बिहीबार, चैत १५, २०८०

‘अहिलेकै अवस्थामा विद्यालय खोल्नु मूर्खता’

संक्रमणको समयमा बच्चाको ज्यान जोगाउन सकेनौं भने भोलि कसलाई पढाउने हामीले ? कोसँग फिस लिने ? ती विद्यार्थीहरूमाथि भएको अन्याय कसले भोग्ने ?

नेपालखोज २०७८ असोज ३ गते ११:१८

बालबालिका यस्तो जोखिममा रहेको समयमा विद्यालय खोल्छौं भन्नु नाजायज हो । किनभने पहिलेदेखि नै हामीले भनेको यत्रो लामो समय विद्यालय बन्द गरेर चाडबाडको समयमा बढी चहलपहल हुन्छ । बालबालिका पनि चाडको रमझममा हुन्छन् । विद्यालय खुल्नु हुन्न भन्दा-भन्दै १५/२० दिनका लागि विद्यालय खोलेर सरकारले खाली नाटक गरेजस्तो मात्रै गरेको छ ।

यतिका लामो समयसम्म त हामीले विद्यालय बन्द गर्‍यौं । अब थोरै समय पर्खेर चाडपर्वपछि खोल्न उपयुक्त हुन्छ भनेका थियौं । अहिले त कस्तो देखिएको छ भने नगरपालिकाहरू अक्षम देखिए । नगरपालिकाहरूले आफूखुसी तथा संस्थागत विद्यालयहरूको दबाबमा विद्यालय खोल्ने निर्णय गरेका हुन् । यो निर्णय गर्नुपछाडिको स्वार्थ शुल्क उठाउनु हो । अब यो समयमा उनीहरूलाई धमाधम शुल्क उठाउने मौका मिल्छ । उनीहरूले शुल्क उठाउनु छ भन्दैमा बालबालिकाको ज्यान जोखिममा राख्न पाइन्छ ? त्यसैले पनि अहिले उनीहरूले विल्कुलै गलत काम गरिरहेका छन् ।

हामीले पहिलेदेखि नै भनिराखेका थियौं कि विद्यालय सञ्चालन गर्ने हो भने विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोपको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई किन भ्याक्सिन दिइएन । अहिले त ठूलाभन्दा पनि साना बालबालिकामा बढी जोखिम छ । उनीहरूलाई सोसल डिस्टेन्स भन्ने नै थाहा छैन । विद्यालयमा उनीहरूले के सुरक्षा मापदण्डको पालना गर्छन् ? त्यसैमा यतिबेला विद्यालय खोल्छौं भन्नु नै मूर्खता हो ।

अर्को कुरा सरकारले त निर्णय गर्दियो । आफ्ना बालबालिका विद्यालय पठाउने वा नपठाउने भन्ने कुरा अविभावकको हातमा छ । सबै अविभावकहरूले अहिलेको गाम्भीर्यतालाई बुझ्न जरुरी छ । अहिले बालबालिकाको ज्यान महत्त्वपूर्ण हो कि शिक्षा ? होलान् कोही-कोही अविभावकहरू घरमा बसेर बच्चा चकचक गर्छ, पढ्दैन, विद्यालय पठाउन पाए हुन्थ्यो, विद्यालय पठाउन पाए झमेला नै हुन्थेन भन्ने सोच्ने अविभावकहरूलाई म के भन्छु भने तपाईंलाई आफ्ना बालबालिको ज्यान प्यारो छ कि पढाइका लागि आफ्नो बच्चालाई प्रोत्साहन गर्नुहुन्छ ? सबै अविभावकका लागि पहिलो प्राथमिकता त आफ्नो बच्चको जिउ-ज्यानको सुरक्षाकै होला पक्कै पनि ।

यदि बालबालिकाको सुरक्षा पहिलो प्राथमिकता हो भने यस्ता निर्णयका पछाडि लाग्न अविभावकलाई आवश्यक नै छैन । भोलि तपाईंको बच्चा बिरामी भयो अथवा संक्रमण भयो भने त्यतिबेलाको पीडा अविभावकहरूले खप्न सक्नुहुन्न । बालबालिकालाई संक्रमण भएपछिको पीडा अहिले बालबालिकाले पढ्न नपाउँदाको पीडाभन्दा तीन गुणा बढी हुन्छ । त्यसकारण बच्चालाई विद्यालय पठाउन पाए हुन्थ्यो भनेर खुसी हुने अवस्था छैन ।

