शुक्रबार, चैत १६, २०८०

विपत्‌बाट १० वर्षमा ४० अर्ब नोक्सान

पूर्वसूचना प्रणाली समुदायसम्म पुर्‍याउन नसक्नु नै विपत् निम्त्याउने ठूलो कमजोरी हो ।

नेपालखोज २०७८ कार्तिक ४ गते ८:५९

यतिबेला सोच्दै नसोचेको अनि कल्पनै नगरेको घटना भएको छ । नेपालमा २०१७ सालमा पनि यस्तै खालको बाढी-पहिरो आएको थियो । जहाँ यस्तै खालको धनजनको क्षति भएको थियो । खास गरी सुदूरपश्चिममा यस्तै खालको घटना २०४० सालमा भएको थियो । त्यसयता यस्तो अवस्था आएको थिएन । अहिले फेरि ३८ वर्षपछि त्यस्तै घटना दोहोरिएको छ । त्यसबेला पानीको मात्रा कति थियो भन्ने नाप्ने कुनै प्रणाली नै थिएन तर अहिले कहाँ कति मिलिमिटर पानी पर्‍यो भनेर नाप्ने प्रणाली पनि छ । मैले अहिलेको यस्तो अवस्था आउँदै छ है भनेर दसैँ अघि नै भनिसकेको थिएँ । मानिसले त्यतिबेला खासै वास्ता गरेनन् । जल तथा मौसम विभाग पनि त्यसपछि मात्रै तातियो । अहिलेको घटना हुनुको मुख्य कारण अफगानिस्तानको वरिपरिको क्षेत्रमा पश्चिमी वायुको प्रभाव आयो ।

डा. धर्मराज उप्रेती

बंगलादेशको खाडीमा न्यूनचापीय रेखा बन्यो । र, दुवैको इन्ट्रयाक्सन भयो । दुवैको इन्ट्रयाक्सन कसरी भयो भने मनसुन नेपालबाट अक्टोबर ८ मा बाहिरियो । बाहिरिनुको अर्थ के हुन्छ भने कुलिङ इफेक्ट हुन्छ । नेपालबाट समुद्रसम्म जान्छ भन्नुको अर्थ यतातिर प्रभाव घट्ने र हाइ प्रेसर एरिया रहने भन्ने हो । त्यसबेला एउटा पाटो साइन भन्ने समुद्री आँधी गुजरातबाट पश्चिम दिशातिर लाग्नु, अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव बढ्नु, बंगालको खाडीमा न्यूनचापीय अवस्था उत्पन्न हुनु र यता तल्लो तहमा एक खालको दबाब बढ्नु यी तिनैको टकरावबाट एउटा नयाँ सिस्टम डेभलप भयो । मैले त्यो सिस्टमलाई मोनिटरिङ गरिराखेको थिए । इन्डियाले त्यो मोनिटरलाई अगाडी बढाउँदै लग्यो । सुरुमा उसले पहेँलो बत्ती बालेको थियो । पछि जब उत्तराखण्डको उत्तर प्रदेशमा रातो अलर्ट जारी गर्‍यो । त्यसपछि मैले यो एकदमै खतरा हुँदै छ भनेर मेरो फेसबुकमा पनि लेखे तर त्यसबेलासम्म पनि अरुबाट रेस्पोन्स आएन । हुनु के पर्थ्यो भने जब इन्डियाले रेड अलर्ट जारी गरेको समयमा नेपालमा पनि किसानहरूलाई दुई तीन दिन ठूलो वर्षा हुँदै छ । तपाईंहरू बाली नकाट्नुस्, काटेको छ भने तुरुन्तै भित्र्याउनुस् भन्ने खालको एड्भाइजरी जारी गरिदिएको भए किसानको अहिलेको अवस्था हुँदैन थियो ।

जुन अहिले किसानले पीडा भोगिरहेका छन् । तर त्यसमा पनि हामी चुक्यौं । त्यसको प्रमाण हाम्रो अगाडि छर्लंग छ । यद्यपि, अहिले मौसममा सुधार हुँदै गएको छ । तर, फेरि अक्टोबर २३ मा एउटा नयाँ सिस्टम उत्पन्न हुँदै छ । त्यसले अहिलेसम्म उत्तराखण्ड एरियामा पहेँलो बत्ती मात्रै बालिएको छ । तर त्यो अब कसरी डेभलप भएर जान्छ त्यो भने हेर्दै जानुपर्छ । त्योबाहेक नेपालमा रहेको अहिलेको प्रभाव शुक्रबारदेखि पूरै हटेर जानेछ । अहिलेको मनसुनी प्रभाव प्रदेश १ लगायत देशका विभिन्न ठाउँमा परे पनि सुदूरपश्चिम प्रदेशको जस्तो विध्वंश कहीँ पनि मच्चाएन । यसले ठूलो धनजनको क्षति भएको छ । सबैजसो पूर्वाधारहरूमा निकै क्षति पुर्‍याएको छ । जति अहिले लगानी डुब्यो त्यो करोडौंले भ्याउँदैन अर्बौंको लगानी खेर गएको अवस्था छ । चार दिनमा अर्ब खर्च हुनु भनेको नेपाल जस्तो गरिब देशले धान्ने विषय नै होइन ।

