शुक्रबार, वैशाख १४, २०८१

‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

नेपालखोज २०७८ साउन ४ गते ९:५५

आफ्नो काम भए ठीक नत्र बेठीक भन्नु राम्रो होइन

वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवा । रसुवाको प्रशासनिक नेतृत्व अहिले स्याङ्जाका ईश्वरीप्रसाद ढकालको काँधमा छ । २०७७ फागुन १७ गतेदेखि रसुवा जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढकाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ ढकाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
पुतलीबजार स्याङ्जाका स्थायी बासिन्दा ढकालले निजामती सेवामा २० वर्ष बिताइसकेका छन् । रसुवाका प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । कामका दौरान विभिन्न क्षेत्रबाट आउने दबाब आफ्नो सोचविचार र बुद्धिमत्ताले पार लगाउँदै अघि बढ्नुपर्ने उनी बताउँछन् । तर जति दबाब आए पनि कर्मचारीले नियम–कानुनभित्रै रहेर कार्य सम्पादन गर्नुपर्ने ढकालको धारणा छ ।
‘कुनै कामका लागि विभिन्न प्रेसर (दबाब) हरू आएका हुन्छन् । कामको सिलसिलमा प्रेसर दिनेले कुन नियतले दिएको छ, उसले आफ्नो काम भयो भने ठीक भन्छ आफ्नो काम भएन भने बेठीक भन्छ,’ प्रजिअ ढकाल भन्छन्, ‘तर उसका ठीक–बेठीक एउटा पाटोमा हुन्छन् । तर प्रशासकले चाहिँ विद्यमान कानुनी अवस्था राजनीतिक दल, नागरिक समाज सबैसँगको आमसहमति लिएर जनतालाई पनि कन्भिन्स गर्ने, सुुशासनको प्रत्याभूति गर्ने, विकास निर्माणलाई अगाडि बढाउनेलगायत सबै काम गर्न सकिन्छ, सकिँदो रहेछ भन्ने अनुभूति छ ।’
आफ्नो पारिवारिक उत्प्रेरणबाटै निजामती सेवामा प्रवेश गरेको बताउँने प्रजिअ ढकालले यसबाटै पूर्ण आत्मसन्तुष्टि प्राप्त भएको नेपालखोजलाई सुनाए । उनी भन्छन्, ‘पारिवारिक र स्कुलिङका हिसाबले सरकारी जागिर भए राज्यको नीति र कानुनको सही कार्यान्वय गरेर राम्रो नतिजा निकाल्न सक्छु, आत्मसन्तुष्टि प्राप्त गर्न सक्छु भन्ने चाहनाले लोकसेवामा मिहिनेत गरें, पास गरें र काम गर्ने अवसर पनि प्राप्त गरें ।’
रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालसँग हामीले यस्तै–यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो नयाँ अंक :

हाइलाइट्स :

