बिहीबार, चैत १५, २०८०

अतृप्त नजर

आचार्य प्रभा २०७८ असोज २ गते १३:५१

म छतमा लुगा सुकाउँन जाँदा होस् वा बरण्डाका गमलाहरुमा पानी हाल्न जाँदा होस्। पल्लो घरमा बस्न आउँने ती अधबैंशे लोग्नेमान्छेको नजर ममाथी परेकै हुन्थ्यो। दिनहुँको उस्को त्यस्तो हर्कतले म आजित भई सकेकी थिएँ। मलाई लाग्न थालेकोथ्यो कि,-“अब पनि त्यो मानिसको हर्कत त्यस्तै भएमा म साफ्फी झपार्छु।”भन्ने।

समय बित्दै गइरहेको थियो। उक्त ब्यक्तिको हेराईले म वाक्क भईसकेकी हुनाले आज भने म उसरी नै छतमा लुगा सुकाउन चढें। लुगा सुकाउँने कार्यभन्दा मेरो मनशाय चाहीँ उक्त व्यक्तिलाई गाली गर्नु थियो। किनकी मेरो मनमा उक्त व्यक्तिप्रति यति घृणा पलाएको थियो कि,मैले उस्लाई गाली गर्ने शब्दहरु पनि यस्तो सोंचेकी थिएँ। जुन शब्दहरुको प्रहार सायदै सहन सक्थ्यो होला उक्त व्यक्तिले।

म,छतमा चढें लुगा सुकाउँने बाहानामा तर निक्कैबेरसम्म पनि उक्त व्यक्ति देखा परेन। सोंचें -“सायद गईसक्यो होला।” केही समयपश्चात एउटी महिला निस्किईन् बाहिर। उनको मुहार अँध्यारो थियो। मैले असहज मान्दै सोधें। -“त्यहाँ एकजना नयाँ व्यक्ति देखिनु हुन्थ्यो। आज देखिनु हुन्न त ?”

उनले जवाफमा भनिन्। -“केही समयलाई आउँनु भाथ्यो। सानैमा उनकी छोरी छुटेकी थिईन् रे। खै!कस्ले हो ? यही ठाउँमा हुनुपर्छ भनेर भनेकाले कतै भेटिन्छ कि ! भनेर आएका रे। उसका परिवारमा कोही छैनन् रे। श्रीमती पनि पोहोर मात्र बितिन् रे। श्रीमतीले अन्तिम स्वाससम्म जसरी पनि छोरीलाई खोज्नु, भनेकीले खोज्दैछु भन्दै हुनुहुन्थ्यो। साथमा आमाछोरीको तस्बीर लिएर आउँनु भएको थियो बिर्सेर जानु भएछ। “

उनको कुराले म झस्किएँ। म हठातकोसाथ ऊ’भएतिर कुदें र उक्त तस्बीर हेर्न माँगें। तस्बीर हेरेपछी म किङ्ग्कर्तब्यबिमूढ बनें।मेरा आँखाबाट आँसुको भेल बग्यो। तस्बिर हातबाट छुटेर भुँईमा झर्दा मात्र म झस्किएँ।

जब मेरो टाउकोमा उनले सुम्सुम्याईन् तब म झस्किएँ र पश्चातापमा डुबें। मैले आफ्नै बाबुको नजरप्रती एक पराईलोग्ने मान्छेको कुदृष्टिको सोंच पालेकीले। -“लाग्यो सबै लोग्ने मान्छेको नजरमा नारीप्रतिको कामवासना मात्र कहाँ हुँदो रहेछ र ? छोरीप्रतिको अतृप्त नजर पनि हुँदो रहेछ। “भनेर। एक मनले ढुक्क भएँ। -“कसो ! मैले घृणित अपशब्दहरु आफ्नै बाबुप्रति प्रहार गरिनँ ?” भनेर। अनि म निशब्द बनेर फर्किएँ आफ्नो कोठातर्फ।

प्रतिक्रिया