सोमबार, वैशाख ३१, २०८१

तातोपानीको झोलुंगे पुल

सुनील उलक २०७८ भदौ १५ गते ९:५४

राणा प्रधानमन्त्री चन्द्रशमशेरले स्कटल्यान्डको एबरडिनबाट सामग्री मगाएर बनाएको धेरै पक्की झोलुंगे पुलहरुमध्ये कास्कीबाट मुस्ताङ जाने बेला बाटोमा पर्ने तातोपानीमा कालीगण्डकी माथि बनाइएको यो पुल पनि एक हो । राणा प्रधानमन्त्री वीरशमशेरको समयमै धेरैजसो कामको निर्णय गर्ने जिम्मा पाएको त्यसबेलाको पश्चिम कमान्डिङ अफिसर चन्द्रशमशेरले वि.सं १९५६ देखि नै नेपालमा झोलुंगे पुल राख्ने अभियानको सुरुवात गरेका थिए । यी झोलुंगे पुलहरु बनाउने अभियान केवल काठमाडौं उपत्यकाका लागि मात्र बनाइएका थिएनन् । दुर्गम दूरदराज गाउँहरुका लागि पनि बनाइएका थिए । गुलजार नभएका बस्ती नभएका तर कुनै अर्को प्रमुख स्थानको लागि जाने बाटोमा परेका खोला नालाहरुमा तथा दुर्गम स्थलका गाउँहरुमा पनि झोलुंगे पुलहरु बनाइएका थिए ।

झोलुंगे पुलका लागि आवश्यक फलामे सामानहरु युरोपको पश्चिमछेउमा रहेको स्कटल्यान्डको उत्तरी सहर एबरडिनबाट ल्याइएको थियो । सुरुका केही वर्ष लुइस हार्पर कम्पनीबाट सामग्री ल्याउन थालिए पनि पछि सो कम्पनी बन्द भएपछि भने जोन एम हेन्डरसन कम्पनीबाट सामग्रीहरु मगाइएको थियो । जोन एम हेन्डरसन कम्पनी, एबरडिन, स्कटल्यान्डमा रहेको पुल तथा अन्य कामका लागि आवश्यक फलामका लट्ठा तथा केबलहरु तयार बनाउने कम्पनी थियो ।

सन् १८६६ मा स्थापना भएको सो कम्पनीले सुरुमा विभिन्न निर्माण सामग्रीहरु तयार गर्न थालेका थिए । पछि सन् १८८० बाट भने फलामे पुलका सामग्रीहरु तयार गर्न थालको थियो । पछि सन १९२७ बाट भने यो कम्पनीले पानीजहाज कारखाना पनि सुरु गरेको थियो ।

नेपालका ठूला तथा साना नदीहरुमा बाँसका पुलहरु हिउँदमा काम लाग्थे । वर्षातको भेलमा बगाएर लग्थ्यो । यसरी अस्थायी बाँसे पुलहरुले वर्षात् मौसममा ठूलो समस्या भोग्नुपर्थ्यो । जसले गर्दा युरोपबाटै बलिया फलामे सामग्रीहरु मगाएर नेपालमा पक्की झोलुंगे पुलहरु निर्माणको थालनी भएको हो । यसरी सुरुको हार्पर एन्ड कम्पनीले केवल सातवटा झोलुंगे पुल मात्र बनाएको थियो भने जोन एम हेन्डरसन कम्पनीले सयभन्दा बढि झोलुंगे पुलहरु बनाएको थियो ।

पहिलो नमुना पुलका रुपमा हेन्डरसन कम्पनीले वि.सं १९६४ मा सिन्धुली र रामेछापको बीचमा सुनकोसी नदीमाथि पुल बनाएको थियो । खुर्कोटमा बनाएको पुलले निकै वर्ष सेवा दियो । यो पुललाई २०४२ सालको साउनमा सुनकोसी नदीमा आएको ठूलो बाढीले बगाएर लगेको थियो ।

चन्द्रशमशेरले एबरडिन कम्पनीलाई कतिवटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि ऐतिहासिक पुराना झोलुंगे पुलहरुको इतिहास खोतल्दै जाँदा ‘जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड’ को नाम राखिएको तथा उस्तै बनावटका सयौं पुल भेटिएको छ । काठमाडौंमा वाग्मती र विष्णुमती नदीमा, मर्स्याङ्दी नदीको विभिन्न ठाउँमा, कालीगण्डकी नदीको विभिन्न ठाउँमा, त्यस्तै तमोर, सुनकोसी, विजयपुर खोला, भेरी नदीमा पनि जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड लेखिएको फलामे झोलुंगे पुलहरु बनाएका थिए ।

सुरुमा नेपालको विभिन्न जिल्लामा स्थानीय कामीहरुले स्थानीय काँचो फलामका धाउहरु आरनमा गालेर आफ्नै मिहिनेत र हातले बनाएका फलामका साङ्लाबाट आफ्नै बलबुताले झोलुंगे पुल बनाउने गरेको इतिहास भेट्छौं । अझै पनि यस किसिमका फलामे साङ्लाबाट बनाइएका पुलहरु विभिन्न स्थानमा भेट्न सक्छौं । पछि सन् १९६० र ७० को दशकमा स्विस तथा अमेरिकी सहयोगमा आधुनिक पुलहरु बनेको थियो ।

यहाँ राखिएको तस्बिर तातोपानीमा कालीगण्डकी नदीमा बनाइएको झोलुंगे पुलको हो । तिब्बतबाट विभिन्न मरमसला, नुन तथा उनका सामग्रीहरु काठमाडौंसम्म पुर्‍याउने गरिन्थ्यो । ती सामग्रीहरु ओसार्नका लागि पनि कालीगण्डकीको यो पुल निकै महत्त्वपूर्ण थियो । साथै मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने तीर्थयात्रीहरुका लागि पनि यस पुलको निकै महत्त्व थियो ।

May be an image of outdoors

प्रतिक्रिया