शुक्रबार, वैशाख ७, २०८१

प्यारालाइसिसको उपचार तथा पुन:स्थापना कसरी गर्ने ?

डा. हेमराज कोइराला २०७८ भदौ २० गते ८:१२

मष्तिस्काघात हुनेबित्तिकै सर्वप्रथम आपतकालीन उपचार गराउनुपर्ने हुन्छ । आपतकालीन व्यवस्थापनपछि पुन: मष्तिस्काघात हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । घातपछि देखिएको विकलांगता (पक्षाघातको ) निवारण गर्न पुन:स्थापना नि:तान्त जरुरी छ । सही समयमा पुन:स्थापना हुन सके विकलाङ्ता कम गराएर परनिर्भर हुनबाट बचाइ दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ ।

पुन:स्थापना पनि चिकित्सक, फिजियोथेरापिस्ट, नर्सिङ स्टाफ, स्पिचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्यहरु र सहयोगीहरुको सामूहिक प्रयास हो । पुन:स्थापना कोही उपचार विधिहरु स्थिति हेरेर सघन उपचार कक्षवाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । आपतकालीन व्यवस्थापनपश्चात् पक्षाघात भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन । जतिसक्दो चाँडो पुन:स्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ । केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मष्तिस्काघातले ल्याएको विकलांगतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधिहरुको प्रयोग गर्छन् । तीमध्ये निम्न विधिको यथोचित प्रयोग नि:तान्त जरूरी छ ।

फिजियोथेरापी
भौतिक उपचार विधिहरूलाई आधार बनाएर दिइने यो चिकित्सा पद्धतिको पक्षाघातको पुन:स्थापनामा ठूलो भूमिका छ । यसअन्तर्गत थरीथरीका व्यायाम तथा थरीथरीका विद्युतीय तरंगहरू प्रवाह गराएर गरिने उपचार विधिहरू पर्छन् । प्यासिभ एक्सरसाइज, एक्टिभ असिस्टेड, एक्टिभ रेसिस्टेड पीएनएफ एक्सरसाइज, स्ट्रेचिङ, स्टेन्थेनिङ एक्सरसाइज, ब्यालेन्सिङ एक्सरसाइज, को-अर्डिनेसन एक्सरसाइज, मसल स्ट्युमुलेसन, गेट ट्रेनिङजस्ता उपचार विधिहरू यसअन्तर्गत पर्छन् ।

अकुपंचर
अकुपंचर परम्परागत चाइनिज उपचार पद्धतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतीय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजित गराई उपचार गरिन्छ । पक्षाघातको पुन:स्थापनामा यो विधिको पनि पृथक भूमिका छ । घातको साथ साथै हुने तन्तुहरूको दुखाइ कम गर्न पनि यसले सहयोग गर्छ ।

तेल मालिस
तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह नियमित हुन्छ र रोगी चाँडै लाभान्वित हुन्छ । तर मालिस तालिम प्राप्त व्यक्तिद्वारा नै गराइनुपर्छ । पक्षाघातको प्रकृतिअनुसार मालिसको तरिका छुट्टाछुट्टै हुन्छ ।

प्राकृतिक उपचार
प्राकृतिक तरिकाले, प्राकृतिक सम्पदाको उपयोग गरी गरिने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदि उपचार पद्धतिहरू रोगको प्रकृति र अवस्था हेरेर दिइन्छ । यी उपचार पद्धतिहरुले छालामा रहेका स्नायू रिसेप्टरहरुलाई उत्तेजित गराएर कमजोर मांसपेशीहरुलाई मजबुत बनाउँछन् ।

मनोपरामर्श
पक्षाघात शारीरिक मात्र नभएर मानसिक समस्या पनि हो । मानसिक तथा भावनात्मक अस्वस्थतालाई न्यूनीकरण गर्न मनोपरामर्शको ठूलो भूमिका रहन्छ । मनोपरामर्शका विज्ञद्वारा मनोपरामर्श गराइनुपर्छ।

स्पिच थेरापी
मस्तिष्काघात भएका आधा रोगीहरुलाई बोली जाने समस्या पनि हुन्छ । बोली भएकाहरूको पनि पक्षाघातका कारण बोली अस्पष्ट हुनसक्छ । यसका लागि स्पिच थेरपी गर्नुपर्छ ।

हेरचाह
पक्षाघातले पीडितहरुलाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ। विशेषगरी दिसापिसाबको हेरचाह, कफ र र्‍यालको सम्भार, सफा-सुग्घर राख्नु आदि अत्यन्त जरूरी छ । नर्सिङ केयर र परिवारकै सदस्यले गर्ने केयर यसअन्तर्गत पर्छन् । बिरामीको हेरचाह जति राम्रो भयो त्यति चाँडो सन्चो हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया