मंगलबार, वैशाख २५, २०८१

जनैपूर्णिमा/रक्षाबन्धनको मनोसामाजिक पक्ष

प्रेमनारायण भुसाल २०७८ भदौ ६ गते ९:२८

हिन्दु धर्ममा जनैको विशेष महत्त्व रहेको छ । विधिपूर्वक मन्त्रेको जनै धारणा गरी गरिएका कर्महरूले मात्र सिद्धि प्राप्त हुने विश्वास हिन्दु धर्मावलम्बीमा रहेको छ । श्रावण शुक्ल पूर्णिमाको दिन विधिपूर्वक मन्त्रेको यज्ञोपवित वा जनै वर्षभर धारण गर्नका लागि योग्य हुन्छ । जीवनमा आउन सक्ने अनिष्टलाई हटाउनका लागि प्रतीकात्मक रूपमा यसै दिन वैदिक मन्त्रले पुजेको डोरो पनि बाँध्ने गरिन्छ । जनै कर्म चलेका तागाधारी पुरुषले मात्र धारण गरे पनि रक्षाबन्धन वा डोरो भने सबैले बाँध्ने गर्दछन् । हिन्दु धर्मावलम्बीका सबैभन्दा ठूला मेलापर्व दसैं र तिहारको आगमनको संकेत गर्ने रक्षाबन्धन वा जनैपूर्णिमाको धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा सामाजिक महत्त्व रहेको छ ।

धार्मिक महत्त्व
सनातन परिपाटीमा धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्रिय रहनुलाई जीवन जिउनुको उद्देश्य मानिएको छ । पुरुषार्थ प्राप्त गर्नका लागि ब्रह्म अर्थात् ज्ञानको सूत्र वा अनुशासनका रूपमा जनैलाई लिइएको छ । वेदारम्भको अधिकार सुनिश्चित गर्ने काम व्रतबन्ध वा ब्रह्मसूत्र ग्रहणबाट हुने गर्दछ । वेदारम्भलाई उपाकर्म र समापनलाई उत्सर्ग भनिन्छ । विधिपूर्वक व्रतबन्ध गरी धारण गरिएको जनैले व्यक्तिलाई परमात्मासँगको सान्निध्य प्राप्ति हुनुका साथै धार्मिक अनुशासनमा रहन प्रेरित गर्दछ । जनैका तीन शिखामा क्रमशः ब्रह्मा, विष्णु र महेश्वरको बास हुने मानिन्छ भने अर्का तीन शिखालाई कर्म, उपासना र ज्ञानको प्रतीक मानिन्छ ।

ब्रह्मसूत्र वा जनै धारण गर्ने व्यक्तिले त्रिदेव (ब्रह्मा, विष्णु र महेश्वर) आफूसँगै रहेको र जीवनको उद्देश्य प्राप्तिका लागि परिश्रम, साधना र ज्ञानले सहयोग पुर्‍याउँछ भन्ने कुरालाई महसुस गरी सत्कर्म गर्दछ भन्ने धार्मिक महत्त्वलाई प्रकाश पारेको हुन्छ । जीवनमा गरिने हरेक अनुष्ठान, व्रत र पूजाका लागि खास गरी ब्राह्मण र क्षेत्री समुदायमा अनिवार्य रूपमा जनै धारण गर्नुपर्ने धार्मिक मान्यता छ । यसै दिन गरिने अरुन्धतीसहित सप्तर्षिपूजन तथा तर्पणले महान् पुर्खाप्रतिको श्रद्धा र सम्मानको भावलाई प्रदर्शन गर्दछ ।

सांस्कृतिक महत्त्व
जनै पूर्णिमाकै दिन नेपाली समुदायमा रक्षाबन्धन गर्ने वा डोरो बाँध्ने प्रचलनसमेत रहेको छ । परापूर्व कालमा बलिराजाले त्रिलोक विजय गरेका र देवताहरूलाई अधिकारबाट च्युत गरेको कथासँग रक्षाबन्धनको प्रसंग जोडिएको छ । बलिराजाले त्रिभुवनमा एकाधिकार जमाएपछि वामन अवतारका रूपमा विष्णु भगवान्‌ले बलिराजाको घमण्ड चूर्ण गरेको प्रसंग भागवत पुराणमा समेत रहेको छ । घमण्ड नाश भइसकेपछि निर्मल बनेका बलिराजाप्रति वामनरूप विष्णुको ममता बढेकाले विष्णुले आफू वलिराजाको द्वारपाल बनेर बस्ने प्रतिज्ञा गरे ।

विष्णु भगवान् बलिराजाको द्वारपाल बनेर बसेपछि वैकुण्ठमा लक्ष्मी एक्लै हुनुभयो । लक्ष्मीले विष्णुलाई वैकुण्ठमा फिर्ता ल्याउन बलिराजासँग दाइको साइनो जोडी रक्षाबन्धन गरेको प्रसंग विभिन्न पुराणहरूमा उल्लेख भएको छ ।
लक्ष्मीले बलिराजालाई रक्षाबन्धन गरी बाचा बाँधेर दक्षिणाका रूपमा द्वारपाले विष्णु भगवान्‌लाई फिर्ता गरेको कारण डोरो बाँध्दा यही सन्दर्भ उल्लेख भएको मन्त्र उच्चारण गर्ने गरिन्छ । “येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।” तराईमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन गर्ने तथा अन्य क्षेत्रमा गुरु वा मान्यजनले अन्य व्यक्तिलाई डोरो बाँधिदिएर रक्षाको कामना गर्ने सांस्कृतिक प्रचलन रहेको छ । श्रावणको पूर्णिमालाई नेवारीमा गुँपुन्ही भनिन्छ । यसै दिन नेवारी समाजमा जलको कारक मानिएको भ्यागुताको पूजा गरी क्वाँटी खाने गरिन्छ ।

मनोवैज्ञानिक महत्त्व
मानवले जीवनमा अनेक किसिमका समस्यासँग सिँगौँरी खेल्नुपर्दछ । यस क्रममा उसले विजय पराजयका अनेक आरोह-अवरोहलाई झेल्नुपर्छ । काममा सफलता पाउँदा उमंगित हुने मानिस असफलतामा हतोत्साही र निराश बन्छ । यस्तो बेलामा आफूले धारण गरेको जनैमा ईश्वरको बास रहेको तथा विधिपूर्वक पुजिएको रक्षाबन्धनले भूत-प्रेत आदिलाई हटाउन सक्ने र दुर्घटना वा मृत्युजन्य घटनाहरूबाट समेत जोगाउने विश्वास गरिन्छ । यसले व्यक्तिको मनोबल उच्च राख्न तथा स्वस्थ र सन्तुलित मानसिक अवस्थाको सिर्जना गर्नका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ । निराशा र एकांकीपनबाट मुक्ति दिने भएकाले व्यक्तिको आत्मविश्वास बढाउने र जीवनप्रति आशावादी बनाउने काम जनै तथा रक्षाबन्धनले गरेको हुन्छ । उदासीनताजन्य मनोविकारबाट मुक्त राख्न जनै तथा रक्षाबन्धनले सहयोग पुर्‍याउन सक्ने देखिन्छ ।

सामाजिक महत्त्व
विभिन्न किसिमका सामाजिक सांस्कृतिक अनुष्ठान र पूजाआजाको समाजमा प्रकार्यात्मक सम्बन्ध रहेको हुन्छ । अन्न उत्पादनको शृंखला र प्राकृतिक परिवर्तनका घटनासँग मेलापर्व र उत्सवको घनिष्ठ सम्बन्ध रहेको हुन्छ । सबैजसो नेपाली मेलापर्वहरू खेतीपाती लगाएपछि र मौसममा सुधार आएपछि नै पर्ने गर्दछन् । समाजलाई अदृश्य र अनिष्टकारक तत्त्वबाट बचाउने तथा एकआपसको सम्बन्धलाई सुदृढ गर्ने काममा रक्षाबन्धनजस्ता पर्वले सहयोग गरेका हुन्छन् । यी पर्वले सामाजिक एकता र सामूहिक भावनाको प्रवर्धनमा सहयोग पुर्‍याउँछन् । भाइबहिनीका बीचमा सुमधुर सम्बन्ध कायम राख्न र आपसी प्रेम र त्यागको भावनालाई अभिवृद्धि गर्न यस पर्वले योगदान पुर्‍याएको छ । मावली, ससुराली तथा यजमानका घरमा गई रक्षाबन्धन गरिदिने परिपाटीले सामाजिक आदानप्रदान र सम्बन्धमा देखापरेका समस्यालाई समाधान गर्नसमेत सहयोग पुर्‍याउँदै आएको छ ।

निष्कर्ष
जनैले व्यक्तिलाई ज्ञानको ज्योतितर्फ आकर्षित गर्ने तथा रक्षाबन्धनले सबै किसिमका अनिष्टबाट व्यक्ति र समाजलाई जोगाउने सामाजिक विश्वासका कारण नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाको विशिष्ट स्थान रहेको छ । पुरोहितले यजमानलाई जनै तथा रक्षाबन्धन गरिदिने तथा आफूभन्दा ठूला एवं भान्जा र ज्वाइँचेलाबाट रक्षाबन्धन गर्ने प्रचलनले सामाजिक-सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्दछ । दाइभाइ दिदीबहिनीबीचको सम्बन्धलाई सघन पार्ने सन्दर्भमा त यस पर्वलाई भाइतिहारपछिको अनुपम अवसर नै मानिन्छ ।

व्यक्तिलाई धार्मिक रीतिस्थिति तथा अनुशासनमा बस्न उत्प्रेरित गर्ने तथा ईश्वरीय तत्त्वसँग साहचर्यमा रहेको महसुस गराउने यस पर्वले व्यक्ति मनोविज्ञानलाई उच्च बनाइ जीवनभर उच्च विचारवान्, गतिशील र सिर्जनशील बनाइरहेको हुन्छ । बहुजातीय मुलुक नेपालमा अनेक जातजातिका मानिसहरू एक-आपसमा मिलेर बसेका छन् । रक्षाबन्धनजस्तो सामाजिक सांस्कृतिक पर्वले यी जातजातिका बीचमा सहिष्णुता र सहभावको विकास गर्न योगदान पुर्‍याएको छ । यसैले जनैपूर्णिमा वा रक्षाबन्धन नेपाली समाजमा धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक र सामाजिक सबै दृष्टिकोणले निकै महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ । यस पर्वको महत्त्वबोध गरी यसका मौलिक पक्षहरूको जगेर्ना गर्नु हामी सबैको कर्तव्य पनि हो ।

प्रतिक्रिया