हामी केपी ओलीकै नेतृत्वमा अघि बढ्छौं : तामाङ

नेपालखोज २०७८ मंसिर ४ गते १४:२०

काठमाडौं । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै तामाङले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘अहिले हामी केपी ओलीकै अगुवाईमा अघि बढ्छौं । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौं । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ । म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ । महािधवेश नपछि पार्टी सदस्यताको आह्वान गर्दैछौं । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख प्लस छ । महाधिवेशन लगत्तै हामी पन्ध्र लाख बनाउँछौं । हामी एकतावद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौं ।’

उनले महाधिवेशनमा बजेटको हिसाबले साँढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए । आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भैसकेको पनि तामाङले जनाए ।

उनले महािधवेशन प्रतिनिधिहरुको अहिले रजिष्टर र ईन्ट्री प्रोसेस सुरु भएको पनि बताए । उनले पार्टीमा नेताहरु एक आपसमा झगडा गरेको भन्दा मिलेको र एकताबद्ध भएर अघि बढेको समाचार नै ठूलो हुने पनि सुनाए । उनले कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराएका छन् । तर, विभिन्न देशका विभिन्न दलबाट आफुहरुलाई शुभकामना सन्देश प्राप्त भैरहेको उनले जनाए ।

प्रतिक्रिया