शनिबार, जेठ ५, २०८१

‘आत्महत्याको असर परिवारदेखि समुदायसम्मै’

बालबालिकाहरुलाई गाली-गलौज गर्ने, धेरै दबाब सिर्जना गर्ने, जिम्मेवारीहरू बढी थुपारिदिनेजस्तो कामलाई कम गर्नुपर्छ ।

नेपालखोज २०७८ असार १२ गते ११:४२

आत्महत्याका घटना बर्सेनि डरलाग्दो रुपमा बढिरहेको छ । पछिल्लो समय आत्महत्याका घटना नेपालमा मात्रै होइन यो समस्या विश्वमै विकराल बन्दै गएको छ । अहिले विश्वमा हरेक ४० सेकेन्डमा औसत एकजना व्यक्तिले आत्महत्या गरिरहेको पाइन्छ । विश्वमा विभिन्न प्रकारका युद्ध, प्राकृतिक प्रकोप र हत्याबाट भन्दा बढी मानिसको मृत्यु आत्महत्याका कारण हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

नेपालमा अप्राकृतिक मृत्युको एउटा कारण आत्महत्या पनि हो । हरेक आत्महत्याले सम्बन्धित परिवार र समाजमा लामो समयसम्म मानसिक रुपमा नकारात्मक असर पर्ने गरेको छ । आत्महत्याका पछाडि कैयौं कारण छन् । जसमा प्रमुख कारण छ, मानसिक रोग । मानिस अभाव, बेरोजगारी, चेतनाको कमी, सोचेको जस्तो नहुनुलगायत अनेकौं कारणले डिप्रेसनको सिकार हुन्छ । जसका कारण अन्त उसले आत्महत्याको बाटो रोज्ने गरेको छ । अझ कोरोना भाइरस कोभिड-१९ को महामारीका कारण मानसिक समस्या झन् बढ्दै गएको छ । जसका कारण आत्महत्याको आँकडासमेत बढिरहेको छ । यस्तै विविध विषयमा हामीले मनोविद् डा. करुणा कुँवरसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, मनोविद् डा. कुँवरसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

नेपालमा बर्सेनि आत्महत्याका घटना बढ्दै गएको तथ्यांकले देखाउँछ । के कारणले आत्महत्याका घटना बढिरहेका छन् ?
वास्तवमा मानसिक स्वास्थ्यबारे हामीमा ज्ञान छैन भन्नुपर्छ । मानसिक स्वास्थ्यका कारण आत्महत्या हुन्छ भन्ने कुराको बुझाइ नै छैन । धेरैजसो आत्महत्या हुन्छ किन ? भन्यो भने विभिन्न कारणहरू देखाएर भएको भन्ने कुरा हामीले बुझिरहेका हुन्छौं । जस्तो, गरिबी, असफलतालगायत कारण भनिरहेका हुन्छौं । तर, वास्तवमा प्राय: आत्महत्याका घटनालाई हेर्ने हो भने उहाँहरू गम्भीर रुपमा डिप्रेसन (मानसिक रोग) बाट गुज्रिनुभएको हुन्छ । डिप्रेसनबाट गुज्रिएको लामो समयपछि मात्रै उहाँहरूले आत्महत्या गर्ने निर्णय गरेको हुन सक्छ । तर, जुनबेला उहाँहरूमा डिप्रेसनको संकेतहरू देखिन्छ ।
त्यसबेला उहाँहरुलाई बचाउन सक्ने अवस्था हुन्छ । तर, त्यही कुरा मानसिक स्वास्थ्यमा जनचेतना नभइसकेपछि उहाँको परिवार वा नजिकको मान्छेलाई त्यसको हेक्कसम्म हुँदैन, उहाँहरूलाई के भइरहेको छ भन्ने कुराको । जसले गर्दा डिप्रेसनमा हुनेहरूले प्राय: आत्महत्या गर्ने गरेका छन् । जसले गर्दा बर्सेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । यसै पनि अहिलेको युगलाई डिप्रेसनको युग पनि भन्ने गरिन्छ । पछिल्लो समय आत्महत्या गर्नेको संख्या नेपालमा मात्रै होइन संसारभर नै क्रमिक रुपमा बढ्दै गइरहेको विभिन्न तथ्यांकले देखाएको छ । हुन त कारणहरू धेरै छन् । मानिसले चाहेजस्तो कुराहरू भइरहेको छैन । यी विभिन्न कारणले मानिस छिटै डिप्रेसनमा जाने गरेको पाइन्छ ।

आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । करण के होला ?
यसमा पनि धेरै कुराहरू रिसर्च (अध्ययन) भएको छ । केही समय पहिले भारतमा पनि केही रिसर्चहरू भएकामा जस्तो- किसान पुरुषहरूले चाहिँ धेरै आत्महत्या गरेको भन्ने देखाइएको थियो । हाम्रो समाजमा पितृसत्तात्मक सोच छ । यहाँ पुरुषले मात्रै कमाएर परिवारलाई पाल्ने, जिम्मेवारी वहन गर्नुपर्ने सोचाइ छ । जसले गर्दा कतिपय पुरुषले आफूले जिम्मेवारी पूरा गर्न नसकेको बोध गरेर पनि आत्महत्या गर्ने गरेका छन् । अर्को कुरा सधैं पुरुषले मात्रै बढी आत्महत्या गर्छन् भन्ने छैन । कुनै वर्ष महिलाको बढी र कहिले पुरुषको संख्या बढी हुने गर्छ । त्यो हाराहारीमै छ । तर कतिपय अवस्थामा के पनि भन्न सकिन्छ भने पुरुषको तुलनामा महिलाहरूमा सहन सक्ने क्षमता बढी हुन्छ । यसको कारणले पनि आत्महत्या गर्ने महिलाको संख्या केही कम भएको हुन सक्छ । तर समग्रमा भन्दा दुवैको हाराहारीमै हुन्छ । कहिले ज्यादा कहिले कम मात्रै देखिएको हो । कहिलेकाहीँ महिलाको संख्या पनि बढी भएको पाइन्छ ।

कस्तो अवस्थामा मानिसले आत्महत्या गर्ने सोच बनाउँछ ?
जब कुनै व्यक्तिले सोचेका सबै कुराहरू निराशामा परिणत हन्छ, आशा भन्ने कुरा उसले केही पनि देख्दैन र संसारमा कुनै पनि कुराले उसको आशा पलाउन सक्दैन भन्ने लाग्छ तब उसले आत्महत्या गर्ने ठोस निर्णय गर्छ ।

आत्महत्या गर्ने मनसाय बनाइसकेको मान्छेलाई बचाउन सम्भव छ कि छैन ?
अवश्य पनि हुन्छ । किनभने, आत्महत्या गर्ने मनसाय बनाइसकेको मानिसले मलाई बाँच्ने मन छैन, मर्न मन लागेको छ भन्ने खालको अभिव्यक्तिहरू अधिकांशले नै दिने भएको हुँदा त्यो समयमा उसको कुरा सुनिदिने, यदि ऊ एकदमै एक्लो बस्न थाल्यो वा टोलाएर बस्न थाल्यो भन्नेजस्ता कुराहरू भयो भने विशेषज्ञको ठाउँमा लिएर देखाउनेजस्ता कामहरू गर्नुपर्ने हुन्छ । अहिले त मरिसकेका मान्छेको पो कुरा भयो त जसले आत्महत्या गर्न चाहेका थिए तर बाँचे कति त भन्ने खालको तथ्यांक छैन । तर यदि त्यसको पनि तथ्यांक हुन्थ्यो भने कति मान्छेलाई हामी बचाउन सफल भएको देखिन्थ्यो । त्यही भएर आत्महत्याको बारेमा खुलेर कुरा गर्न जरुरी पनि छ ।

पछिल्लो समय साना बालबालिकाले पनि आत्महत्या गर्ने क्रम बढेको देखिन्छ । बालबालिकाले किन आत्महत्या गर्छन् होला ?
सबैभन्दा पहिला बालबालिकाहरूमा तनाव हुँदैन भन्ने कुरा हामीले चिर्नु जरुरी छ । बालबालिकाहरूमा किन तनाव हुँदैन त ? त्यो उमेर अनुसारको तनाव बालबालिकालाई पनि छ । मान्छे जन्मेदेखि नै उसलाई तनाव सुरु भइसकेको हुन्छ । जस्तै- भर्खरै जन्मिएको बालकलाई केको तनाव होला त ? हामी कल्पना गरी हेरौं त ? उसलाई पक्कै पनि आमाले छाडेर जान्छ कि भन्ने होला, खान पाउँदिन कि भन्ने होला । भर्खरै जन्मेको बालकलाई त यी आदि-इत्यादि तनाव हुन्छ भने बालबालिकालाई किन तनाव हुँदैन ? अर्को, डिप्रेसन भनेको कुनै पनि समूहलाई लाग्ने रोग हो । यो जानीजानी, मैले बहाना गरेर नाटकीय रुपमा लाग्ने भन्ने सोच्ने तरिका होइन । यो रोग नै भएको कारण कुनै पनि उमेरमा हुन्छ । डिप्रेसनमा गएर नै बालबालिकाले आत्महत्या गर्ने हो । त्यही भएर बालबालिकाहरूमा हुने डिप्रेसनबारे कुरा नगर्दा पनि यस्ता क्षतिहरू हामीले देख्न अथवा भोग्न परिरहेको छ ।

