सोमबार, वैशाख ३१, २०८१

कमेडी च्याम्पियन : के ठीक, के बेठीक !

‘विक्कीले प्रतिस्पर्धाको यो चरणमा एक्कासि यस्तो प्रस्तुति दिनु हिम्मतको काम हो, तर बुद्धिमानी हैन । र सन्तोष पन्तको कमेन्ट इमानदार हो ।’

नृपेश उप्रेती २०७८ भदौ १३ गते १७:३१

हिजोको कमेडी च्याम्पियनपछि सामाजिक सन्जाल र अनलाइन मिडियाहरू चर्चा र बहसले छाएका छन् । यो चर्चा र बहस सिक्किमेली विक्की अग्रवाल, भरतमणि पौडेल अनि निर्णायक सन्तोष पन्तलाई लिएर हो । विक्कीको हिजोको प्रस्तुति राम्रो हो । तर के त्यो प्रस्तुति कमेडी च्याम्पियनका लागि थियो त ? प्रतिस्पर्धाका लागि थियो त ? मैले थिएन भनें भने मेरो आलोचना हुन्छ। अहिले विक्कीको प्रस्तुति मन परेन भन्यो भने यसले त केही जानेको बुझेको रहेनछ भन्छन् कि भन्ने डर छ कतिपयलाई ।

किन कि अहिले सन्जालामा धेरै मान्छेहरू विक्कीको त्यो प्रस्तुतिको समर्थन गर्दै र सन्तोष पन्तकोको आलोचनामा उभिनुभएको छ। तैपनि म भन्छु विक्कीको त्यो प्रस्तुति प्रतिस्पर्धाको लागि उपयुक्त थिएन ।

लेखक : नृपेश उप्रेती

विक्कीले गरेको आर्टको अलगै फर्म हो । नेपालमा आर्टको यो फर्म स्थापित भइसकेको छैन । लन्डन आर्ट अफ थेइटरमा इस्ट एन्ड, वेस्ट एन्ड आदी शोहरूको आर्टको यो फर्म देख्न पाइन्छ । पश्चिमाहरूको सयौं वर्षको इतिहास छ आर्ट यो फर्म । तर पनि यसले सीमित वर्गलाई मात्र आकर्षित गरेको छ ।

अब विक्कीले प्रतिस्पर्धाको यो चरणमा एक्कासि यस्तो प्रस्तुति दिनु हिम्मतको काम हो, तर बुद्धिमानी हैन । र सन्तोष पन्तको कमेन्ट इमानदार कमेन्ट हो । यसमा आलोचना गर्नुपर्ने कारण छैन । विक्कीको प्रस्तुतिले सबैलाई आकर्षित गर्छ भन्ने छैन, मलाई पनि गरेन । मैले फर्वाड गरेर हेरें । म जस्तै बहुसंख्यक आम मान्छेलाई गरेन पनि । किन कि हामी आर्टको त्यो फर्मसँग खासै परिचित छैनौं । हामीमा त्यो चेत आइसकेको छैन । हाम्रो चेत अपार छ, राज सिग्देल, सुशील गड्तौलाका गीतहरू फ्लप हुन्छन् । क्रन्दन र रूवाइ, बेसुरा गीतहरूका मिलियन भ्युज हुन्छन् । अनि हामी स्टेजमा विक्कीको बारेमा सन्तोष पन्तको प्रतिक्रियालाई लिएर ठूलो-ठूलो गफ गर्छौं ।

कुरा गरौं भरतमणि पौडेलको । मलाई भरतमणिको प्रस्तुति मन पर्‍यो, हाँसे पनि र अन्त्यमा भावुक पनि बनें । सप्ताहभरिको थकान मेट्न म कमेडी च्याम्पियन हेर्छु । पारस शाहलाई मन पराउने या नपराउने कुरा आफ्नो ठाउँमा छ । तर हाम्रो पुस्ताले उनलाई इग्नोर गर्न सक्दैन । एउटा त्यस्तो चरित्रलाई आफूभित्र हुबहु उतार्न सक्नु उनको खुबी हो ।

अन्त्यमा पारसको चरित्रमा उनले जुन कटु सत्य सन्देश दिए, कथित गणतन्त्रवादीहरूलाई मिर्ची लागेको छ । अफगानिस्तानको प्रसंगलाई लिएर पूर्वराजपरिवारले देश नछाडेको प्रसंग अपाच्य हुनु अस्वाभाविक हैन । त्यसैले उनी पनि एउटा तप्काबाट आलोचित भएका छन् ।

जे होस् आर्टलाई विशुद्ध आर्टका रूपमा लिऔं । आर्टको सबै फर्म सबैले बुझ्नुपर्छ भन्ने छैन । प्रतिस्पर्धात्मक कार्यक्रममा महान् बन्न जाने हैन जित्न जानुपर्छ । लिकबाट हटेर अलग्गै प्रस्तुति दिँदै तारिफै हुन्छ, गरिनुपर्छ र जितिन्छ भन्ने छैन ।

प्रतिक्रिया