सोमबार, वैशाख १५, २०८२

उपचारका लागि श्रीमतीको हारगुहार, श्रीमान् मदिरामै लठ्ठ !

नेपालखोज २०७८ भदौ १७ गते १८:३८

काठमाडौं । उमेर २० वर्ष, निन्याउरो, दुब्लो तथा रोगी शरीर, हातमा कम तौल भएको दुईमहिने रोगी शिशु । सेतो पानी र रगत बग्ने समस्या थामिएकै छैन । सही नसक्नु गरी पेट दुख्छ । घामपानीको समय छ, कुनै बेला मुसलधारे पानीले सताउँछ त, कुनै बेला रिँगटै लाग्ने गरीको चर्को घाम हुन्छ । रोगका कारण न शिशुले पर्याप्त दूध खान्छ, न त आमालाई नै खाना रुचि हुन्छ । कहिले व्यस्त सडक त, कहिले गल्ली र चोकमा दुईमहिने छोरी च्यापेर उपचार खर्चमा हारगुहार गरिरहेकी हुन्छिन् । यो कष्टपूर्ण दैनिकीको व्यथा हो, हाल काठमाडौंको महाराजगन्जस्थित शिक्षण (टिचिङ) अस्पतालपछाडि सुकुम्बासी बस्तीमा डेरामा बस्दै आएकी लक्ष्मी पहाडीको ।

बर्दिबासकी लक्ष्मीको फेसबुकमा चिनजान भएर ९ महिनाअगाडि सिन्धुलीका पदम खड्कासँग विवाह भयो । तर, लक्ष्मीलाई अझै पदमले घर लगेका रहेनछन् । गाउँमा गरीखाने खेती पनि नभएको र गाँस–बासको पनि समस्या भएकाले पदमलाई उनका बुबाले काठमाडौंतिर केही गरेर बस्नू भनेका रहेछन् । अहिले पदम र उनकी श्रीमतीलाई पर्नुसमस्या परेको छ । गाउँमा घर जाउँ त खानबस्नै समस्या छ । काठमाडौंमै बस्न पनि तत्काल कमाइको उपाय छैन ।

रोगी श्रीमती र रोगी छोरीको अभिभावकका रूपमा उपचार गर्नुपर्ने दायित्व श्रीमान् पदमको हो । लक्ष्मीको समस्या बुझेर कोही दाताहरूबाट सहयोग होस् भन्ने मनसायले हामी रिपोटिङ गर्न उनीहरूको डेरामै पुग्यौं । छिमेकीहरूले लक्ष्मीका श्रीमानको क्रियाकलापमाथि प्रश्न उठाएका छन् । मदिरा सेवनमा लत लागेका पदमले छिमेकीले दिएको सुझाव पनि नमान्ने गरेका छन् ।

स्थानीयका अनुसार पदमले कामको खोजी गरेर दुईमहिने छोरी र श्रीमतीको लालनपालनभन्दा पनि शारीरिक अवस्था कमजोर भएकी श्रीमतीले बिरामी नै बच्चा हातमा लिएर हारगुहार गरेको रकमको नै मदिरा सेवन गरेर दुरुपयोग गर्ने गरेका छन् । एक स्थानीय भन्छन्, ‘यिनीहरूको कतिबेला ज्यान मर्छ भन्ने हामीलाई त्रास भएको छ । श्रीमान् चाहिँले धेरै नै पिउँदा रहेछन् । आफ्नो कतव्र्यतिर ध्यान रहनेछ ।’

पीडित महिलाको समस्या बुझेर सञ्चारमाध्यममार्फत सहयोगी हात जुटाउन नेपालखोज पनि तम्सियो । वास्तवमा लक्ष्मी एकदमै पीडित हुन् । उनले उपचार गर्न नपाएको, कोठामा स्ुत्केरी अवस्थामा खान नपाएको र शिशुले पनि दूधसम्म खान नपाएको तथा उपचार नपाएको यथार्थ हो । तर जुन बेला पनि मादक पदार्थ सेवन गरेर हिँड्दै पदम जिम्मेवार नबनिदिँदा लक्ष्मीको शरीर र उनको छोरीको स्वास्थ्यमा उपचार गर्न नपाएर समस्या बढ्दै गएको हो ।

शरीरमा रगत अभाव भएकी लक्ष्मी आफैंलाई र दुईमहिने छोरीको उपचारका लागि आर्थिक सहयोग माग्दै सडक, चोकमा सकी–नसकी हिँडिरहेकी छन् । तर टिचिङ अस्पतालको पछाडि बस्नुभन्दा पहिलेको घटना हेर्ने हो भने पदमले चाहिनेभन्दा बढी मादक पदार्थ सेवन गरेको, ठगी गरेकोलगायत नराम्रो छवि कायम गरेको नेपालखोजमा लक्ष्मी र पदमको सामग्री प्रकाशनपछि उनीहरूको उद्धारमै खटिएका सुरेन्द्र भट्टले टेलिफोनमार्फत जानकारी दिएका छन् (भट्टले नेपालखोजसँग लामै कुराकानी गरेका छन्) । भट्ट केवानिज क्लब अफ तार्केश्वरका अध्यक्ष पनि हुन् । भट्ट र उनको संस्थाले लक्ष्मी–पदम दम्पतीलाई विभिन्न सहयोग गरेको थियो । ‘अत्यधिक मदिरा सेवन गरी श्रीमतीलाई यातना दिने पदमको व्यवहारकै कारण सहयोग गर्न नसक्ने भन्दै पन्छिएका हौं,’ भट्टले नेपालखोजसँग भने । हामीले बिहान ९ बजेको समयमा अन्तर्वार्ता लिइरहँदा पनि मदिरा सेवन गरेका पदमको छेउमा मुस्किलले बस्न सकिएको थियो ।

