बिहीबार, वैशाख ६, २०८१

सामाजिक सेवाका नाममा हुने विकृतिमाथि लगाम लगाऊ

नेपालखोज २०७८ असोज १० गते १२:१७

दान वा समाजसेवाका सन्दर्भमा हाम्रो एउटा परम्परागत मान्यता के थियो भने एउटा हातले दिएको दान अर्को हातले थाहा नपाओस् । यद्यपि अहिले नेपालमा समाजसेवा वा दानको अर्थ पूरै बदलिएको छ । स्पष्ट रुपमा भन्नुपर्दा नेपालमा समाजसेवाको क्षेत्रले विकृत रुप ग्रहण गरिसकेको छ । समाजसेवा रोजगारिमा परिवर्तन भएपछि विकृति मौलाउनु अस्वभाविक पनि होइन । त्यसबाहेक यो व्यक्तिको आत्मप्रचार वा विभिन्न अपराध ढाकछोप गर्ने माध्यमका रुपमा विकसित हुनु निश्चय पनि विडम्बना र दु:खको कुरा हो । नेपालमा अहिले केही अपवादलाई छाडिदिने हो भने समाजसेवाको समग्र क्षेत्र नै विकृति र विसंगतिको थुप्रोमा परिणत भएको छ । जसमा सरकारी नियामक निकाय समाज कल्याण परिषद्‌समेत अछुतो छैन । समाजसेवाका नाममा झाँगिएको अर्को रुप धर्म प्रचार वा धर्म परिवर्तनका रुपमा समेत अगाडि आएको छ । राज्यको फितलो अनुगमन एकातिर छँदै छ, जसले पनि जहाँ पनि, जहिले पनि सामाजिक गतिविधिका नाममा जेसुकै गर्न पाउने छुट नेपालमा मात्र होला ।

समाजसेवाका नाममा हुने गलत क्रियाकलाप बेला-मौकामा सार्वजनिक हुँदै आए पनि नियामक निकायको अनुगमन र कारबाही फितलो भएकाले यो क्षेत्र दण्डविहीन क्षेत्रजस्तो मात्र भएको छैन यसमा अनेकन असंगतिहरुले फल्ने-फुल्ने मौका पाएका छन् भने यो क्षेत्र पूरै आयमूलक व्यवसायमा परिणत भएको छ भन्दा अतिसयोक्ति हुँदैन । समाजसेवामा समाजले कम अनि सम्बन्धित व्यक्तिले बढी पाउने स्थितिमा त्यो समाजसेवा, समाजसेवा रहँदैन ।

आफ्नो सम्पूर्ण पेसा-व्यवसाय नै छोडेर समाजसेवामा होमिएका धुर्मुस-सुन्तली (सीताराम कट्टेल-कुञ्जना घिमिरे) हुन वा अरु जो कोही त्यसका पछाडि उनीहरुको निहित स्वार्थ के छ भन्ने कुरा जहिले पनि अहम् हुन्छ । गलत महत्त्वाकांक्षा वा मनसायमा जन्मने समाजसेवाले समाजसेवा हुने होइन कि समाजसेवा जस्तो पवित्र चिजलाई नै कलंकित तुल्याउँछ अनि समाज र मुलुकलाई गलत बाटोतर्फ लिएर जान्छ ।

धुर्मुस-सुन्तली हुन वा श्वेता खड्का नेपाली कलाकारहरु समाजसेवामा लागेर उदाहरणीय बन्न खोज्दा बेलाबेलामा विवादमा तानिएका छन् । राज्यले गर्ने काम आफैं गर्न तम्सिँदा वा अरुसँग पैसा उठाएर समाजसेवी बन्न खोज्दा समस्या सिर्जना हुनु वा विवादमा तानिनु स्वभाविक हो ।

नेपालको सन्दर्भमा अब यस्तो समाजसेवामा लगाम लगाउनै पर्छ । राज्यले कानुन सुधारेर तथा चुस्त अनुगमनका माध्यमबाट समाजसेवाको क्षेत्रमा देखिएका विकृति-विसंगति नियन्त्रण गर्न ढिलो भइसकेको छ ।

प्रतिक्रिया