामग्री बनाउन दाबी गर्ने विभिन्न कम्पनीका एक सय १९ प्याकेटमा एक अनुसन्धान गरेको थियो । अनुसन्धानबाट ४३ प्रकारका उत्पादनमा नुन, फ्याट र चिनीको मात्रा चाहिनेभन्दा बढी भएको पत्ता लाग्यो । फास्टफुडजन्य प्याकेटमा स्वास्थ्यका लागि राम्रो भनेर लेखिए पनि व्यवहारिक रूपमा गुणस्तरीयता नभेटिएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।

यस्तै लन्डनको क्विन मेरी विश्वविद्यालयले पनि स्वस्थबर्द्धक भनिएका फास्टफुड प्याकेजिङमा अनुसन्धान गर्‍यो । नुनको मात्रा आवश्यकताभन्दा बढी भएको प्रमाण फेला पर्‍यो । अनुसन्धानकर्ताले हेल्दी स्न्याक्स भनेर लेखिएको सय ग्राम चिप्सको प्याकेटमा ३ दशमलव ९ ग्राम नुन फेला पारे । विश्व स्वास्थ्य संगठनले दिनमा पाँच ग्राम नुन मात्र खान सल्लाह दिइरहेका बेला सय ग्राम चिप्समा ४ ग्रामसम्म नुन राखिनु स्वास्थ्यका लागि घातक हुने मेरी विश्वविद्यालयले निष्कर्ष निकालेको छ ।

एउटा मानिसले एउटा सानो चिप्समा ४ ग्राम नुन सेवन गर्छ भने दिनभरि उसले विभिन्न खाद्य सामग्री उपभोग गर्दा सेवन गर्ने नुनको परिमाण कतिसम्म हुन्छ भन्ने प्रस्टै हुन्छ । बेलायतमा उत्पादन हुने चिप्स लगायत विभिन्न खाजाजन्य प्याकेटहरू स्वास्थ्यका दृष्टिकोणले ठीक नभएको मेरी विश्वविद्यालयको निष्कर्ष छ ।

कति खाने नुन ?

नेपालमा कुरमुरे, पिजा, बर्गर, चिप्स, चाउचाउ, स्यान्डविच, सुकाएर फ्राई गरिएको मासुलगायत खानामा नुनको मात्रा बढी राखेको विभिन्न अनुसन्धानले देखाएको छ । चाहिनेभन्दा बढी नुन र सोडियम तत्त्व राखेर बजार–पसलमा प्याकेजिङ गरेर बेचिने फास्टफुडलाई ‘पत्रुखाना’ भनिन्छ । पोषणविद् डा. उप्रेती शरीरका लागि कामै नदिने गुणस्तरहीन खाद्यवस्तुलाई पत्रुखानाको संज्ञा दिन्छिन् । पत्रुखानामा ३७ देखि दुई सय प्रतिशतसम्म सोडियम भेटिएको जनस्वास्थ्यविद्हरूको निष्कर्ष छ ।

यस्तै ‘फास्टफुड’जन्य खानामा उत्पादकहरूले मानव शरीरलाई हानि गर्ने नुनको मात्रा पाँचगुणा बढी राख्ने गरेका छन् । नेपाली भान्सामा पनि विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा ४ गुणा बढी नुन उपभोग हुने गरेको छ ।

नुनको सेवन स्वाद र दिमागसँग पनि जोडिएको हुन्छ । शरीरमा ऊर्जा प्रदान गर्न नुन नभई हुँदैन । नुन शरीरमा ऊर्जा प्रदान गर्न एकदमै आवश्यक हुन्छ । धेरै कम नुन सेवन गरेमा पनि कमजोरी महसुस हुने, टाउको देख्ने, प्रेसर लो हुने र रिँगाटा लाग्ने समस्या हुन्छ ।

एक वैज्ञानिक संस्थाले हालै गरेको अनुसन्धानअनुसार भारतीय बजारमा उत्पादन हुने ‘जंकफुड’मा पनि आवश्यकताभन्दा बढी नुन फेला परेको छ । उक्त अनुसन्धानमा भारतमा धेरै बिक्री हुने मल्टी ग्रेन चिप्स र ब्रेड स्न्याक्स पनि सामेल गरिएको थियो । उक्त अनुसन्धान गर्न दिल्लीका विभिन्न बजारबाट ३३ वटा नमुना संकलन गरिएको थियो । ३३ मध्ये १४ नमुना चिप्स, सुप र नमकिनको लिइएको थियो । १९ नमुना भने बर्गर, पिजा र फ्रेन्च फ्राइजका थिए । ३० ग्रामको मल्टी ग्रेन चिप्समा ५ दशमलव १ ग्राम नुन राख्ने गरिएको अनुसन्धानले देखाएको छ । २ सय ३० ग्राम आलुको भुजियामा ७ ग्राम नुनको मात्रा राखेको पाइयो । सबै खानामा मिलाएर एक दिनमा न्यूनतम ५ ग्राम खानुपर्ने हुन्छ । तर उक्त परिमाणभन्दा बढी नुन साना स्न्याक्सका प्याकेटमा राख्नाले मानव स्वास्थ्यमा कतिसम्म असर गर्ला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै हालै भारतमा गरिएकै अनुसन्धानमा ७० ग्राम चाउचाउको प्याकेटमा ५ दशमलव ८ ग्राम, तयारी वा इन्स्टान्ट सुपमा ११ दशमलव ७ ग्राम नुन भेटिएको छ । जुन परिमाणको नुन दुई दिनमा खानुपर्छ त्योभन्दा पनि बढी नुन सुपमा पाइएको हो । भारतमा उत्पादित पत्रुखानाको स्वादको चक्करमा उपभोक्ताले दिनभरि कतिसम्म नुन खाँदोरहेछ यी उदाहरणहरूबाट प्रस्ट हुन्छ । यस्ता भारतीय पत्रुखाना नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने गरेका छन् । यसतर्फ नेपाली उपभोक्ता पनि लोभिने गरेका छन् ।

राम्रो स्वास्थ्यका लागि दैनिक एक चियाचम्चाभन्दा बढी नुन सेवन गर्नु भनेको रोग निम्त्याउनु हो । दैनिक बढीमा एक चम्चा र धेरै कम मात्रामा नुनको सेवन गर्न नहुने चिकित्सकको सल्लाह छ । मानिसलाई बाल्य अवस्थादेखि नै नुनको मात्रा कम सेवन गराउने बानीको विकास गर्नुपर्नेमा डा. उप्रेतीलगायत अन्य जनस्वास्थ्य तथा पोषणविद्हरूको जोड छ ।

प्रतिक्रिया