मंगलबार, जेठ १, २०८१

‘हिट हुन द्वयर्थक गीत गाउनै पर्दैन’

नेपालखोज २०७८ भदौ ८ गते १७:०७

सिन्धुपाल्चोक घर भई काठमाडौमा बस्दै आएकी रमिला न्यौपाने १५ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् । उनले तीज गीत गाउन थालेको १० वर्ष भयो । गायिका न्यौपाने समाजमा विकृति फैलिने गीत गाउने परिपाटी ठीक नभएको बताउँछिन् । प्रस्तुत छ गायिका न्यौपानेसँग नेपालखोजका लागि केशव भट्टराईले गरेको कुराकानी । www.nepalkhoj.com हेर्दै र पढ्दै गर्नुहोला । यहाँको सल्लाह तथा सुझावको हामी सधैं अपेक्षाकृत छौं ।

हाइलाइट्स
–गायन क्षेत्रलाई पेसा बनाउँछु भनेर लागेको १५ वर्ष भयो । तीज गीतको रेकर्डिङ सुरुवात गरेको लगभग १० वर्ष भयो । ‘आज त भेट्न आउँदिन है कालु’ बोलको गीत मेरो पहिलो हो । त्यसपछि वर्षैपिच्छे एउटा–दुइटा गीत रिलिज गरिरहेको छु । लगभग डेढ सय जति दोहोरी गीत गाएकी छु ।
–अहिले महामारीले सबैलाई सताएको छ । सबैको दिमाग खल्बल्याएको छ । कतिपय व्यवसाय ठप्पै छन् । सबैभन्दा पहिले सबै महामारीबाट बाँच्नुपर्छ । ‘चाडपर्व फेरि आउला ज्यानभन्दा अरू केही चाहिँदैन’ भन्ने सन्देश बोकेको गीत यसपालि लिएर आएकी छु ।
–आजभोलि कोभिडको सबैभन्दा बढी मार हामी गायक–गायिका, मिडिया क्षेत्र र फिल्मी क्षेत्रलाई परेको छ । दुई वर्ष भयो सबै कार्यक्रम ठप्पै छन् । स्टेज कार्यक्रम केही पनि सञ्चालन गरेको छैन । अब अवसर पाए बिर्सिन्छु कि जस्तो भइसक्यो । रेकर्डिङचाहिँ अलिअलि भइरहेको छ ।
–गत वर्षचाहिँ गीत रेकर्ड गर्ने कि नगर्ने भनेर दोधारमा परियो । गत वर्ष तीज आउनुभन्दा २० दिन अगाडि मात्रै गीत रिलिज गरें । यो वर्ष रेकर्डिङको काम समयमै गरियो ।
–म सिन्धुपाल्चोकको मान्छे, काँठे एरियाको मान्छे । हाम्रोतिर काँठे गीतहरू बढी चल्छन् । तर पश्चिमको गायक–गायिकासँग बढी घुलमिल भएकाले सुरुदेखि नै मेरा एल्बमहरू पश्चिमेली झुकावका बढी छन् ।
–पशुपति शर्मासँग सहकार्य गरेको छु, खुमन अधिकारीसँग सहकार्य गरेको छु । खुमनसँगको सहकार्यमा मैले गाएको गीत त्यसरी चल्छ भन्ने एक प्रतिशतसम्म पनि आशा गरेको थिइनँ । अन्जु दिदी, विष्णु माझीलगायत एकदमै हाइलाइटमा हुनुहुन्थ्यो त्यति बेला । उहाँहरूले गाइरहेका बेला मेरा गीत त्यति हिट हुन्छन् भन्ने मैले सोचेको पनि थिइनँ ।
–‘शिव मेरो मान्छेलाई खुसी बनाइदेऊ’ भनेजस्तो मेरो मान्छे अहिलेसम्म छैन । मेरो पहिलो गीत ‘आज त भेट्न आउँदिन है कालु’, दोस्रो ‘शिवजीसँग’, तेस्रोचाहिँ ‘ओम शिवशंकर भोला’ र चौथो तीज गीतचाहिँ ‘आशीर्वाद माग्छु’ हो ।
–हामी पहिलो कोरोनाका बेला नयाँ वर्षको विशेष धमाका लिएर युरोप टुरमा थियौं । युरोपमा लगभग १८–१९ वटा हामीले कार्यक्रम गयौं । कोरोना संक्रमण बढ्दै गएका वेला नेपाल आइयो । त्यसपछि दुई वर्षदेखि एउटा पनि कार्यक्रम गर्न पाइएको छैन । तीजको बेला कम्तिमा दुई वटासम्म देशमा तीज गीत गाउन जाने गर्थें ।
–विकृति, विसंगति र दोहोरो अर्थ लाग्ने गीत गाएर अगाडि बढ्छु भन्ने कुरा क्षणिक हो । मैले कस्तो गीत गाउने र सांगीतिक क्षेत्रमा कसरी अगाडि बढ्ने कुरा मैले निर्णय गर्छु । समाजमा अपाच्य हुने खालका गीत हामीले प्रस्तुत गर्नु हुँदैन किन कि गीतले राजनीतिमा पनि तरंग ल्याउँछ र गीत–संगीतमा पनि तरंग ल्याउँछ ।
–जसले विकृति विसंगति ल्याउने त्यस्ता चयन गर्नुभएको छ भने उहाँले सोच्नुहोस्, राम्रा शब्दहरू ल्याउनुहोस् । राम्रो रचना गर्नुभयो र गाउनुभयो भने सबै राम्रो हुन्छ नि । किन विकृति ल्याउनुपरेको छ र ?
–दर्शक, स्रोता तथा पाठक महानुभाव, हामी धेरैले यहाँहरू माझ तीज गीत ल्याएका छौं । कुनकुन गीत गाउन र कुन–कुन गीतमा नाच्न मन लाग्छ छानेर मज्जाले नाचेर खुसीसँग तीज मनाउनुहोला । सुखी रहनुहोला । सबैलाई तीजको अग्रिम शुभकामना छ ।

प्रतिक्रिया