सोमबार, वैशाख ३१, २०८१

पाको पुखुड्याँ, नयाँसडक वा न्यूरोड !

सुनील उलक २०७८ भदौ ११ गते २१:४८

वर्तमान न्युरोड र तस्बिरको यो जुद्धसडक, कति भिन्न छ । कति शान्त जुद्धसडक अब कोलाहलको न्युरोड भएको छ । १९९० साल अगाडिसम्म पाको पुखुड्याँ भनिने ठाउँमा जुद्धशमशेरले विदेशमा झैं चौडा सडक बनाउन लगाए । जुद्धशमशेरले बनाउन लगाएको हुँदा श्री ३ लाई खुसी बनाउन जुद्ध सडक भनियो । तर काठमाडौंका नेवाःहरुले भने न्हूसतक भन्थे । पहिलोपटक पिच बनेको राम्रो नयाँ सडक भएको हुँदा न्हूसतक भनिएको थियो । विस्तारै नेपाली बोल्नेहरु बढ्दै गए पछि नयाँसडक भनियो ।

आफूले आफूलाई सभ्य र आधुनिक ठान्ने वा मान्ने अहिलेको जमातले सगरमाथा होइन एभरेष्ट भन्छन्, एक-दुई भन्न बिर्सिए वन टू भन्नुपर्ने भयो । बैदाम होइन लेकसाइड भने बुझ्छन् । माछापुच्छ्रे भन्न छोडे फिस्टेल भनिदिनुपर्ने भयो । यही हुलले नयाँसडक भन्न रुचाएनन् र न्युरोड भयो ।

नयाँ सडकका यी पुराना पसलका नाम हेर्यौं भने नेपालीपन खासै भेटिँदैन । शाक्य स्टेसनरी, MG Zaheer Hair Dresser, international Graphic Arts, Pandey’s Translating Service, E.M.C. Wine Merchants यी नामले पनि अंग्रेजीकरण देखिन्छ ।

त्यतिबेला भारतको प्रख्यात तथा सबैभन्दा पुरानो रक्सी उत्पादक डायर मिकिन ब्रुअरीजको बिक्रेता काठमाडौंमा सुरु भइसकेको देखिन्छ । सन् १९६७ मा डायर मिकिन मोहन मिकिन भएको थियो । तसर्थ यो तस्बिर २०१८-१९ तिर खिचिएको अनुमान गर्न सक्छौं । साथै कपाल काट्ने पसलमा लखनउ-काठमाडौं लेखिएको छ । जसले MG Zaheer को लखनउ र काठमाडौंमा पसल रहेको बुझिन्छ । काठमाडौंमा स्थानीय नापित वा नाउहरुको व्यापार भारतीय ठाकुरहरुले ओगट्न सुरुवात भइसकेको देखिन्छ ।

May be an image of one or more people and street

प्रतिक्रिया