पदमकी श्रीमती लक्ष्मीको काखमा सात महिनामै जन्मिएकी रोगी दुई महिनाकी छोरी छन् । जन्मिँदै कम तौल भएकी शिशुको तौल आजभोलि झनै घटेको छ । सुत्केरी हुँदा कष्टपूर्ण अवस्थामा रहेकी उनलाई अस्पतालसम्म जाने पैसा नै थिएन । आफ्नै कोठामा शिशु जन्माइन् । सुत्केरी आमाले पर्याप्त पौष्टिक खाना खानुपर्छ । हातमुख जोर्नै समस्या भएकी लक्ष्मीका लागि पौष्टिक खानेकुरा त धेरै परको कुरा हो । यहाँसम्म कि शिशुलाई दैनिक दूध किनेर खुवाउने पैसोसमेत हुँदैन उनीसँग ।

‘केही साताअघि शिशु बिरामी भएर १५ दिनसम्म कान्ति बाल अस्पतालमा राख्नुपर्यो,’ लक्ष्मी भन्छिन् । छोरीको तौल पाँच सय ग्रामबाट पनि घटेपछि अस्पतालमा १५ दिन आईसीयूमा राख्दा आफूसँग भएको सबै पैसा सकियो, निको नभईकनै अस्पतालले डिस्चार्ज गरिदिएको लक्ष्मी बताउँछिन् ।

लक्ष्मीका श्रीमान् भने पेसाले घर मिस्त्री हुन् । शरीरमा रगतको मात्रा निकै भएकी लक्ष्मीले मुसलधारे पानी र तातो घाम नभनी सडकमा मुस्किलले उभिएर आर्थिक सहयोग माग्ने गरेकी छन् । मागेर उठेको रुपैयाँले आफू र शिशुलाई उपचार गर्नुपर्ने अवस्था त छँदै छ, कामै छाडेर घरै बसेका श्रीमान्लाई पनि पाल्नुपर्ने अवस्था छ ।

‘छोरीको उपचारका लागि टिचिङ अस्पतालनजिकै सुकुम्बासी बस्तीमा सस्तो कोठा लिएर बसेको छु । अहिले काम गर्न पाएको छैन र खोज्दा पनि भेटिएको छैन,’ भन्दै पदम आफ्नो बचाउ गर्छन् । यद्यपि छिमेकीहरूका अनुसार उनी काममा जानुभन्दा पनि श्रीमतीले मागेर जोडेको पैसोले मदिरा खाएर सक्ने गरेका छन् ।

लक्ष्मी सुत्केरी हुँदा त्यति रगत बगेन । तर पछिल्लो समय रगत धेरै बगेकाले बेलुकापख निकै नै पेट दुख्छ उनको । सहन नसकेर तीनचोटि अस्पताल पनि पुगिन् उनी । तर पैसा थिएन । उपचारमा सहयोग गरिदिनुस् भन्दा पनि डाक्टरले जाँच नगरिदिएको लक्ष्मीको गुनासो छ । रगत कम भएर लक्ष्मी निकै कमजोर भइसकेकी छन् । अस्पतालले उपचारका लागि ६ हजार रुपैयाँ धरौटी राख्न भनेपछि अहिले उनी उपचारबाट वञ्चित भएकी हुन् । उनी भन्छिन्, ‘मसँग चार हजार मात्रै थियो । पछि दुई हजार दिन्छुभन्दा पनि चेक नै गरेनन् । पेट दुखेर हैरान हुन्छु, के गर्ने होला ?’

लक्ष्मीका अनुसार अहिले कोठामा रहेको ग्यास सकिन लागेको छ । सहयोगबापत आएको चामल पनि सकिएको छ । भएको पैसा पनि सकिएको छ । मासिक २५ सय भाडा तिरेर डेरामा बस्दै आएकी लक्ष्मी अहिले खानेकुरो किन्ने पैसा कसरी जुटाउने भन्ने पिरलोमै छिन् ।

लक्ष्मीको पीडा तथा समस्याका सम्बन्धमा सञ्चारमाध्यममा समाचार आएसँगै अलिअलि भए पनि सहयोग जुट्न थालेको छ । तर पर्याप्त भनेर छैन । पीडित लक्ष्मीले तत्काललाई उपचार खर्च र खान समस्या भएकाले आफूहरूलाई तत्काल सहयोग गर्न आग्रह गरेकी छिन् । तर पदमको मदिरामै लिप्त हुने बानीले मनकारी सहयोगीबाट प्राप्त रकम सदुपयोग नहुँदा लक्ष्मी झन् पीडित हुनुपर्ने अवस्था छ ।

प्रतिक्रिया