आइतबार, वैशाख ३०, २०८१

कास्की मौजामा चन्द्र पुल !

सुनील उलक २०७८ भदौ १२ गते ८:३९

राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९६० तिर नेपालमा झोलुंगे पुल राख्ने अभियान नै चलाएका थिए । देवशमशेरको शासनकालमा पनि यिनकै अगुवाइमा झोलुंगे पुलहरुको निर्माण थालिएको थियो । काठमाडौं उपत्यकामा मात्र होइन दुर्गम दूरदराज गाउँमा पनि पक्की आधुनिक झोलुंगे पुलहरुको निर्माण सय वर्षअगाडि नै थालनी भएको थियो । झोलुंगे पुलका लागि आवश्यक फलामे सामग्रीहरु भने नजिकैको भारत होइन, युरोपको एकछेउमा रहेको स्कटल्यान्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । ७००० किमिभन्दा टाढा रहेको एबरडीनमा रहेको दुई लुइस हार्पर कम्पनी तथा जोन एम हेन्डरसन कम्पनीबाट सामग्रीहरु मगाइएका थिए । सुरुका दश वर्षजति लुइस हार्पर कम्पनीले नेपालमा झोलुंगे पुलहरु बनाएका थिए भने पछि जोन एम हेन्डरसन कम्पनीले झोलुंगे पुलहरु बनाएका थिए ।

जोन एम हेन्डरसन कम्पनी, एबरडिन, स्कटल्यान्डमा रहेको पुल तथा अन्य कामका लागि आवश्यक फलामका लट्ठा तथा केबलहरु तयार बनाउने कम्पनी थियो । यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इन्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यी इन्जिनियरले सन् १८६६ मा आफ्नै कम्पनी खोलेर विभिन्न निर्माण सामग्रीहरु तयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तयार गर्न थालेका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि सुरु गरेका थिए । यही कम्पनीलाई नै नेपालमा सयभन्दा बढी झोलुंगे पुलहरु बनाउन जिम्मा दिइएको थियो ।

पहिलो नमुना पुलको रुपमा हेन्डरसन कम्पनीले वि.सं १९६४ मा सिन्धुली र रामेछापको बीचमा सुनकोसी नदीमाथि पुल बनाएको थियो । खुर्कोटमा बनाएको पुलले निकै वर्ष सेवा दियो । यो पुललाई २०४२ सालको साउनमा सुनकोसी नदीमा आएको ठूलो बाढीले बगाएर लगेको थियो । यसपछि भने नेपालका विभिन्न ठाउँमा पक्की आधुनिक झोलुंगे पुलहरु निर्माण गरिएको थियो ।

चन्द्रशमशेरले एबरडीन कम्पनीलाई कतिवटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि पछिल्लो समय ५० वर्षअगाडि सम्म ४०-५० वटा फलामे पुलहरुमा ‘जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड’ को नाम राखिएको भेटिन्थ्यो । अहिले भने भेटिने सम्भावना निकै न्यून हुनसक्छ । धाडिङको आँखुखोलाको पुल, चोभारको पुल, मर्स्याङ्दीको तार्कुघाटको पुल, मटेलाको झोलुंगे पुल, तमोरको पुल तथा कास्कीको मौजामा पनि जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड लेखिएको फलामे झोलुंगे पुल देखिन्थ्यो ।

कास्कीमा चन्द्र पुल भने पोखराबाट उत्तर पूर्वमा रहेको सानो गुरुङ गाउँ मौजा जाने पुल थियो । अहिले सडक सन्जालमा जोडिएको मौजा सय वर्षअगाडि भने निकै दुर्गम थियो । तर पनि यहाँका गुरुङ समुदाय भने मिलेर बस्ने हुँदा घरहरु नजिक-नजिक थिए ।

उहिले गाउँलाई मौजा भन्ने गरिन्थ्यो तर यो गाउँको नाम नै मौजा रहन गयो । यही गाउँका केसु गुरुङको आँटी भएको घरले नजिकैको थलोको नाम नै आँटीघर रहन गएको छ । वि.सं. १८७१ को अंग्रेजसँगको युद्ध लडेर फर्केका केसु गुरुङले पहिलोपटक आँटी (माथि तला भएको) भएको घर बनाएका थिए । सुरुमा सो घरको नाम आँटीघर भयो, पछि त्यो ठाउँको नाम नै आँटीघर रहन गयो ।

May be an image of outdoors and text

यहीँ मौजा जान असहज हुँदा चन्द्रशमशेरले झोलुंगे पुल बनाउन लगाएका थिए । त्यस समयका इन्जिनियर ब्रिगेडियर कर्णेल कुमारनरसिंह राणाको डिजाइनमा बनेको यो झोलुंगे पुल निर्माणमा स्वयं इन्जिनियर नै खटिएका थिए । निर्माण कार्यमा नेपाली सेनाका जवानहरु लागेका थिए ।

जोन एम एन्डरसन कम्पनीका अन्य झोलुंगे पुलहरु झैं यो पुलको संरचना पनि उस्तै छ । चारवटा लामा पिलरमा मोटो तार लट्काएर बनाइएको यो झोलुंगे पुलमा हिँड्ने भागमा काठका फल्याकहरु राखिएका थिए । इन्जिनियरिङ भाषामा एन-टाइपको झोलुंगे पुल भनिने यी पुल अन्यभन्दा लागत बढी भए पनि बलिया हुने गर्दछ ।

प्रतिक्रिया