बुधबार, वैशाख २६, २०८१

अफगानिस्तान माथि निर्मित १० उत्कृष्ट चलचित्र !

नेपालखोज २०७८ कार्तिक १३ गते ८:३०

काठमाडौं । कैंयन अन्तराष्ट्रीय चलचित्र अफगानिस्तानको पृष्ठभूमिमा निर्माण भएका छन् । अफगानिस्तानलाई अझ नजिकबाट बुझ्न यी चलचित्र सहयोगी साबित हुन्छन् ।

हवा, मरयम, आएसा (२०१९)
अफगान निर्देशक सहरा करिमीको यो चलचित्र भेनस फिल्म फेस्टिवलमा सहभागी भएको थियो । यो चलचित्रमा आ-आफ्नै तरिकाले गर्भावस्थाको परिस्थितिसँग जुधिरहेका काबुलका तीन महिलाको कथा भनिएको छ। सहरा करिमीले हालसालै सोसल मिडियामा एक खुला पत्र लेख्दै संसारसँग आफ्नो देशलाई मद्दत गर्न आग्रह गरेका थिए ।

ओसामा (२००३)
१९९६ – २००३ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला धेरैजसो क्षेत्रमा महिलाहरूलाई काम गर्ने अनुमति थिएन । यस्तो नियमबीच जुन परिवारका पुरूष सदस्यको मृत्यु हुन्थ्यो त्यो परिवारमा ठुलै विपत्ति आइलाग्थ्यो । ओसामा एउटी त्यस्ति किशोरीको कथा हो जो आफ्नो परिवारलाई मद्दत पुर्याउन केटा बनेर काम गर्छिन । यो १९९६ पछिको त्यस्तो पहिलो चलचित्र हो जसको सम्पूर्ण छायाङ्कन अफगानिस्तान भित्रै गरिएको छ ।

द ब्रेडविनर (२०१७)
आयरल्यान्डको स्टुडियो कार्टुन सलुनले ‘ओसामा’सँग मिल्दो-जुल्दो कथामा एउटा एनिमेसन फिल्म तयार पारेको थियो । यो चलचित्र डेब्रा एलिसको प्रसिद्ध उपन्यासमा आधारित थियो भने यो चलचित्र ओस्कार एवार्डमा नोमिनेट समेत भएको थियो ।

द काइटरनर (२००७)
खालिद हुसेनको उपन्यासमा मार्क फोरस्टरले तयार पारेको यो चलचित्रमा अफगान जीवनका अनेकौं पक्षको संवेदनशील चित्रण गरिएको छ ।

कन्दहार (कंधार) (२००१)
इरानका महान फिल्ममेकर मोहसिन मखमलबाफको यो चलचित्र क्यानाडामा बसोबास गर्ने एक अफगान महिलाको कथामा आधारित छ । ती महिला आफ्नी बहिनीलाई आत्महत्या गर्नबाट रोक्न अफगानिस्तान घर फर्किन्छिन् । यो फिल्मको प्रिमियर कान फिल्म महोत्सवमा गरिएको थियो ।

एट फाइव इन द आफ्टरनून (२००३)
मोहसिन मखमलबाफकी छोरी समिराले अफगान महिलाहरुमा आधारित रहेर यो चलचित्र तयार पारेकी हुन् । यो चलचित्रमा देशको राष्ट्रपति बन्ने सपना देखिरहेकी एक अफगान महिलाको कथा समेटिएको छ ।

इन दिस वर्ल्ड (२००२)
यो चलचित्रले एक अफगान शरणार्थी पाकिस्तान हुँदै लन्डन पुगेको अवैध यात्राको वर्णन गरेको छ । माइकल विन्टरबटमले यो चलचित्रलाई डक्युमेट्री शैलीमा प्रस्तुत गरेका छन् । यो फिल्मले बर्लिनमा गोल्डन वेयर र BAFTA को सर्वश्रेष्ठ गैर-अंग्रेजी भाषी चलचित्रको पुरस्कारसमेत जितेको थियो ।

लोन सर्वाइवर (२०१३)
यो चलचित्र अमेरिकी नेवी सिल मार्कस लटरेलको पुस्तकमा आधारित छ जसमा २००५ मा कुनार प्रान्तमा चलाइएको ‘अपरेशन रेड विंग्स’ को कथा बयान गरिएको छ । उक्त अभियानका क्रममा लटरेलका तीन जना साथी मारिएका थिए र उनी एक्लै अमेरिका फर्किएका थिए ।

रेन्बो – ३ (१९८८)
सिल्वेस्टर स्टेलनको विश्व प्रसिद्ध सिरिज रेन्बोको तेस्रो चलचित्रमा नायक रेन्बो आफ्नो पूर्व कमान्डरलाई बचाउन अफगानिस्तान पुग्छन् ।

चार्ली विल्सन्स वार (२००७)
यो चलचित्रको कथा अमेरिकाले रूसका विरुद्ध मुजाहिद्दीनलाई मद्दत गरेको समयको हो । तिनै मुजाहिद्दीनले पछि गएर तालिबान र अल कायदा जस्ता संगठन निर्माण गर्यो । टम हक्स अभिनित यो चलचित्र माइक निकोलसले निर्देशन गरेका हुन् । चलचित्र चार्ली विल्सन्स वार त्यस समयको उत्कृष्ट चलचित्र हो ।

प्रतिक्रिया