सोमबार, वैशाख १५, २०८२

‘भाइरल ज्वरो कि कोरोना ? छुट्याउनै मुस्किल’

मीना साउँद २०७८ भदौ २३ गते १३:१३

काठमाडौं । यो समय मौसम परिवर्तन हुने समय हो । गर्मी मौसम सकिएर अब बिस्तारै जाडो मौसम सुरु हुन्छ । यही मौसम परिवर्तन हुने समयमा विशेषगरी भाइरल ज्वरोका बिरामी बढ्छन् । सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जिउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी हुन्छ । यो हावाबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा अझ बढी रहन्छ । यो रोग भाइरसका कारण हुन्छ । अझ भनौं, जब मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ तब भाइरल ज्वरो आउँछ । प्रायः मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरोले सताउँछ ।

भाइरल ज्वरो आएको समयमा मुख बार्ने, धूवाँ, धूलोबाट बच्नका लागि मास्कको प्रयोग गर्ने, भिडमा नजाने गर्नुपर्छ । भाइरल ज्वरोकै कारणले अन्य रोगसमेत लाग्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्‍याउनुपर्छ । भाइरल ज्वरोकै कारणले जन्डिस, टाइफाइड, भाइरल इन्फेक्सन (वाकवाकी, पखाला तथा पेट दुःख्ने) हुनसक्छ । ज्वरो आउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरल बलियो हुन्छ । तर १०/१५ दिनमा ज्वरो ठीक हुन्छ ।

भाइरल ज्वरो वा कोरोना छुट्याउन सकस
विगत डेढ वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण त्रसित नागरिक भाइरल ज्वरोका बिरामी बढेपछि अन्योलमा परेका छन् । विशेषगरी भाइरल ज्वरो र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने भएका कारण पनि भाइरल ज्वरो वा कोरोना के हो भन्ने छुट्याउन नागरिकलाई मुस्किल भएको छ । सरूवा रोग विशेषज्ञ डा. पुनका अनुसार कोरोना संक्रमण र भाइरल ज्वरो एउटै मानिसमा हुने सम्भावना भने कम हुन्छ ।

उनले भने, ‘यो दुईवटै सँगै भएको त एकदमै कम देखेको छु । तर यी दुईवटाको लक्षण धेरै मिल्दोजुल्दो भएको हुनाले छुट्याउन भने गाह्रो हुन्छ ।’ डा. पुन भन्छन् आफूलाई भाइरल ज्वरो हो वा कोरोना संक्रमण यो पत्ता लगाउन भने परीक्षण नै गर्नुपर्छ । योबाहेक कुनै विकल्प छैन । ‘धेरै नागरिकको मानसपटलमा अहिले पनि कोरोना भनेको धेरै घातक हो । यो भयो भने आफूबाट परिवारका अन्य सदस्यमा पनि सर्छ कि भन्ने त्रास छ,’ उनले भने, ‘भाइरल ज्वरो वा कोरोना के भएको भन्ने पत्ता लगाउन यसको एउटै विकल्प परीक्षण हो । नत्र त्यो अनुमान मात्रै गरेर भएन । छुट्याउनका लागि परीक्षण अनिवार्य हो ।’ ज्वरो आइरहेको लामो समय भइसकेको भए भाइरल ज्वरो नै हो भनेर चुप लागेर बस्न नहुने डा. पुनको भनाइ छ । यसो गर्दा पछि बढी समस्या हुन सक्छ । त्यसैले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन उनले सुझाव दिएका छन् ।

भाइरल ज्वरोका लक्षणहरू
–एक्कासि ज्वरो बढ्ने र रोकिने
–चिसो महसुस हुनु
–हल्का खोकी लाग्नु
– घाँटी दुख्नु
– हाँच्छिऊ आउनु
– नाकबाट पानी बग्नु
– टाउको, शरीर तथा हाडजोर्नी दुख्नु
– हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु
– अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु
– आँखा रातो हुनु
– वाकवाकी लाग्नु
– वान्ता हुने, पेट मडारिनु
– झाडापखाला लाग्नु इत्यादि ।

भाइरल ज्वरो सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, ¥याल, सिँगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको अर्को व्यक्तिले सास फेर्दा यो भाइरस सर्छ । यसका साथै बिरामीसँग हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि यो सर्छ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ । अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट पानी बग्ने, हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठ्यारो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरोका कारण शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घण्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।

भाइरल ज्वरोबाट बच्ने उपाय
सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार यो रोग फैलिनबाट रोक्न रोगीले खोक्दा हाच्छ्यु गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो हातले नाक, मुख छोप्ने तथा संक्रमित मानिसले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले हाच्छ्यु गर्दा, खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ । बारम्बार हात धुने र हात सफा राख्ने, बिरामीसँग कुरा गर्दा कम्तीमा एक मिटरको दूरीमा बस्ने, बिरामीलाई बेग्लै राख्ने जस्ता उपायहरू अपनाएर संक्रमणबाट जोगिन सकिन्छ ।

त्यस्तै प्रशस्त मात्रामा मनतातो पानी पिउने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको बाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझ दिनको तीनपटक सेवन गर्ने जस्ता घरेलु उपचार गरेर पनि यो ज्वरो निको पार्न सकिन्छ ।

घरैपिच्छे भाइरल ज्वरोका बिरामी

ज्वरो र शरीर दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ । तर, अन्य रोग पनि हुन सक्ने सम्भावना भएकाले सुरुमै ब्रुफिन जस्ता औषधि भने नखान डा. पुनको सुझाव छ ।

इन्फ्लुएन्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोलिलो खाने कुराहरू खुवाएर जलवियोजन हुनबाट जोगाउनुपर्छ । बिरामीलाई साबिकबमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनुपर्छ । अर्को कुरा भाइरल ज्वरोका बिरामीले प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ तथा मनतातो पानी खाने गर्नुपर्छ । जति बढी मनतातो पानी खायो त्यति नै छिटो पानी रगतमा फैलने र भाइरसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । यसरी भाइरल ज्वरोप्रति सावधानी अपनाएको खण्डमा ज्वरोको नियन्त्रण र सहज उपचार सम्भव छ ।

प्रतिक्रिया