के-के गर्न सक्यौं भने आत्महत्या रोकथाम गर्न सकिन्छ ?

(क) सबैभन्दा पहिले मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्ने, बढ्ने, सुन्ने अथवा यसबारे चासो देखाउने गरौं र यो रोगबारे कुरा गर्न लाज नमानौं ।
(ख) हरेक आत्महत्या गर्ने व्यक्तिहरूलाई कुनै नकुनै समस्या भएर उनीहरूले आत्महत्या गर्न खोजेको हो भन्ने हिसाबले ती व्यक्तिहरूलाई सहयोग गरौं ।
(ग) परिवारहरूले माया ममता सबै दिउँ ।
(घ) समयमै यसको उपचार सम्भव छ भन्ने हिसाबले कसैले आत्महत्याको प्रयास गर्न लागेको या उसले आत्महत्याको कुरा गरेको छ भने विशेषज्ञहरूको सल्लाह सुझाव समयमै लिनुपर्छ ।
(ङ) उनीहरूको कुरा प्रत्येक परिवारका सदस्य र वरिपरिका मानिसहरूले विशेषगरि ध्यानपूर्वक सुन्नु जरुरी छ ।
(च) यदि त्यो समस्या बालबालिकामा हो भने उनीहरूलाई गाली-गलौज गर्ने, उनीहरूमाथि धेरै दबाब सिर्जना गर्ने, जिम्मेवारीहरू उसैमाथि बढी थुपारिदिनेजस्तो कामलाई कम गर्नुपर्छ ।

लकडाउनमा बढे आत्महत्याका घटना, मनोविद् भन्छन्- आशा पूरा नभए देहत्याग

आत्महत्याले सम्बन्धित परिवार र समाजमा कस्तो असर पार्न सक्छ ?
यसले एकदमै लामो समयसम्म असर गर्दछ । एकजनाको क्षतिले घर-परिवारलगायत उसको छरछिमेकी, वरिपरि, आफ्नो शाखा-सन्तान सबैलाई नै यसले लामो समयसम्म असर गर्छ । यसले एकदमै दुः खी महसुस गराउँछ । कतिपय आत्महत्या भएको परिवारहरूलाई उसलाई समयमा बचाउन सकिएन भन्ने लज्जाबोध हुने गर्दछ । जो गुम्यो उसको सम्झनाले परिवारका अन्य मानिसलाई भावनात्मक रुपमा क्षति गर्ने हुन सक्छ । एकजना कसैले आत्महत्या गरेको खण्डमा परिवारदेखि लिएर समुदायसम्मलाई हुने गर्दछ । त्यसकारण एकजनाको क्षतिले गर्दा यसले धेरै मानिसलाई असर गर्ने भएकाले आत्महत्याबारे जहिले पनि खुलेर कुरा गर्नुपर्ने हुन्छ । गुमेका मान्छेहरूलाई पनि श्रद्धापूर्वक उसलाई सम्झना गरौं । उसलाई गुमाएर भएका क्षतिहरूलाई अब हुन नदिउँ भनेर त्यससँग सम्बन्धित कुराहरू गरौं । मानसिक स्वास्थ्य भनेको हाम्रो सिंगो टाउको हो । सिंगो टाउकोमा दिमाग छ । दिमागभित्र सोच्न सक्ने क्षमता छ । त्यसैले यसबारे हामीले यसबारेमा खुलेर कुरा गर्नैपर्ने हुन्छ र अनि मात्रै शारीरिक व्यवहारहरू हुने हुन् । त्यसकारण हामी सबैजनाले प्रत्येक परिवारमा खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्छ । परिवारमा खुलेर कुरा गर्ने वातावरण भयो भने यस्ता क्षतिहरूलाई न्यूनिकरण गर्न धेरै हदसम्म सहयोग पुग्छ ।

प्रतिक्रिया