– रसुवामा पनि कोरोना संक्रमण देशभर जसरी नै फैलिएको छ । संक्रमणदर घटेको अवस्था छैन । करिब–करिब ‘एज इज इट’ छ ।
– अहिले हाम्रोमा करिब–करिब १५०–१६० जनाको दरमा सक्रिय संक्रमित छन् । सुरुमा हामीले लकडाउन लगाउँदा पनि १५० जनाकै हाराहारीमा संक्रमित थिए ।
– हामीले पहिलो लकडाउनदेखि सबै गाउँपालिकाका वडाध्यक्ष, राजनीतिक दल र पत्रकारलगायत सबैको आमसहमतिमा क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन गर्‍यौं ।
– सर्वसाधारणले प्रशासनको आग्रह र निषेधाज्ञालाई स्वतस्र्फूत अवलम्बन गर्नुभएको छ ।
– नागरिक समाजले आम–जनतालाई त्यहीअनुसारको जनचेतनामूलक कार्यक्रम गरिरहनुभएको छ ।
– काम गर्दा समस्याहरू आइहाल्छन् । हामी समस्या आएको १० देखि १५ मिनेटमा सबैतिर समन्वय गरेर समाधान खोज्छौं ।
– रसुवा अरूभन्दा कम संक्रमित भएको जिल्ला हो ।
– हामीले कारोनाका सक्रिय संक्रमितलाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट नियमित रूपमा टेलिफोन गरेर उहाँहरूको स्वास्थ्य अवस्था, खानपानको अवस्था बुझ्न लगाउँछौं ।
– कोरोना नियन्त्रण गर्न गाउँपलिकाका अध्यक्षदेखि वडाध्यक्षलाई हामीले सक्रिय रूपले परिचालन गर्‍यौं । यसमा नागरिक समाजको भूमिका अतुलनीय छ ।
– हाम्रो जिल्लामा प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र गाउँपालिका सबै सचेत भएकाले कोरोना नियन्त्रणका क्रममा हामीले सुरुवातदेखि अहिलेसम्म कुनै पनि अप्रिय खालको समस्या र चुनौती सामना गर्नुपरेको छैन ।
– सिन्धुपाल्चोकमा जुन घटना भयो त्यसबाट हामीले धेरै पाठ सिकेका छौं । हाम्रो भूगोल पनि सिन्धुपाल्चोकजस्तै जटिल छ ।
– हामीसँग यति कन्फिडेन्ट छ कि ठूलै पहिरो गएको अवस्थाबाहेक अरू अवस्थामा समस्या आए एक–डेढ घण्टामा समाधान गर्न सक्छौं ।
– मुख्य वर्षा अझै आउन बाँकी रहेकाले बाढी–पहिरोका हिसाबले रसुवा संवेदनशील जिल्लाको सूचीमै पर्छ ।
– वर्षाले गर्दा बत्ती नेट र नेटवर्कमा समस्या देखिइरहन्छ । यस्तो समस्या आएपछि हामी प्राविधिकहरूलाई परिचालन गरेर व्यवस्थापन गरिरहेका हुन्छौं ।
– अहिलेसम्म जति समस्या आएका छन् हामीले समाधान गरेका छौं । अर्काे हामीले समाधन गर्ने नसकिने समस्याहरू पीडितलाई महसुस हुने गरी कन्भिन्स गरेको अवस्था छ ।
– काममा प्रेसर दिनेले उसले आफ्नो काम भयो भने ठीक भन्छ आफ्नो काम भएन भने बेठीक भन्छ ।
– आगामी दिनमा पनि मैले जनतालाई भगवान् मानेर आफूले आफ्ना तर्फबाट सक्नेजति सेवाप्रवाह छिटो–छरितो चुस्त–दुरुस्त गर्नेछु ।
– आफूले राम्रो काम गर्दा जनताको मन जित्न सक्ने भएकैले मेरा लागि निजामती सेवा सबैभन्दा ठूलो सन्तुष्टि पनि हो ।
– रसुवा जिल्लामा शान्ति–सुरक्षाको अवस्था एकदमै सामान्य छ । सबै नियमित चलिरहेको छ ।

रसुवा जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
रसुवामा पनि कोभिड–१९ देशभर फैलिरहेको अवस्था झैं छ । पहाडी जिल्ला भनिए पनि घटेको अवस्था छैन । करिब–करिब एज इज इट छ । एउटा विन्दुमा स्थिर रहेको देखिन्छ । अहिले हाम्रोमा करिब–करिब एक सय ५०–६० जनाको दरमा सक्रिय संक्रमित छन् । सुरुमा हामीले लकडाउन लगाउँदा पनि एक सय ५० जनाकै हाराहारीमा संक्रमित थिए ।

जिल्लामा कोरोना संक्रमितको व्यवस्थापन कसरी गर्नुभयो ?
पहिलो लकडाउनदेखि सबै गाउँपालिकाका वडाध्यक्ष, राजनीतिक दल र पत्रकारलगायत सबैको आम–सहमतिमा क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन गरेर अहिलेसम्म एकदमै राम्रो तवरले हामी अघि बढेको अवस्था छ । हामीले अक्सिजनदेखि न्यूनतम स्वास्थ्य मापदण्डका विषयमा सुरुदेखि नै जोहो गर्‍यौं । अहिले पनि हामी तयारी अवस्थामा छौं । सर्वसाधारणले पनि प्रशासनको आग्रह निषेधाज्ञालाई स्वतःस्र्फूत अवलम्बन गर्नुभएको छ । नागरिक समाजले आमजनतामा त्यहीअनुसारको जनचेतनामूलक कार्यक्रम गरिरहनुभएको छ । हाम्रोमा कोरोनाको व्यवस्थापन एकदम राम्रो तवरले भइरहेको छ ।

कोरोना संक्रमितको व्यवस्थापनका क्रममा कस्ता–कस्ता चुनौती आइलागे ?
समस्या आइहाल्छ । हामी समस्या आएको १० देखि १५ मिनेटमा सबैतिर समन्वय गरेर उतिबेलै समाधान खोज्छौं । समस्या दिनहुँ आइरहेका छन् । हामीले समन्वय गरेर त्यसको समधान पनि गरिरहेका छौं । विगतको वर्षबाट पाठ सिकेर र अरू जिल्लाहरूलाई हरेर । किनभने हाम्रो जिल्ला अरू जिल्लाभन्दा कम संक्रमित भएको जिल्ला भएकाले त्यसबाट सिकेर कोरोनाका सक्रिय संक्रमितलाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट नियमित रूपमा टेलिफोन गरेर उहाँहरूको स्वास्थ्य अवस्था खानपानको अवस्था बुझ्न लगाएर गाउँपलिकाका अध्यक्षदेखि वडाध्यक्षहरू पनि सक्रिय रूपले परिचालन हुनुभयो । यसमा नागरिक समाजको भूमिका अतुलनीय छ । हाम्रो जिल्लामा प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र गाउँपालिकाका सबैजना सक्रिय रहेको हुँदा सुरुवातदेखि अहिलेसम्म कुनै पनि अप्रिय खालको समस्या र चुनौती फेस (सामना) गर्नुपरेको छैन ।

विभिन्न जिल्लामा बाढी–पहिरोको प्रकोप बढेको सञ्चारमाध्यमा समाचारहरू आइरहेका छन्, रसुवा जिल्लाको अवस्था कस्तो छ ?
सिन्धुपाल्चोकमा जुन घटना भयो त्यसबाट हामीले धेरै पाठ सिकेका छौं । हाम्रो भूगोल पनि सिन्धुपाल्चोकको जस्तै जटिल छ । यसलाई मध्यनजर गरेर गाउँपालिकाको विपत् व्यवस्थापन समिति प्रोएक्टिभ बनाएका छौं । हामीले जिल्ला प्रशासन कार्यालयमा पनि बैठकहरू बसेर कुन समस्यामा कसरी अगाडि बढ्ने भनेर आमसहमति गरेका छौं । हामीले सडक डिभिजन कार्यालयसँग अनुरोध गरेर भौगोलिक हिसाबले जटिल भएका र सडक पहिरोले थुनिन सक्ने अवस्थालाई मध्यनजर गरेर ५–६ वटा इक्युपमेन्ट लोडर ठाउँठाउँमा (विशेषगरी रिक्सी सडकमा) व्यवस्था गरेका छौं । हामीसँग यति कन्फिडेन्ट छ कि ठूलै पहिरो गएको बाहेक अरू अवस्थामा समस्या आएको एक/डेढ घण्टामा समाधान गर्न सक्छौं ।

आफूले राम्रो काम गर्दा जनताको मन जित्न सकिने भएकाले मेरा लागि सबैभन्दा ठूलो सन्तुष्टि पनि यही हो ।

बाढी–पहिरोले जनधनमा कत्तिको क्षति पुर्‍याएको छ ?
सामान्यबाहेक त्यस्तो उल्लेखनीय क्षति भएको अवस्था छैन । अहिलेसम्म सामान्य नै छ । तर मुख्य वर्षा अझै आउन बाँकी रहेकाले रसुवा संवेदनशील जिल्लाको सूचीमै पर्छ । त्यो हिसाबले हामीले गाउँपालिकालाई खाद्यान्न, पाल, टेन्टको जोहो गर्न भनेका छौं । हामीले जिल्ला विपत् समितिमा पनि एकखालको भोलि आइपर्ने घटना र त्यसको समाधानका हिसाबले जोहो गरेर बसेको अवस्था छ ।

