आइतबार, वैशाख ३०, २०८१

प्यारालाइसिसको उपचार !

डा. हेमराज कोइराला २०७८ भदौ १६ गते ८:००

पक्षाघात, प्यारालाइसिस, लकुवा जस्ता नामले सम्बोधन गरिने यो रोग केन्द्रीय स्नायु तन्त्रको (मस्तिष्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मस्तिष्काघात) को कारणले हुने गर्छ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै रगतको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषकतत्त्वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्ने समस्यालाई मस्तिष्काघात भनिन्छ । विश्व स्वस्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड सत्तरी लाख (१७ मिलियन) मानिस मस्तिष्काघातको चपेटामा पर्ने गरेका छन् । जसमध्ये ६२ लाख अकालमै यो लोक छोड्न बाध्य छन् । बाँचेकामध्ये आधा रोगीहरू दीर्घकालीन पक्षाघात (हेमिप्लेजिया) भएर नरकीय जीवन जीउन बाध्य हुन्छन् ।

बाँचेकाहरूमध्ये दीर्घकालीन विकलांगहरूलाई छाडेर अरु १६ लाख चिकित्सकीय सेवापश्चात सामान्य जीवनमा फर्किएका छन् । ३८ लाख सामान्य विकलांगताका (हेमिपेरेसिस) साथ जीवन गुजारिरहेका छन् । एक अनौपचारिक अध्ययनअनुसार नेपालमा पनि हरेक वर्ष ५० हजार व्यक्तिलाई मस्तिष्काघात हुने गरेको छ । जसमध्ये १५ हजारको मृत्यु हुन्छ । हृदयाघातपछि मृत्युको दोस्रो मूख्य कारण बनेको मस्तिष्काघात अस्पतालहरुको सघन उपचारकक्ष (आईसीयू) प्रवेशको र विश्वव्यापी विकलांगताको प्रमुख कारण पनि हो ।

अप्रत्यासित रुपमा हुने, तत्कालै ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलांग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्यालाई बेलैमा चिन्न सके यसबाट हुने मृत्युलाई न्यूनीकरण गर्न र रोग लागेर नारकीय जीवन बची रहेकाहरुलाई सामान्य जीवनमा यथोचित पुन:स्थापना गर्न सजिलो हुन्छ । मस्तिष्काघातपश्चात बाच्नेहरुमा देखिने विकलांगता घातले मस्तिष्कलाई पुर्‍याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुदा नष्ट भएका स्नायुतन्तुहरुले गर्ने कार्य नियमित हुन नसक्दा शरीरको एकापट्टि नचल्ने (पक्षाघात) र शरीर, मन र भावनासँग सम्बन्धित समस्यहरु देखापर्छन् ।

कसलाई हुने सम्भावना बढी छ ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्य भएकाहरु, उपरोक्त रोगहरुका औषधि कहिले खाने कहिले छाड्नेहरु, अति व्यास्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या जस्तै, एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्काघातको जोखिम उच्च हुन्छ ।

यसबाहेक रक्तस्रावसम्बन्धी समस्य जस्तै, घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मस्तिष्काघातको इतिहास भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा बढी मस्तिष्काघात देखिएको छ । यसका अतिरिक्त श्रम र व्यायाम सम्मेलित नभएको निष्क्रिय जीवन जीउनेहरु, धूमपान र मद्यपान गर्नेहरु, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एन्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरुप्रति अडिग रहने टाइप ‘ए’ व्यक्तित्व भएका व्याक्तिहरु यो रोगको उच्च जोखिममा पर्छन् ।

मस्तिष्काघातपछिका समस्याहरु
सघन तथा आपतकालीन उपचारपश्चात पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन । बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका विकलांगता देखापर्छ । मस्तिष्काघातले आघात पुर्‍याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो ।

अन्य समस्याहरुमा एकापट्टिको हात खुट्टा वा अनुहारमा झमझमाहट, भारिपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुनु आदि प्रमुख छन् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया