बुधबार, जेठ २, २०८१

हावाबाट पानी !

नेपालखोज २०७८ कार्तिक ९ गते ११:२२

काठमाडौं । अहिले अमेरिकाको क्यालिफोर्नियामा मानिसहरुले हावाबाट पानी बनाउने मेसिन खरीद गरिरहेका छन् । भारतका केही रेल स्टेसनमा पनि हावाबाट पानी बनाउने मेसिनको प्रयोग सुरु गरिएको छ । यो महङ्गो मेसिनले केही मानिसको पानीको समस्या त समाधान गर्ला तर के यो समुदाय स्तरको पिउने पानीको समस्या समाधान गर्न सक्ने दिर्घकालिन समाधान हो ?

यो मेसिनले एयर कन्डिसनरले जस्तै तारको प्रयोग गरेर हावालाई चिसो बनाउँछ र त्यसबाट निस्कने पानीको थोपालाई एउटा भाँडा जम्मा गर्छ । यो आविष्कारको डिजाइनमा मद्दत गर्ने इन्जिनियर टेड बाओमन भन्छन्, ” हाम्रो मान्यता के हो भने हावाबाट पानी निकाल्नु जादु होइन, यो एउटा विज्ञान हो । हामी यी मेसिनको मद्दतले त्यही गरिरहेका छौं । “

बाओमन वासिङ्टन स्थित सुनामी प्रोडक्ट्स नामको कम्पनीमा डिजाइन इन्जिनियर छन् । उनको कम्पनीले हावामा विधमान आद्रताबाट पानी निकाल्ने यो विधि हालसालै विकसित गरेको हो ।

बाओमन भन्छन् उनको कम्पनीको मेसिनले हावाको आद्रताबाट निस्किएको पानीलाई फिल्टर गरेर पिउन लायक बनाउँछ । यो मेसिनलाई घर,अफिस, पशु फार्मलगायत अरु थुप्रै ठाउँमा प्रयोग गर्न सकिन्छ । यो प्रविधिले विशेषरूपमा ती क्षेत्रमा राम्रोसँग काम गर्छ जहाँ बारै मास कुहिरो वा हुस्सु लागिरहन्छ । आकारको हिसाबले यो मेसिनले एक दिनमा ९ सय देखि साढे ८ हजार लिटरसम्म पानी निकाल्न सक्छ ।

हाल यो मेसिन सस्तो पनि छैन । अमेरिकामै यसको मूल्य ३० हजार डलरदेखि २ लाख डलरसम्म पर्छ । तापनि सुख्खाग्रस्त क्यालिफोर्नियाका कतिपय मानिसहरु घरको पानीको आवश्यकता पूरा गर्न यो मेसिन खरीद गरिरहेका छन् ।

उपभोक्ताहरु भन्छन् – यो मेसिनले दैनिक उत्पादन गर्ने पानीबाट घरको आवश्यकतासाथै बगैँचाको आवश्यकता पनि पूरा हुन्छ ।

कतिपयको रायमा पानीको बोतल वा जारमा हुने खर्च भन्दा निकै कम खर्चमा यो मेसिनबाट पानी लिन सकिन्छ । समयसँगै यो मेसिन थप परिस्कृत हुने र यसको लागत तथा अपरेसन खर्च पनि कम हुने अपेक्षा गरिन्छ । अहिले भने यो मेसिन महङ्गो मात्र छैन यसलाई चलाउन प्रशस्त उर्जा समेत चाहिन्छ । यद्यपि यो मेसिनमा शाैर्य ऊर्जा प्रयोग गर्ने हो भने यसको अपरेसन खर्च केहि कम हुनेछ ।

क्यालिफोर्निया विश्वविद्यालयका विशेषज्ञ तथा जलविज्ञानका शोधकर्ता हेलेन डाल्के भन्छिन् – यो प्रविधि घरेलु प्रयोगका लागि ठीक छ । विशेष गरेर ग्रामीण इलाकाहरुमा । यद्यपि यो समुदाय स्तरको पानीको व्यापक समस्या समाधान गर्ने व्यावहारिक उपाय भने होइन ।

डाल्केका अनुसार पानीको अभाव रोक्न सुख्खा लाग्न दिनु हुँदैन । त्यसका लागि हामीले ग्लोबल वार्मिङ बिरुद्धको लडाइमा ध्यान केन्द्रित गर्नुपर्नेछ । हामीले साच्चिकै स्थिति बदल्ने हो भने जलवायुलाई तातो हुनबाट रोक्नसक्नु पर्छ ।

एपीको रिपोर्टमा आधारित

प्रतिक्रिया