बाढी–पहिरोले विद्युत्, सडक र सञ्चारको अवस्था कस्तो छ ?
वर्षाले गर्दा सडक, बत्ती, नेट र नेटवर्कमा समस्या देखिइरहन्छ । यस्तो समस्या आएपछि हामी प्राविधिकहरूलाई परिचालन गरेर व्यवस्थापन गरिरहेका हुन्छौं । ठूलै समस्या त छैन । समस्या आए तत्काल सम्बोधनको प्रयास गर्छौं ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
निजामती सेवाको अहिलेसम्मको मेरो अनुभवमा र प्रमुख जिल्ला अधिकारीको पाँच महिनाको अवधिमा समस्या एउटा पाटो हुन्छ म समाधान गर्न सक्छु भन्ने एउटा इच्छाशक्ति मुख्य कुरा हुन्छ । अहिलेसम्म जति समस्या आएका छन् । एक त हामीले समाधान गरेका छौं । अर्काे हामीले समाधन गर्न नसकिने समस्याहरू पीडितहरूलाई महसुस हुने गरी कन्भिन्स गरेको अवस्था छ । मुख्य कुरा समस्या आइसकेपछि हामीले त्यसलाई गहन विश्लेषण गरेर हामीले समाधान गरेको अवस्था छ ।

कामका दौरान कस्ता दबाब आउँछन् ?
हरेक चुनौती र समस्या सबैका लागि अवसर हुन्छन् । चुनौती र समस्या आइरहन्छन् । त्यसलाई आफूले सहज, सरल हिसाबले लिएर र आफूले अरूसँग समन्वय गरेपछि जस्तोसुकै समस्याहरू पनि समाधान हुने रहेछन् । कुनै कामका लागि विभिन्न प्रेसर (दबाब) हरू आएका हुन्छन् । कामको सिलसिलमा प्रेसर (दबाब) दिनेले कुन नियतले दिएको छ, उसले आफ्नो काम भयो भने ठीक भन्छ आफ्नो काम भएन भने बेठीक भन्छ । तर उसका ठीक–बेठीक एउटा पाटोमा हुन्छन् । तर प्रशासकले चाहिँ विद्यमान कानुनी अवस्था राजनीतिक दल, नागरिक समाज सबैसँगको आमसहमति लिएर एकदमै जनतालाई पनि कन्भिन्स गर्ने, सुुशासनको प्रत्याभूति गर्ने, विकास निर्माणलाई अगाडि बढाउनेलगायत सबै काम गर्न सकिन्छ, सकिँदो रहेछ भन्ने अनुभूति छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मैले सानैदेखि बुझेको कुरा के हो भने मानिसको सबैभन्दा ठूलो धर्म र सम्पत्ति भनेको सेवा हो । सेवा नै धर्म हो । पारिवारिक सहयोग र व्यक्तिगत चाहनाका कारण म सरकारी सेवामा प्रवेश गरेको हुँ। सरकारी जागिर भयो भने सरकारको नीति र कानुनको सही कार्यान्वय गरेर रिजल्ट निकाल्न सक्छु र मैले आत्मसन्तुष्टि प्राप्त गर्न सक्छु भन्ने मेरो भित्रैदेखिको चाहना थियो । त्यसले मैले लोकसेवामा मिहिनेत गरें, पास गरें र काम गर्ने अवसर पनि प्राप्त गरें । अहिलेसम्मको अवस्थामा म पूर्ण सन्तुष्ट छु । आगामी दिनमा पनि मैले जनतालाई भगवान् मानेर आफूले आफ्ना तर्फबाट सक्ने जति सेवा प्रवाह छिटो–छरितो चुस्त–दुरुस्त गर्नेछु ।

आफ्नो पेसाप्रति सन्तुष्ट हुनुको कारण ?
यसमा सन्तुष्ट हुनको कारण तलब-भत्तादेखि लिएर सुविधाको अवस्था छ । बढुवा व्यक्तित्व विकासको अवस्थालाई मान्न सकिन्छ । आफूले राम्रो काम गर्दा जनताको मन जित्न सकिने भएकाले मेरा लागि सबैभन्दा ठूलो सन्तुष्टि पनि यही हो ।

रसुवा जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
शान्ति-सुरक्षाको अवस्था एकदमै सामान्य छ । नियमित छ । त्यस्तो कुनै खालको समस्या, चुनौतीहरू छैनन् । हामीले हरेक समस्या र चुनौतीलाई दृढ इच्छाशक्तिका साथ समन्वयात्मक तवरले समाधान गरेका छौं । र गरिरहने पनि छौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङका प्रजिअ विष्णु लामिछानेसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

प्रतिक्रिया