अविरल वर्षाले देशभर बाढी र पहिराे, कहाँ कति क्षति ? (हेर्नुस् पूर्ण विवरण)
लगातारको वर्षाका कारण कञ्चनपुरको लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगाएको छ ।

काठमाडाैं । देशभर अविरल वर्षा भइरहेकाे छ । मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएका छन् ।
कहाँ कति क्षति र?
अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको वहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।
नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, सङ्कलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।
टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा पनि अवरुद्ध
सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।
सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।
जयपृथ्वी राजमार्ग पनि अवरुद्ध
अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका-१ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।
त्यस्तै वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालङ्गा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ ।
धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका- ५ का नरेस सिंहले बताए । धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उनको भनाइ छ ।
महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो
महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो ।
बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।
पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ । आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ ।
टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताउनुभयो । यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो ।
लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति
आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो ।
गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो । लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आङ्कलन गरिएको केन्द्रका प्रमुख कुशवाहले बताए ।
पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ ।
वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न
आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनाैं बढी घरमा पानी पसेको बताए ।
धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ । धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताए ।
सेती नदीमा ६० जना फसे
अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी बताए ।
कालीकोट र डडेलधुरामा दुई जनाको मृत्यु
लगातारको वर्षाका कारण आएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् ।
सुकाएको धान बगायो
लगातारको वर्षाका कारण कञ्चनपुरकाे लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।
डोटीमा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु
डोटीमा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया