शुक्रबार, चैत १६, २०८०

‘सत्तामा पुग्नेहरू कर्मचारीजस्तै खटिए नेपाल युरोप बन्छ’

नेपालखोज २०७८ कार्तिक ३ गते ९:१६

डा. राजेन्द्र केसी नेपाल पीएचडी एसोसिएसनका संस्थापक अध्यक्ष एवं साउथ वेस्टर्न इस्टेट कलेज काठमाडौंका क्याम्पस प्रमुख हुन् । अमेरिकाबाट विद्यावारिधि गरेका उनी देशमा परिपक्व राजनेता हुने हो भने केही वर्र्षभित्र देशको विकासलाई युरोपियन मापदण्डमा पुर्‍याउन सकिने दाबी गर्छन् । नेपालखोजका लागि केशव भट्टराईले डा. केसीसँग नेपालको वर्तमान राजनीतिक अवस्था, यसको कमजोरी र अबको राजनीतिक रणनीतिको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ डा. केसीसँगको कुराकानी :

हाइलाइट्स :
–२०४६ सालमा राजतन्त्र हटाएर प्रजातन्त्र प्राप्ति भएको ३२ वर्षसम्म देशमा परिवर्तनको महसुस गरिएको छैन । अरू देशमा ५ देखि २० वर्षमा आमूल विकास हुने गर्छ । धेरै ठूला देश विकास हुँदा नेपाल सानो देश छ, चाँडै विकासले फड्को मार्नुपर्ने हो ।
–देशमा परिपक्व राजनेता हुने हो भने केही वर्षभित्र देशको विकासलाई युरोपियन मापदण्डमा पुर्‍याउन सकिन्छ । यो देशमा सबैथोक छ । एकजना मोबिलाइजेसन गर्ने र एक्ज्युकेसन गर्ने राजनेता मात्रै आवश्यक छ । दूरदर्शी र प्रतिबद्ध राजनेता नभएकाले नै नेपालमा समस्या भएको हो ।
–देशमा जनताको कुनै दोष छैन । जनताले कांग्रेस, एमाले र माओवादीलाई सरकारमा नेतृत्व गराए । तत्कालीन नेकपालाई दुईतिहाइ मत दिलाए । जुनसुकै पार्टीलाई समर्थन गरे पनि जनताले सुख पाएका छैनन् ।
–देशमा प्रजातन्त्र ल्याइसकेपछि नेताहरूले प्रशासन चलाउने कामचाहिँ युवाहरूलाई सुम्पिनुपर्छ । योद्धा नेताहरूले संरक्षक तथा सल्लाहाकारको भूमिका निर्वाह गर्नुपर्छ ।
–१८, २० वर्ष जेल बस्नु पनि चानचुने होइन । तर पार्टी अध्यक्ष पनि आफैं, प्रधानमन्त्री पनि आफैंजस्ता दोहोरो पद लिने गरेका छन् । ७० कटेका पनि शासन गर्न खोज्ने परिपाटी ठीक होइन । दुईपटकभन्दा बढी प्रधामन्त्री र पार्टी अध्यक्ष हुन खोज्नु राम्रो होइन ।
–सरकारी जागिर खानेलाई उमेर र शिक्षाको हद लाग्दा राजनीति गर्नेलाई पनि लाग्नुपर्छ । कर्मचारीलाई निर्देशन गर्ने प्रधानमन्त्री, मन्त्री र सांसद हुन पनि शैक्षिक योग्यता र उमेर हदको निर्धारण गरिनुपर्छ ।
–राजनीति गर्ने नेताहरूले सांसद, मन्त्री र प्रधानमन्त्री हुँदा आफू देशको कर्मचारी हुँ भनेर काम गर्नुपर्छ । सभा–सम्मेलन उद्घाटन गर्दै र पार्टीका कार्यक्रममा सहभागी भएर मात्रै समय बिताउनु हुँदैन ।
–राजनीति गर्नेका लागि बेग्लै शिक्षा नीति बनाइनुपर्छ । राजनीतिज्ञ सबैलाई शासन गर्ने व्यक्ति हो । कमजोर विद्यार्थीले राजनीतिशास्त्र पढ्ने गरेका छन् । तर राजनीतिशास्त्र उत्कृष्ट विद्यार्थीले पढ्नुपर्छ । यस विषयमा डाक्टर, इन्जिनियर, वकिललगायतले पढ्ने विषयहरू पनि समेटिनुपर्छ ।

प्रतिक्रिया