‘सरकारले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधवार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पीयनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले नेपाल प्रहरीको संगठनभित्र सुधारको काम गर्न लागेको बताए ।
नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरु उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनले उल्लेख गरे । प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको उनले जानकारी दिए ।
गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए ।
उनले भने– ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ । आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ ।’ उनले आगामी वर्षको प्रतियोगितामा विजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताए ।

प्रतिक्रिया