आइतबार, जेठ ६, २०८१

नेपाली माटोका गायक यी गन्धर्वहरू

सुनिल उलक २०७९ फागुन २० गते १०:००

गन्धर्वहरूको इतिहास वास्तवमा खोजिएको छैन । गन्धर्व यहीँका रैथाने हुन वा राजस्थानबाट ११ औ शताब्दीमा नेपाल छिरेका हुन यकिन भइसकेको छैन । तर १२औँ शताब्दी पछिका खोजको आधारमा यिनीहरूको मुख्य बसोबास क्षेत्र भने लमजुङ र गोरखा वरपरको क्षेत्र नै हो । यहीँबाट बिस्तारै पश्चिम लागेको भेटिन्छ भने बिस्तारै पूर्व पनि पुगेको भेटिन्छ । तर पूर्व पुग्दा पनि र पश्चिम पुग्दा पनि यिनीहरूको सारङ्गीको ताल र गीतको सुर भने क्रमशः लम्बिएको भेटिन्छ ।  

पोखरामा भने गन्धर्वको प्रवेश कास्कीका राजा सिद्धिनारायण शाहको पालामा १८औ शताब्दीमा भएको हो । कास्कीका राजा सिद्धिनारायण शाहले आफ्नो ससुराली बाटुले चौरमा हिउँदे दरबार बनाए पछि दरबारको मनोरञ्जनको लागी गन्धर्वहरूलाई लमजुङबाट ल्याएर बाटुले चौरमा नै बसोबासको प्रबन्ध मिलाइ दिएका थिए । 

भनिन्छ त्यति बेलाका राजाहरूले यी गन्धर्वहरूलाई जासुसको रूपमा प्रयोग गर्दै अर्को राज्यमा पठाउँथे । सारङ्गी रेट्दै गीत गाउँदै त्यो राज्यको दरबार सम्म पुग्दथे । दरबार को जानकारी बटुली पुन आफ्नो राजालाई वर्णन गर्न आइपुग्थे ।

मसँग गन्धर्वहरूका गीतहरूको पुरानो सङ्कलनहरू पनि छन् । विभिन्न सवाईहरू र कर्खाहरू सहितको सङ्ग्रहमा जङ्गबहादुरको सवाई, भोटको सवाई, जङ्गबहादुरको लखनउ कुच, चन्द्रशमशेरको बेलायत यात्रा, २०१६ मङ्सिर २४ गते राजा महेन्द्रको पोखरा यात्राको कर्खा धेरै गीतहरू छन् । झलकमानका बुबा दुर्गा मिजार, गोकुल गाइने, मगर गाइने, झलकमान आदिले गाएका ६०(६५ वर्ष पुराना सारङ्गीका धुन र गीतहरू सङ्ग्रहमा छन् ।

यी सबै तस्बिरहरू राष्ट्रिय लोकबाजा सङ्ग्रहालय, त्रिपुरेश्वरको गन्धर्व ग्यालरीमा सजिएको छ ।

प्रतिक्रिया