आइतबार, वैशाख ३०, २०८१

आफैंभित्र आफू खोज्दै…

एकछिनपछि आमाले भन्नुभयो, ‘नानी पाँच सय रुपैयाँ सापटी दिनु न प्रेसरको औषधि किन्नु छ, म पछि सम्झिएर फिर्ता गर्छु ।’

प्रतिमा ज्ञवाली २०७८ भदौ ८ गते ११:४३

म मिलेसम्म बिहान सधैं हिँड्ने गर्छु । तर आजको हिँडाइ सधैंभन्दा पृथक रह्यो । फर्किंदा पाइलाहरु घरतर्फ लम्किँदै थिए । किन-किन मन एक्कासि त्यही ठाउँमा टक्क अडियो, जहाँ मैले प्राय: तरकारी किन्थें । एउटी आमा सधैं बाटोमा तरकारी बेच्नुहुन्थ्यो,मलाई किन-किन उहाँसँगै किन्न मन लाग्थ्यो र किन्थें पनि । मलाई साँच्चिकै त थाहा छैन अन्दाजमा उहाँ ७० वर्षको आसपासमा हुनुहुन्छ । उहाँको वृद्ध शरीर, मिहिनेत र मीठो बोली सम्झिरहन्थें । एकदिन आमाले भन्नुभयो… नानीले सधैं मैसँग तरकारी किन्नुहुन्छ, नचिने पनि छोरी जस्तै लाग्छ । नानी यो सागको मुठोको २० रुपैयाँ मात्रै दिनुस्… मैले सोचें, मन्… ( छेवैको अर्को दिदीले त्यति नै सागको ३० रुपैयाँ भन्दै हुनुहुन्थ्यो )

एकछिनपछि बूढी आमाले भन्नुभयो, ‘नानी मलाई ५०० रुपैयाँ सापटी दिनु न प्रेसरको औषधि किन्नु छ, म पछि सम्झिएर फिर्ता गर्छु ।’ माफ गर्नुहोला आमा अहिले मसँग त ५०० रुपैयाँ छैन । मैले आज ल्याएकै छैन, यही १०० रुपैयाँ मात्रै हो (वास्तवमा मसँग १०० रुपैयाँ मात्रै थियो) ।

जब म घर फर्केर आउँदै थिएँ, मनमा कुरा खेलिरह्यो । भोलिपल्ट बिहान सधैं झैं हिँड्दै जाँदा ५०० रुपैयाँ लगेर दिएँ, तर त्यो दिन तरकारीचाहिँ किनिनँ । नानी, आज पनि लैजानुस् न तरकारी भन्दै हुनुन्थ्यो । जवाफमा मैंले, नाईं आमा, हिजोकै बाँकी छ, भनें । त्यसपछि लगत्तै पहिलो लकडाउन सुरु भयो र निरन्तर बिहान-बिहान हिँड्ने म अदृश्य साङ्लोले बाँधिए झैं भएँ र घरमै थुनिन पुगें ।

