शुक्रबार, वैशाख ७, २०८१

देउवाको गहिरिँदो संकट !

नेपालखोज २०७८ भदौ ३१ गते १७:१२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार निर्माण भएको दुई महिना पुग्न लागिसक्दा पनि सरकारले पूर्णता प्राप्त गर्न सकेको छैन । सरकार अहिले न कुखुरा न हाँसको चालमा देखिँदै छ । सरकारको गति कछुवाको गतिभन्दा पनि सुस्त छ । त्यसमाथि प्रमुख प्रतिपक्षको असहिष्णु र प्रतिशोधपूर्ण व्यवहारले सरकार मात्र गहिरो संकटमा परेको छैन मुलुक नै दुर्घटनातर्फ धकेलिएको छ ।

सरकार गठन भएको यतिका दिन बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता नपाउनु विडम्बना नै मान्नुपर्छ । यो मुलुकको दुर्भाग्य पनि हो । किनभने अहिले यही कारणले सरकारको कामकाज प्रभावित हुन थालेको छ । मन्त्रिपरिषद्‌ले पूर्णता प्राप्त गर्न नसक्नुमा सत्ता गठबन्धनका दलहरु आफैं जिम्मेवार छन् । ती दलहरुभित्र आन्तरिक सहमति कायम हुन नसक्दा वा मन्त्री हुने नचाहिँदो होडले माओवादी, नवगठित नेकपा (समाजवादी) तथा जसपाले प्रधानमन्त्रीले बारम्बार मन्त्रीहरूको नाम दिन आग्रह गर्दा पनि आलटाल गरिरहेका छन् । त्यसको भुक्तमान मुलुकले बेहोर्नुपरिरहेको छ । यो निकै लाजमर्दो र विडम्बनापूर्ण स्थिति हो ।

अर्कातिर प्रमुख प्रतिपक्षले संसद्‌मा देखाइरहेको व्यवहारले देशको संविधान र संसदीय मर्यादाको खिल्ली उडाएको छ । आन्तरिक कलह मिलाउन नसकेर पूर्ण बहुमतको सरकार गुमाएर प्रतिपक्षमा झरेको नेकपा एमालेको प्रतिशोधपूर्ण व्यवहारले देशलाई गम्भीर मुठभेडतर्फ धकेलेको छ । विधिको बेवास्ता र आग्रहपूर्ण आचरणले प्रजातान्त्रिक प्रणाली र अन्तत: मुलुकलाई नै नोक्सान पुर्‍याउँछ भन्ने कुरामा प्रमुख प्रतिपक्षले समयमै दृष्टि पुर्‍याउन सक्नुपर्छ । प्रजातान्त्रिक प्रणालीमा प्रतिपक्षलाई गैरजिम्मेवार हुने छुट हुँदैन ।

यी सबैका बीच प्रधानमन्त्री देउवाका समस्याहरु बढ्दै गएका मात्र छैनन् उनी गम्भीर संकटमा फस्दै गएको समेत देखिएको छ । यस्तो बेला प्रधानमन्त्रीले देखाउने चातुर्यता, गम्भीरता, कूटनीतिक व्यवहार, जिम्मेवारिता आदिले नै संकटबाट पार लगाउन सक्छ । संवाद अनि वैधानिक बाटोबाट मात्रै यसको समाधान निस्कन सक्छ ।

मुलुकलाई नै बन्दी अवस्थामा पुर्‍याउने माथि उल्लेखित दुवै प्रसंगमा प्रधानमन्त्रीले अग्रसरता लिएर जतिसक्दो चाँडो यो अन्योल र अनिश्चितताको वातावरण अनि गतिहीनताको अन्त्य गर्नुपर्छ । प्रधानमन्त्रीको क्षमताको परीक्षा हुने बेला पनि यस्तै हो । अर्कातर्फ गठबन्धन दलका सहयात्रीहरुले सरकारको समग्र गतिविधि र जस-अपजसमा आफू प्रत्यक्ष सहभागी हुने कुरा बुझेर सरकारलाई सरल मार्गमा डोर्‍याउने कुनै कसर बाँकी राख्नु हुँदैन । आज उनीहरु आफ्नैको व्यवहारले सरकार अक्षम र लाछी साबित हुने दिन नजिकिँदै जानु दुर्भाग्यपूर्ण कुरा हो ।

प्रतिक्रिया