अहिलेको क्षति हुन नदिन के गर्नुपर्थ्यो ?
प्रभावमा आधारित पूर्वसूचना प्रणाली अर्थात् अब नेपालको यो यो ठाउँमा यति पानी पर्दै छ । यो पानीले धान बिगार्छ । यति पानी पर्दा यो यो ठाउँमा पहिरो जान सक्छ भनेर सेना, प्रहरी जसरी अहिले खटिरहनु भएको छ, त्यसरी उहाँहरूलाई पहिला फोरकास्टको इनफरमेसन राज्यले दिएको भए र किसानहरूलाई अबको केही दिन पानी पर्दै छ है धान नकाट्नुस् भनेर टेलिभिजन, रेडियो, पत्रपत्रिकालगायत सम्पूर्ण सञ्चारमाध्यामबाट जानकारी गराएको भए किसानले धान काट्दैन थिए ।

त्यसले किसानको धान बालीमा अहिलेको जस्तो क्षति हुँदैन थियो । पूर्वसूचना भनेको समुदायलाई खतराबाट बचाउनु हो तर, सूचना निकालेर मात्रै होइन कि त्यो सूचना पुगाउने तरिका महत्त्वपूर्ण हुन्छ । यति वर्षाले यो यो ठाउँमा बाढी र पहिरोको जोखिम हुन सक्छ भन्ने जानकारी समुदायसम्म पुर्‍याउन नसक्नु नै हाम्रो सबैभन्दा ठूलो कमजोरी छ ।

यस्तै धेरै मानवीय क्षति भएको छ । पहिरोको जोखिम हाम्रो नेपालमा सबै ठाउँमा छ । चौबीस घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भयो भने बाढी र पहिरो जान्छ भन्ने हाम्रो थ्रेसहोल्ड छ । अहिले चौबीस घण्टामा ३६१ मिलिमिटर वर्षा डडेल्धुराको साहुखर्क भन्ने ठाउँमा मात्रै परेको छ । डडेल्धुराको धेरै स्टेसनमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । १४० कट्नु भनेकै खतरा हो भने पछि २४०, ३६१ मिलिमिटर पानी भनेको हाम्रो भूगोलले धान्नेभन्दा बढी भएको हुँदा यस्तो खालको विपत् आएको हो ।

अबको विकल्प के ?
१. पूर्वसूचना प्रणालीको विकास र विस्तार
२. प्रभावमा आधारित पूर्वसूचना प्रणालीलाई अगाडि बढाउने
३. विपत् जोखिम न्यूनीकरण प्राधिकरणको जुन रेस्पोन्सको काम हो त्यसलाई पूर्वतयारी र प्रतिकार्य दुवैमा समिति गठन गरेर त्यसमा कति पानी पर्दै छ, कति बाढी आउँदै छ भन्ने विश्लेषण गर्ने, बुलेटिन पनि निकाल्ने र त्यसलाई ७५३ वटै स्थानीय निकायका स्थानीय आपतकालीन केन्द्रका माध्यमबाट सूचनाको वितरण गर्ने ।
४. सब निकायहरू, स्थानीय आपत्‌कालीन केन्द्र, प्रदेश आपत्‌कालीन केन्द्र र केन्द्रीय तहको राष्ट्रिय आपत्‌कालीन केन्द्रलाई तन्दुरुस्त बनाउने, त्यसमा उपकरणहरू राख्ने, जनशक्ति थप्ने, तालिम दिने र डेडिकेटेट मान्छे राख्ने । एउटा विपत्‌ नै हेर्ने मान्छे र विपत्‌सम्बन्धी नै ज्ञान भएको मान्छे ७५३ वटै मै राख्नुपर्छ । त्यो राखिसकेपछि मात्रै हामी ठूलो धनजनको क्षति हुनबाट रोक्न सक्छौं । होइन भने १० वर्षमा ४० अर्ब यस्तै विपत्‌मा हाम्रो नोक्सान भएको छ । २०१० देखि २०२० सम्मको अवधिमा र त्यो यस्तै तरिकाले जाने हो भने नेपालले धान्न सक्दैन ।
(जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया