जलवायु परिवर्तनले चौतर्फी प्रभाव पार्‍यो : ऊर्जामन्त्री

नेपालखोज २०७८ भदौ २१ गते १२:१५


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छन् ।

निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज (सोमबार) वृक्षरोपण गर्दै खाली स्थानमा वृक्षरोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रह गरिन् ।

यस्तै औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनले नराम्रो प्रभाव पारेको उनले बताइन् ।
नखाएको विष लाग्ने अवस्था रहेको भन्दै मन्त्री भुसालले औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताइन् ।

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको उनको भनाइ छ ।


मन्त्री भुसालले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरिन् ।
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षरोपण गरिएका वृक्षको उचित संरक्षण गरिने आश्वासन दिँदै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिइन् ।

सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षरोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताइन् ।

वडाध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षको संरक्षण गरिने प्रतिबद्धता व्यक्त गरिन् । त्यस अवसरमा इन्द्रायणी उद्यानमा चार दर्जनभन्दा बढी विभिन्न जातका वृक्ष रोपिएका छन् । रासस

प्रतिक्रिया