आजभोलि करिब १५ दिनदेखि म फेरि हिँड्न सुरु गरेकी छु र ती बूढी-आमालाई परैबाट देखे पनि प्रत्यक्ष भेट्नचाहिँ पाएको थिइनँ । आज अचानक बूढी आमाको पसलमा गएँ र सोधें- ‘आमा हरियो मकै कसरी हो ?’ जवाफ पाएँ, ७ वटाको १०० रुपैयाँ । मलाई १०० रुपैयाँको दिनु न भनें, मसँगै अर्को दिदी पनि मकै छान्दै हुनुहुन्थ्यो । दिदीको प्रतिक्रिया थियो, ‘मलाई त ६ वटाको १०० भन्नू भो’ यो सुनेर तत्काल बूढी आमाले असजिलो मान्दै भन्नु’भो, नानी तपाईं पनि ७ वटै लैजानुस्, सबैलाई बराबर हो । मैले प्लास्टिकमा मकै आफैं राखें र आमाचाहिँ पैसा फिर्ता गर्दै हुनुहुन्थ्यो । अनि आमाले मलाई चाहिँ यो पनि लैजानुस् नानी भनेर एउटा अर्को मकै थपिदिनुभयो । मैले ७ वटा भइसक्यो आमा… भनें तर उहाँले एउटा बढी राख्नुस् भनेर कर गरिरहनुभयो, मैले सहमति जनाएँ र पैसा तिर्न खोज्दा पैसा नलिने जवाफ दिनुभयो । किन आमा ? लिनुस् न । (आमाको जवाफमाथि यो मेरो जवाफ थियो) अनि परिचित भए झैं भन्नु भयो ‘मैले नानीलाई अघि नै चिनिसकें नि, मास्क लगाएर आँखाले चिन्न नसके पनि पहिलाको बोलीले कानले चिन्यो’ र अझै थप्नुभयो, तपाईंले मलाई लगाएको गुन म कहिल्यै पनि बिर्सिन्नँ नानी । मैले ढिला नगरी सोधें ‘के गुन आमा ?’ मलाई प्रेसरले हान्यो नि नानी, अचेल धेरै भएको छैन फेरि पसल राख्न सुरु गरेको । मेरो आँखामा हेर्नु न… आमाको आँखामा गहिरिएर हेरें, ओहो ! आँखा यस्तो पो भएछ आमा । उहाँले अझ भन्नुभयो, प्रेसरले एउटा हर पनि हानेयो !!! म स्तब्ध भएँ । यत्तिकैमा एउटी १२/१३ वर्षकी नानी आइन् र आमाले भन्नुभो, यो मेरो छोरी हो नानी । मैले अल्ली अफ्ठ्यारो माने झैं लागेर होला, फेरि भन्नु’भो ‘मेरो सौताको छोरी हो’ नानी दिदीलाई नमस्कार गर, मैले अस्ति कुरा गरेको नानी यिनै हुन् । अघोषित रुपमा आमाले मलाई ती नानीसँग परिचय गराउनुभयो र भन्नुभयो यो केटीलाई पनि माया गर्नु है नानी, मैले एकटकले आमा छोरीलाई हेरिरहें ।

आमा मकैको पैसा लिनु भनेर ५०० रुपैयाँ दिएँ । अनि भन्नु’भो, नानी म लिन्नँ, मसँग त खुद्रा पैसा पनि छैन । मैले भनें, आमा लिनैपर्छ तपाईंको मिहिनेतको कमाइ हो, म खुद्रा साटेर ल्याउँछु भनेर नजिकैको पसले भाइलाई साट्न लगाएँ, हाम्रो कुराकानी वरपरका पसलेहरुले पनि नियालिरहेका रहेछन् । अनि मैले साटेको पैसाबाट जबरजस्ती १०० रुपैयाँ थमाएँ । अनि आमाले भन्नुभयो… नानी मलाई अचेल अल्ली ठीक हुँदै छ । कुनै दिन म त्यो पैसा हजुरको घरसम्मै पुर्‍याउन आउनेछु । मैले केही बोलिनँ तर यति भन्दै गर्दा उहाँको आँखा रसाइरहेका थिए ।

म त्यहाँबाट हिंडे र सोचिरहें, पाइला अगाडि बढे पनि मेरो मनचाहिँ त्यहीँ रोक्किएको थियो । त्यो ५०० रुपैयाँ दिएको बल्ल सम्झिएँ, मैले त बिर्सिसकेको रहेछु। करिब डेढ वर्षअगाडिको कुरा थियो यो । अनि मनले अनेक तर्कना गर्न थाल्यो, धेरै कुरा खेलाउन थाल्यो, त्यही ५०० रुपैयाँवरिपरि घुमिरह्यो मन् । धेरै ठाउँमा, धेरै प्रयोगको लागि खर्च भयो होला ५०० रुपैयाँ…, कहिलेकाहीँ सानो चिजले पनि ठूलो महत्त्व राख्छ, गहिरो अर्थ बोकेको हुन्छ त्यसले । हुन त त्यो ५०० रुपैयाँले काम गरेन, वृद्ध आमाको आँखा र हर सकुशल राख्न सकेन, आखिर प्रेसरले हानेरै छोड्यो तर पनि बूढी आमाको चाउरी परेर ओझेल परेको अनुहार, मुजा परेको रातो आँखा र धुजा परेको मनमा भएको अटल विश्वास, मलाई पटक-पटक झस्काइरह्यो । त्यो पल, किन किन मनबाट पर हटेर जानै मानेन त्यो क्षण र ती भावनाहरू… यी हरफहरुमा पोख्खिरहन बाध्य भएँ म । र आफूले आफैंलाई खोजिरहें खोजिरहें खोजिरहें… ।

प्रतिक्रिया