लक्ष्मीपूजामा १२७० मेगावाट विद्युत् माग

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोहीअनुसार आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सवा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमान्ड १४७ मेगावाट बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमान्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उप-कार्यकारी निर्देशहरुसहितको टोलीले स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।


प्रतिक्रिया