‘आगामी निर्वाचन तीनवटै तहको एकैसाथ गर्नुपर्छ’

नेपालखोज २०७८ कार्तिक १३ गते २०:०३

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन आयोगका प्रमुख टंक राईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन् ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला आएका नेता राईले जनतालाई झन्झट र राज्यको खर्च जोगाउन पनि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताए ।

प्रेस सेन्टर नेपालले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनका नाममा जनतालाई सास्ती र रोज्यको खर्च बढी गर्न नहुने तर्क राखे ।

‘देशमा तीनवटै तहको निर्वाचन गर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा जनतालाई हुने झन्झट कम गर्न र राज्यबाट हुने खर्च जोगाउन पनि सङ्घ, प्रदेश र स्थानीय तहगरी तीनवटै तहको निर्वाचन एउटै मिति र खर्चमा गर्नुपर्छ ।’

पूर्व सांसदसमेत रहेका नेता राईले वर्तमान सरकार प्रतिगामी शक्तिविरुद्ध निर्माण भएको बताउँदै आगामी निर्वाचनसमेत यही सरकारले गर्ने दाबी गरे ।

‘आगामी निर्वाचनमा गठबन्धनबीच एउटै चुनाव चिह्नबाट चुनाव लड्ने गरी गृहकार्य भइरहेको छ’, उनले भने, ‘चुनाव चिह्न प्राविधिक विषय हो, आगामी निर्वाचनमा गठबन्धनमध्ये कुनै पनि एउटा राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नेगरी एउटै चुनाव चिह्नमा सहमति हुन्छ ।’

दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धनका नेता पनि साझा कार्यक्रम बनाउन थालेका छन् । जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सक्रिय छन् ।
रासस

प्रतिक्रिया