अर्को कुरा जनस्वाथ्यविदहरूका अनुसार असोजको दोस्रो, तेस्रो सातादेखि नेपालमा फेरि संक्रमणको जोखिम बढ्न सक्छ । यसरी सचेत गराउँदा गराउँदै भोलि कुनै पनि बालबालिकामा संक्रमण भइहाल्यो भने जुनजुन विद्यालयमा त्यस्तो समस्या आयो त्यो विद्यालय नै नरहन सक्ने अवस्था आउन सक्छ । अविभावकहरू चुप लागेर बस्दैनन् । आक्रोशमा जे पनि हुन सक्ने अवस्था आउन सक्छ । हो कतिपय थोरै विद्यार्थी भएका विद्यालयहरू छन् । ती विद्यालयहरूले कडा निगरानीमा बालबालिकालाई सिफ्टअनुसार पढाउन सक्छन् भने बेग्लै कुरा हो तर यहाँ त धेरै विद्यार्थी भएका विद्यालयहरू नै छन् त्यहाँ बालबालिकालाई स्वास्थ्य सुरक्षा दिएर पढाउँछौं भनेर सम्भव छ ? यहाँ विद्यालयहरूमा त्यो क्षमता नै छैन । बढी विद्यार्थी भएका विद्यालयहरूले कसरी अध्ययन अध्यापन गर्ने त्यो विषयमा अनुगमनै नगरी सोझै सूचना निकालेर विद्यालय खोल्न भन्छन् भने यो भन्द गैरजिम्मेवार अरू काम केही हुनै सक्दैन ।

अविभावकलाई शिक्षाभन्दा सुरक्षाको भय !

हामीले सम्बन्धित पक्षसँग यही विषयमा बारम्बार संवाद गरेका छौं । उहाँहरूले एउटै दलिल के दिइराख्नुभएको छ भने शिक्षकहरूले तलब पाएनन् । उहाँहरूलाई पनि हेर्नुपर्‍यो । हुँदाहुँदा विभिन्न संघ-संस्थाहरूलाई देखाउनुहुन्छ र भन्नुुहुन्छ, उहाँहरूले मानिसक्नु भयो, तपाईंहरू मात्रै मान्नुहुन्न । तर, हाम्रो पहिलो प्राथमिकता भनेको बच्चाको ज्यान हो । यो संक्रमणको समयमा बच्चाको ज्यान जोगाउन सकेनौं भने भोलि कसलाई पढाउने हामीले ? कोसँग फिस लिने ? ती विद्यार्थीहरूमाथि भएको अन्याय कसले भोग्ने ? यस्ता यावत् कुराहरू छन् ।

यस्तो जोखिम देख्दादेख्दै विल्कुलै गलत कामहरू भइरहेका छन् । यसको निर्क्योल निकाल्ने जिम्मा भनेको केन्द्रीय सरकारको हो । यतिबेला केन्द्रीय सरकारै मौन छ । केन्द्रीय सरकार नै प्रमुखविहीन छ अहिले । कुन क्षेत्र संवेदनशील छ र त्यहाँ कुन व्यक्तिले कसरी काम गर्नुपथ्र्यो त्यो अवस्थाको सिर्जना पनि गरिएको छैन । हामीले कसलाई सुनाउने ? हामीले त हाम्रा आवाजहरू उठाइरहेका छौं तर कहीँकतैबाट पनि सुनुवाइ भएको छैन । अन्त्यमा फेरि पनि दोहोर्‍याउँछु । कुनै पनि अविभावकहरूले यो समयमा आफ्ना बालबालिका विद्यालय पठाएर बालबालिकाको ज्यान जोखिममा नराख्नुस् । बालबालिका सुरक्षित रहे भोलि फेरि पनि शिक्षा दिउँला अहिले हतार नगरौं ।
(अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया