शुक्रबार, वैशाख १४, २०८१

‘म ठीकै छु, देश बिरामी छ’

नेपालखोज २०७८ असोज १६ गते १५:२२

नन्दप्रसाद रूपाखेती २०६३ वैशाख ७ गतेको जनआन्दोलनमा लाठी चार्ज गरिँदा घाइते भए । २४ वटा टाँका लगाइएको उनको टाउकोमा लाठी प्रहार हुँदाको असर अहिले पनि उस्तै छ । प्रधानमन्त्री फेर्नभन्दा पनि व्यवस्थासँगै व्यवहार परिवर्तन गर्न आफूहरू लडेको उनी बताउँछन् । नेपालखोजका लागि केशव भट्टराईले जनआन्दोलनका घाइते रूपाखेतीसँग तपाईंहरूको सपना कत्तिको पूरा हुँदै छ छ ?, देश बनाउन राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्छ ? लगायत प्रश्नको सेरोफेरोमा रहेर भिडियो वार्ता गरेका छन् । प्रस्तुत छ रूपाखेतीसँगको कुराकानी :

हाइलाइट्स
– म २०६३ वैशाख ७ गते सुरक्षाकर्मीले मेरो टाउकोमा लाठीचार्ज गर्यो । २४ वटा टाँका लगाइएको छ । बेलाबेला टाउकोमा पानी लगाउनुपर्छ । उत्तानो परेर नसुतेको १६ वर्ष भयो । औषधि नखाएर निदै्र लाग्दैन । म ठीकै छु । देश भने बिरामी छ ।
–०६२–६३ मा लोकतन्त्र आएको दिन हामी खुसी थियौं, भोलिपल्टदेखि दुःखी हुँदै गएका छौं । नेताहरूमा सत्ता र भत्ताको लोभ मात्रै छ । जनआन्दोलनका घाइतेहरू कसरी बसिरहेका छन्, कसरी बाँचिरहेका छन् भन्ने राज्यले खोजी गरेको छैन । जनआन्दोलनका घाइतेहरूले जीवनमरणको दोसाँधमा काल पर्खेर बस्नुपर्ने अवस्था छ ।
–म एउटा उद्योगमा मजदुरी गर्छु । त्यहाँ मेरो स्वास्थ्यले सक्ने खालको रोजगारी गर्दै छु । दैनिक तीन सयको औषधि नै खानुपर्छ । साथमा श्रीमती र एक छोरा छन् । गाउँ जाउँ त घरजग्गा छैन । काठमाडौंमा गाह्रो भएको छ परिवार चलाउन ।
–१३ हजार घाइतेमध्ये पाँच हजारले मात्रै परिचयपत्र पाएका छन् । जनआन्दोलनका घाइते कहाँ छन् भन्ने राज्यलाई थाहै छैन । गणतन्त्र त देशमा आयो तर जनआन्दोलन भएको थियो र ? भन्छन् नि भन्ने डर हामीलाई लागेको छ ।
–जनआन्दोनमा धेरैले बलिदानी दिए, घाइते भए । त्यही जगमा टेकेर ठूलो ओहोदामा पुगेकाहरू महँगा गाडी र हेलिकोप्टर चढ्छन् । तर जनआन्दोलनका घाइतेले भने २ रुपैयाँको सिटामोल पनि खान पाएका छैनन् ।
– ‘नयाँ नेपाल बन्छ भनि छाती थापीथापी’ बोलको गीत गाउँदा गाउँदै ममाथि लाठी चार्ज भएको हो । बद्री पंगेनी पनि सँगै हुनुहुन्थ्यो । मेरो भोलिपल्ट मात्र होस् खुलेको थियो ।
– जनआन्दोलनमा दुवै आँखा गुमेको रमेशकुमार राई हुनुहुन्छ । अध्यक्ष आशिष र मैले विभिन्न संघ–संस्था र व्यक्तिसँग आग्रह गरेर उहाँलाई सहयोग गरिरहेका छौं । लगभग २२ जना घाइतेको घरमा अहिले पनि खानलाउन समस्या छ । लकडाउनका बेला धेरै समस्या भयो ।
–गणतन्त्र र संविधान दिवस आउँदा हामीलाई निद्रै लाग्दैन । राज्यले बोलाएर केही कुरा गर्छ कि भन्ने हुन्छ । अहँ पटक्कै हुन्न । घाइतेहरूलाई बोलाएर पीडा बुझे मात्र पनि संविधान दिवस र गणतन्त्र दिवस मनाएको सार्थक हुन्थ्यो होला ।
–प्रधानमन्त्री फेरिरहँदा जनआन्दोलनका घाइतेहरूको मन दुखेर आउँछ । प्रधानमन्त्री फेरिरहन हामी लडेका थिएनौं । व्यवस्थासँगै व्यवहार परिवर्तन गर्न लडेका थियौं । लोकतन्त्रमा गरिब–दुःखीले राहत तथा अधिकार पाउनुपर्ने हो । तर नेता आफैंले लिएरचाहिँ उल्टो भएको छ ।
–सिंहदरबार छिर्न पाउने जनआन्दोलनका घाइतेको अधिकार हो । तर परिचयपत्र देखाएर मरिहत्ते गर्दा पनि दिँदैनन् । अहिलेसम्म १२ जना प्रधानमन्त्री भए । एकजनासँग पनि आफ्नो गुनासो राख्न पाएका छैनौं ।
–सधैं मनभरि पीडा आँखाभरि आँसु बोकेर हिँड्नु परेको अवस्था भोग्नुभन्दा जनआन्दोलनमैं सहिद भएको भए हुन्थ्यो ।
–सरकारले परिचयपत्र पाउने सबै घाइतेलाई मासिक भत्ता तथा रोजगारीको अवसर देओस् । आयोग गठन गरेर घाइतेको प्रतिनिधित्व गराइयोस्, जनआन्दोलनको दमन गर्नेलाई बढुवा होइन, कारबाही गरियोस् । देशमा भ्रष्टाचार हटाइयोस् । अहिलेको सरकारमा रहेकाहरूले जनआन्दोलनका घाइतेहरूका यी मागहरू सम्बोधन गरोस् ।

प्रतिक्रिया