शुक्रबार, चैत १६, २०८०

सुटिङ पूरा गरेर अन्तरिक्षबाट फर्कियो ‘मुभी क्रू’

नेपालखोज २०७८ कार्तिक १ गते १३:११

काठमाडौं । इन्टरनेसनल स्पेस स्टेसनमा पहिलोपटक चलचित्रको १२ दिन लामो छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन सकेर (आइतबार) चलचित्रकी अभिनेत्रीसहित अन्तरिक्ष यात्रीहरु पृथ्वीमा फर्किएका छन् ।

यो एउटा रुसी चलचित्र हो । चलचित्रको अन्तरिक्षको छायांकनमा ३७ वर्षीया नायिका युलिया पेरसिल्ड सहभागी थिइन् । छायांकनका लागि ३८ वर्षीय प्रोड्युसर-डाइरेक्टर क्लिम सिन्पे पनि सोयुज एमएस-१८ अन्तरिक्ष यानमा इन्टरनेसनल स्पेस स्टेसन पुगेका थिए ।

गएको वर्ष ‘मिसन इम्पोसिबल’ स्टार टम क्रुजले नासा र एलन मस्कको स्पेसएक्ससँग मिलेर अन्तरिक्षमा एक हलिउड चलचित्र छायांकन गर्ने घोषणा गरेका थिए । टमको प्रोजेक्टले काम सुरु नगर्दै रुसी चलचित्रले अन्तरिक्षमा छायांकन सम्पन्न गरेर उनलाई पछाडि पारेको छ । अभिनेत्री पेरसिल्ड र डाइरेक्टर सिन्पेले अन्तरिक्षमा चलचित्रको केही भागको सुटिङ गरेको बताइएको छ ।

सोयुज अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट हिँडेको साढे तीन घण्टा साँझ ४:३५ मा कजाखस्तानमा ओर्लिएको थियो । अन्तरिक्ष यात्रीहरु प्यारासुटको मद्दतले धरतीमा अवतरण गरेका थिए । अब उनीहरुको मेडिकल टेस्ट हुनेछ । चलचित्रकी अभिनेत्री तथा निर्देशक दुवै पृथ्वीमा ओर्लिएपछि स्वस्थ र प्रशन्न देखिएका थिए ।

अभिनेत्री पेरेसिल्ड तथा निर्देशक सिन्पे ‘च्यालेन्ज’ नामको चलचित्रको छायांकनका लागि ५ अक्टोबरमा अन्तरिक्ष केन्द्रतर्फ प्रस्थान गरेका थिए । यो चलचित्रमा एक सर्जनको भूमिका निर्वाह गरिरहेकी पेरेसिल्ड एक क्रू सदस्यको ज्यान जोगाउन अन्तरिक्ष केन्द्र पुगेको दृश्य छ । अन्तरिक्ष स्टेसनमा ६ महिनादेखि रहेका नोवित्स्कीले चलचित्रमा बिरामी अन्तरिक्ष यात्रीको चरित्र निर्वाह गरेका छन् जसको तत्काल अप्रेसन गर्नुपर्नेछ ।

अभिनेत्री पेरेसिल्डले सरकारी टेलिभिजनलाई भनेकी छन्, ‘म आज केही दु:खी महसुस गरिरहेकी छु । मलाई लागेको थियो १२ दिन निकै हुन्छ । तर यो त निकै छिटो सकियो । सारा काम सकिए पनि म फर्कन चाहन्नथें ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया