शुक्रबार, वैशाख १४, २०८१

‘लामो यात्रा गर्न बयलगाडा र टेम्पो चढिँदैन’

विपिन गौतम २०७८ असोज २६ गते २०:५६

बढी गतिमा छिटो पुग्न चढिने सवारीसाधन नै बढी दुर्घटनामा पर्ने हुँदा सडक खाली र व्यवधानरहित हुन जरुरी छ ।
सडक अतिक्रमण हुनु हुँदैन । गाईवस्तु सडकमा छाडिनु, केटाकेटी सडकमा खेल्न-कुद्न दिनु, व्यक्तिगत सरसामान सडकमा राख्नु हुँदैन । व्यापारिक सामान सडकमा राखेर बिक्री-वितरण गरिनुहुन्न, पार्किङ र सवारीसाधन सडकमा असरल्ल छाड्नुहुन्न । पैदलयात्रुका लागि फुटपाथ हुन जरुरी छ ।

नेपालीको महान् पर्व दसैँको मुखैमा हामी छौं । गत वर्षभन्दा बढी सर्वसाधारण यो वर्ष सवारीसाधनबाट यात्रा गरी आफ्ना आफन्तसँग भेटघाट भलाकुसारी आशीर्वादका निमित्त बडादसैँको टीका लगाउन घरतर्फ जानुपर्ने हुनाले तोकिएको भाडादरभन्दा बढी भाडा दिएर पनि परिवारसहित यात्रा गरिरहेका हुन्छन् ।

सपरिवार आफ्ना आफन्त र घरमा पुग्ने भेटघाट हुने रमाइलो गर्ने सोचमा मग्न भएर यात्रा गर्ने हुनाले सवारीसाधन सञ्चालक समिति र चालकले पनि यो अवस्थालाई बुझेर दुर्घटना हुनबाट जोगाउन प्रयत्न गर्नुपर्ने हुन्छ । सवारी चालक र परिचालकको व्यवहारबाट यात्रामा कुनै समस्या आउन दिन हुन्न । यो बेलाको बोली-वचन र व्यवहारले यात्रीहरूलाई सवारीसाधनका संघ-संस्था तथा चालक-परिचालकप्रति नकारात्मक प्रभाव पारिरहेको हुन्छ।
यसका लागि हामीले निम्न कुरा अपनाउन सके यात्रा सुरक्षित र भरपर्दो हुन्छ ।

यात्रा गर्दा अपनाऔं यस्ता सावधानी !

१. परिचालकले विनम्रतापूर्वक गरेको व्यवहारले त्यही सवारीसाधन मात्र चढ्न रहर गर्ने गरेको पनि पाइन्छ ।
२. बालबालिका वृद्धवृद्धा महिलाहरुलाई गरेको सानोतिनो सहयोग पनि उहाँहरुको यात्रालाई आनन्दित बनाइदिन्छ । पुन: सोही सवारीसाधन पाए मात्र चढ्ने नभए पर्खेर पनि सोही साधनबाट यात्रा गर्ने कुरा आउँछ ।
३. वृद्धवृद्धाहरुलाई उहाँहरुको झोला सरसामान राख्न भनेको बेला झिक्न सहयोग गरिदिएमा पनि यात्रीको यात्रा सरल हुन्छ।
४. ठूलो र झर्को लाग्दो संगीत बजाउनु हुन्न ।
५. चालकले नजिकको कुनै पनि यात्रु तथा परिचालकसँग गफ गर्दै सवारीसाधन चलाउन हुन्न ।
६. चालकले हतारमा सवारीसाधन चलाएर, आराम नगरी सवारीसाधन चलाउँदा पनि दुर्घटना बढिरहेको छ ।
७. लामो यात्रा गरिने सवारीसाधन प्रत्येक चार घण्टामा अनिवार्य आधा घण्टा विश्राम लिनैपर्छ ।
८. लामो दूरीको यात्रा हो भने दुईवटा चालक अनिवार्य रहनुपर्छ । चाडपर्वमा कमाइ हुने हुनाले प्राय: एउटै सवारीसाधनले ट्रिप धेरै लगाउने गर्नाले चालक परिवर्तन पनि नहुनाले दुर्घटना बढेको पाइन्छ ।
९. विगतदेखि नै चालकले मादकपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्नाले पनि दुर्घटनामा वृद्धि भएकामा नेपाल प्रहरीको सक्रियतामा केही कमी आएको छ तर चालकले आफ्नो भूमिका सही तरिकाले सम्पन्न नगरिदिँदा दुर्घटना भएको पाइन्छ ।
१०. सिट क्षमताभन्दा बढी यात्रु राखिनु मालसामान बढी बोक्नु पनि दुर्घटना को कारण भएको पाइन्छ ।
११. सवारीसाधन बढी गतिमा सञ्चालन गरिनु पनि दुर्घटनाको प्रमुख कारण हो ।
१२. उछिन्दै अगाडि बढेर यात्रु लिने प्रयासमा सवारीचालकले प्रयत्न गर्दा पनि बढी दुर्घटना भइरहेको छ ।
१३. यातायात व्यवस्था कार्यालयले यस महान् पर्वमा सबैलाई सहज यात्रा गर्न पाऊन् भनेर गरिने रुट पर्मिट फ्री पनि दुर्घटनाको कारण हो । कहिल्यै नहिँडेको बाटो र बाटोको अवस्था थाह नभइ चलाइने सवारीसाधन दुर्घटनामा परिरहेको हुन्छ ।
१४. चालकलाई भत्ता र सवारीधनीलाई बढी ट्रिप पाउने लोभ नै दुर्घटनाको कारण हुने हुनाले नेपाल प्रहरी (ट्राफिक प्रहरीसहित) ले सवारी चालकले सवारीसाधन चलाएको समय अभिलेख राख्ने कार्य हुन गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। जस्तो- एउटै चालक बिहान सवारीसाधन लिएर जाने पुर्‍याएर फर्कने फेरि पनि यात्रु लिएर विश्राम नगरी चलाएको पाइएमा अन्तिम विन्दुमा चालकलाई कारबाही गरिदिएमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
१५. चालक र सवारीसाधनको अवस्थाको कारण हुने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सबैले दुर्घटना रोक्न पहल गरौं ।
दसैँलाई नरमाइलो पीडादायी नबनाऔं । चालक सचेत रहेर सवारीसाधन चलाइदिए पुग्छ । दुई दिनमै (हिजो र आज) निकै ठूलो दुर्घटनामा आफ्ना आफन्त सवारीसाधनको दुर्घटनामा गुमी सक्नुभयो । दुर्घटनाको समाचार नबनौं । लामो यात्रा गर्न बयलगाडा र टेम्पो चढिँदैन यात्रुवाहक सवारी साधनमै यात्रा गर्नुपर्छ । तसर्थ सवारीसाधन विशेष सुरक्षा र सावधानीपूर्वक चलाऔं । यति सडकमा नियम पालना गरिने हो भने पनि सडक दुर्घटना नियन्त्रण गर्न सकिन्छ ।

विपिन गौतम

गौतम नेपाल प्रहरीका पूर्वडीएसपी हुन् ।

प्रतिक्रिया