शनिबार, वैशाख ८, २०८१

‘हो, त्यसो भए म खाँटी प्रतिगामी हुँ’

वामपन्थी भन्दा त लाज लाग्नुपर्ने हो तर यहाँ त्यसैलाई गर्वको विषय बनाइएको छ ।

नेपालखोज २०७८ असोज १९ गते १२:५१

पहिले कम्युनिस्ट विचारबाट प्रभावित देवप्रकाश त्रिपाठी २०४७ सालपछि नेपाली कांग्रेसमा आबद्ध भए । राजनीतिसँगै पत्रकारितामा समेत लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार त्रिपाठी धादिङका बासिन्दा हुन् । हाल उनी मुलुक गम्भीर संकटमा फसेको भन्दै एटटा अलग राजनीतिक दल निर्माणको प्रक्रियामा छन् । उनको दल एकीकृत शक्ति नेपाल स्थापनाको घोषणा भइसकेको छ ।
सिनामंगलमा केन्द्रीय कार्यालय स्थापना गरेर पार्टी निर्माणमा जुटेका छन् । त्रिपाठीले नयाँ पार्टीको आवश्यकता र औचित्यका सम्बन्धमा नेपालखोजसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ त्रिपाठीसँग नेपालखोजले गरेको कुराकानी :

हाइलाइट्स
-राजनीतिमा बाहिर जे देखिन्छ त्यो पानीको माथिल्लो सतहको बहाव मात्र हो । त्योभन्दा बढी तीव्रता यसको अन्डर करेन्टमा हुन्छ । लामो समय पत्रकारिता गर्दा राजनीतिलाई नजिकबाट हेर्दै-बुझ्दै जाँदा मेरो रुचि यसको अन्डर करेन्ट बुझ्नमा आकर्षित भयो । यस क्रममा मलाई के लागेको छ भने अहिले देश जसरी अगाडि बढेको छ त्यसमा लेखेर वा भनेर मात्र पुग्दैन ।
-प्रजातन्त्रविरुद्ध जुन हिंसात्मक आन्दोलन गरियो त्यो नै देशविरुद्धको गम्भीर षड्यन्त्रको हिस्सा थियो । त्योभन्दा ठूलो कुरा के भने देश र प्रजातन्त्रको पक्षमा छौं भन्नेहरु प्रजातन्त्र र देशका विरुद्ध सशस्त्र हमला गर्नेहरुसँग एकाकार भए , त्यो पनि प्रजातन्त्र र राष्ट्रविरोधीहरुको एजेन्डामा ।
-जसरी हामी २०१७ को परिवर्तनलाई प्रजातन्त्रविरोधी भन्छौं त्यसरी नै इतिहासमा लेखिन र प्रमाणित भएको थाहा पाउन बाँकी तथ्य के-हो भने २०६३ को परिवर्तनचाहिँ राष्ट्र र राष्ट्रियताविरुद्ध थियो । यसका पर्याप्त प्रमाणहरु छन् ।
-अहिले नेपालमा यो देशको राष्ट्रियताविरुद्वको एजेन्डालाई संस्थागत गरिएको छ । यही संविधानलाई जस्ताको तस्तै राखेर हामी देशको भलो खोज्छौं भने भलोको कुरा छाड्नुहोस देश नबाँच्ने हज्जार कारण छन् ।
-बाबुराम-प्रचण्डहरुले जसको एजेन्डा बोके, उनीहरुमार्फत जे-जस्ता मान्यता स्थापित गर्ने प्रयास भएको छ त्यो नै हाम्रो एकता, जातीय सद्‌भाव, धर्म, संस्कृति, परम्पराको विरुद्ध छ, नेपाल देशका विरुद्धमा छ ।
-देशलाई अहिले राष्ट्रभक्त शक्तिको खाँचो छ । देशलाई कसरी पुन: एकीकृत गर्ने, विखण्डित सार्वभौमसत्तालाई कसरी ठीक बाटोमा ल्याउने, अधर्म र भौतिकतामा रुमल्लिएको समाजलाई सही दिशा दिएर भ्रष्टाचार, अधर्म र अनैतिकताको अन्त्य गर्ने कुरा नै हाम्रा प्राथमिकता हुन् ।
-नेपालका राजनीतिज्ञहरुले आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न पूरा देशलाई नै दाउमा लगाइदिए । यिनीहरुको विकल्प आवश्यक छ । यिनलाई हामी जति धेरै पाल्छौं देशको आयु त्यति नै छोटो हुनेछ ।
-हामी सवलीकरणको पक्षमा छौं, आमजनतालाई तलैदेखि सबल बनाउनुपर्छ । एक-दुई जनालाई लाभको पद दिँदैमा समग्र जनताको हित हुँदैन ।
-वामपन्थी वा कम्युनिस्टहरुले जे-जे कुरा स्थापित गर्छन् त्यो-त्यो कुरा ठीक बाँकी बेठीक भन्नु गलत हो । अग्रगमन भनेको के हो ? शासन होइन, तर अहिले नेपालको अवस्था कस्तो छ ? नेपालका कम्युनिस्टहरूले भनेको अग्रगमन एकदलीय कम्युनिस्ट व्यवस्थामा जाने कुरा हो । एकदलीय अधिनायकवाद स्थापना गर्नु अग्रगमन अनि एकदलीय अधिनायकवादमा जान नखोज्नेहरुचाहिँ प्रतिगामी हुन् भने म खाँटी प्रतिगामी हुँ । किनभने मलाई मेरो देश पनि जोगाउनु छ । प्रजातन्त्र र शासन पनि चाहिएको छ । जनताको एकता पनि जोगाउनु छ । जनताको हित पनि चाहिएको छ र समृद्धि पनि खोज्नु परेको छ । वामपन्थी भन्दा त लाज लाग्नुपर्ने हो तर यहाँ त्यसैलाई गर्वको विषय बनाइएको छ ।
-हामी शान्तिमा विश्वास गर्छौं । शान्तिपूर्ण रुपमा आफ्ना गतिविधि अगाडि बढाउँछौं । हामी चाँडै आफ्ना नीति तथा कार्यक्रम घोषणा गरेर अघि बढ्छौं । हामीले हाम्रो देश जोगाउनु छ र यो दायित्व तपाईं-हामीमा आएको छ । हरेक नेपालीले राष्ट्रका बारेमा सोचौं, सुगौलि सन्धिपछि देश साच्चिकै गम्भीर संकटमा छ । हाम्रो शक्ति भनेको कांग्रेस-कम्युनिस्टहरुको विकल्पको शक्ति मात्र होइन यो राष्ट्रविरोधीहरुको विकल्पमा आएको शक्ति हो ।

प्रतिक्रिया