बिहीबार, वैशाख २०, २०८१

संकटमा को ?

हाम्रो वरिपरि भइरहेका घटना-परिघटना हेर्ने हो भने जलवायु परिवर्तनको असर बढेको छ ।

मीना साउँद २०७८ असोज १३ गते १४:०९

काठमाडौं । जलवायु संकटपूर्ण अवस्थामा पुगेको छ । सामान्य भाषामा भन्ने हो भने लामो समयदेखिको हावा, पानी, तापक्रममा आएको परिवर्तनको औसतलाई जलवायु परिवर्तन भनिन्छ । विश्वभरि बढ्दै गएको तापक्रमले यतिबेला पृथ्वीमा द्रुत जलवायु परिवर्तन भइरहेको छ ।

मानिसको गतिविधिका कारण कार्बन–डाइअक्साइड उत्सर्जनमा आएको बढोत्तरीले तापक्रम बढ्दै जानु, चरम मौसम र हिउँ तीव्र पग्लिनुलगायत कारणले यतिबेला विश्वको जलवायु संकटपूर्ण अवस्थामा पुगिसकेको छ । जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार अहिलेको अवस्था जलवायु परिवर्तनबाट जलवायु संकटको अवस्थामा पुगिसकेको अवस्था हो ।

यस वर्ष जर्मनीमा आएको ६० वर्षयताकै ठूलो बाढी, चीनमा आएको बाढी, अमेरिकाको न्युयोर्कमा आएको आँधी, नेपालको मेलम्चीमा आएको बाढी र उच्च हिमाली क्षेत्र मनाङमा आएको बाढी यी सबै कुराको विश्लेषण गरेर हेर्ने हो भने अब संसारको जलवायु परिर्वनको वहस जलवायु परिवर्तन मात्रै नभइ जलवायु संकट उन्मुख भएको र त्यो संकट मोचनका लागि गर्नुपर्ने काममा मानवजाति केन्द्रित हुनुपर्छ भन्ने सन्देश दिइसकेको छ ।

आईपीसीसीको रिपोर्टले पनि संसारको जलवायु संकटपूर्ण अवस्थामा रहेको पुष्टि गरिसकेको प्रकोप विज्ञ डा. उप्रेतीले बताए । तापक्रम बढ्यो, पानी पर्ने तरिकामा पनि परिवर्तन भयो, ग्लोबल–वार्मिक कन्फर्म गर्यो र तापक्रम यसरी बढिरहेको छ कि नेपालले ग्लोबल टेम्प्रेचर १.५ डिग्री राख्नुपर्छ भनेर कमिटमेन्ट गरेको छ विश्वसामु । तर, अहिले टेम्प्रेचर १.५ डिग्रीमा राख्न सकिँदैन भन्ने कुरा लगभग निश्चित भइसको छ । १.५ डिग्री टेम्प्रेचर मात्रै ग्लोबल बढ्दा धेरै जनधनको क्षति हुने, पशुपालनको क्षति हुने, पानी पर्ने तरिकामा परिवर्तन आई कतै एकदमै बढी पानी पर्ने र कतै पानी नै नपर्ने समस्या सिर्जना हुने आईपीसीसीको रिपोर्टको सारांशले देखाएको छ ।

प्रकोप विज्ञ डा. उप्रेतीले भने, ‘अहिले जलवायु परिवर्तनको बहस सामान्य रूपमा लिइएको छ । कसैकसैले यसलाई मजाकका रूपमा पनि लिने गरेको पाइन्छ । तर, जलवायु परिवर्तनको असरलाई कृषि क्षेत्रमा हेर्ने हो भने कृषि प्रणालीमा ह्रास आएको छ । वनका वनस्पतिहरू र वनको पारिस्थितिय प्रणालीमा असर परेको छ । वनमा पाइने वनस्पति, जडीबुटीहरू लोप हुँदै गएको अवस्था छ । नेपालमा मात्रै पाइने जीवजन्तुहरूको संख्या पनि घट्दै गइरहेको अवस्था छ । यी सबै कुराले जलवायु परिवर्तन संकटपूर्ण अवस्था पुगेको प्रस्ट हुन सकिन्छ ।’ डा. उप्रेतीका अनुसार जलवायु परिवर्तनको असरले जुन रैथाने प्रणालीबाट कृषि गरिँदै आइएको थियो त्यो लोप लोप हुँदै गएको छ । किनभने जुन जलवायुमा पहिला कृषि हुन्थ्यो त्यसमा अब खेती नहुने भएपछि अब नयाँ बाली प्रतिस्थापित गर्नुपर्ने अवस्था आइसकेको छ । यसले खाद्य संकट पनि ल्याउन सक्ने ठूलो संकेत देखाइसकेको छ ।

आईपीसीसीको रिपोर्टले अर्को के पनि देखाएको छ भने सन् २०२१ मा मात्रै जसरी संसारभर आगलागी भएको छ त्यसले एकमुष्ट रुपमा ब्ल्याक कार्बनको मात्रा बढेर टेम्प्रेचर बढ्नुमा त्यसको ठूलो भूमिका रहेको औंल्याएको छ । समग्रमा हाम्रो वरिपरि भइरहेका घटना परिघटनालाई हेर्ने हो भने जलवायु परिवर्तनको असर बढेको छ । यसलाई समयमै समाधान गर्न नसकिए मानव सभ्यतामाथि नै प्रश्न उठाउने र त्यसलाई नै संकटमा पार्ने देखिएको छ ।

जलवायु परिवर्तनलाई रोक्न के गर्ने ?
–जुनजुन क्षेत्रबाट कार्बन उत्पन्न भइरहेको छ, जस्तो पेट्रोल/डिजेलको प्रयोग गरिरहेका छौं भने त्यसको विकल्पको रुपमा इलेक्ट्रिक भेहिकलमा जाने ।
–जति सक्दो वन विनाश हुनबाट रोक्ने
–आफू वरिपरिको वातावरणलाई जलवायुमैत्री बनाउने
–जति सक्दो बोट–बिरुवाहरू रोप्ने
–प्लास्टिकजन्य वस्तुको कमै प्रयोग गर्ने ।

जलवायु परिवर्तनमा आममानिसले खेल्नुपर्ने भूमिका
आममानिसको गतिविधिले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा योगदान पुर्याएको कारणले हाम्रो वातावरणले कष्ट भोग्नुपरिरहेको छ । समुद्र, भूमि, हावा, बोटबिरुवा, जनावरहरू तथा सूर्यबाट आउने ऊर्जा, सबैले एक–अर्कालाई प्रभाव पार्छन् । पृथ्वीको जलवायु र पारिस्थितिक प्रणालीको हामी सबैले ख्याल राख्नु आवश्यक छ । सबैले कार्बन उत्सर्जनलाई काम गरेर र दिगो जीवन–शैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तन हुनबाट केही दहसम्म मद्दत गर्न सक्छौं ।

प्रतिक्रिया