सोमबार, वैशाख ३१, २०८१

दाहिने खल्तीको पर्स

विमल वैद्य २०७८ भदौ १२ गते ८:०८

प्राय : फुत्किन खोजिरहेको हुन्छ
पछिल्तिरको खल्तीबाट सधैं,
देख्नेहरूले ठान्दा हुन्-
सम्पन्नताको बिटो लुकेको छ त्यसभित्र
मेरो पाइन्टको दाहिने खल्तीभित्र रहेको पर्समा ।

उसो त,
तिर्न बाँकी साहुका बिलहरू छन्
धितोमा परेको जमिनको लालपुर्जाको प्रतिलिपि
केही थान आफ्नै श्यामश्वेत तस्बिरहरु
प्रयोगविहीन जन्मदर्ताको सक्कल पाना
बुझाउन बाँकी बिजुलीको बिल
स्कुलका नानीहरूको चर्को शुल्कका रसिदहरू
धारामा खस्न छोडेको पानीको मासिक महसुलको रसिद
रिङ बज्न छाडेको टेलिफोनको क्यास स्लिप
मत खसालेर पनि मतको सदुपयोग नभएको
मतदाता परिचय-पत्र
यी सबै पत्रपत्र बनेर अटाइरहेका छन्- अहिलेसम्म
मेरो पाइन्टको पछिल्तिरको खल्तीभित्रको वालेटमा ।

ब्यालेन्स रित्तिएको
निजी बैंकका दुई थान एटीएम कार्डहरू ,
राजस्व बटुल्न सरकारद्वारा निष्कासन गरिएको
सहिदको फोटो अंकित
केही हुलाक टिकटहरू छन्- चेप्टिएर बसेको
राजनीतिक पार्टीद्वारा थमाइएको म्यादी नियुक्ति-पत्र
ट्राफिक प्रहरीले तीनचोटि प्वाल पारिसकेको लाइसेन्स
कहीँकतै साट्न नसकिने
उच्च शिक्षाको प्रमाणपत्रको सक्कल पाना
आफ्नै निजी सम्बन्ध स्खलित भइसक्दा पनि
अहिलेसम्म जोगाएरै राखिएको विवाह दर्ताको कागज
देशले कहिल्यै नागरिक नसम्झिए पनि
बचाएरै राखेको नागरिकताको एकथान प्रतिलिपि
छोरो विदेश पठाउँदा लेखिएको
आफ्नै आधा आँगनको लिखत
सबै लुकेर थन्किएका छन्
मेरो पत्लुङ्‌को ब्याक साइट पाकेटमा ।

लक्षिनका लागि
मन्दिरबाट साटेर राखिएको एउटा ढ्याक पैसा
प्रतिबन्धित कालमा बनेको
राजनीतिक पार्टीको सदस्यता-पत्र
उहिले एक समयमा
सूचना विभागद्वारा जारी गरिएको पत्रकार परिचय-पत्र
सन्दर्भ सकिएको राजाको टाउको भएको
एक सय रुपैयाँको नोट
उहिले धेरैअघि स्कुलले दिएको
चारित्रिक प्रमाण-पत्रको नक्कल
अरू त के भनौ !
घरेलु कामदारका रूपमा
वर्षौं विदेशमा बिताइरहेकी
आफ्नै पत्नीको धुमिल तस्बिर
र, उनले भुलिसकेको
आफ्नै सन्तानको
बाल्यकालका अबोध फोटोहरू
सबै-सबै खापिएर अटाइरहेका छन्,
देख्नेहरूले ठान्दा हुन्-
अटाइ-नअटाई रुपैयाँहरूको खात लागेको छ
मेरो पाइन्टको पछिल्तिरको दाहिने खल्तीको पर्समा ।

प्रतिक्रिया