शनिबार, वैशाख २९, २०८१

खत्तमको खेल !

नेपालखोज २०७८ मंसिर ७ गते १२:३२

काठमाडौं । पत्रकार केदार शर्माले फेसबुकमा एउटा स्टाटस लेखे ।

पहिले उनको स्टाटस पढौं-
म जहाँ पनि ‘देश खत्तम भयो’ भन्ने कथन सुन्छु र छक्क पर्छु।
कारण मैले ‘देश खत्तम भएको’ देखेको छैन, बरु धेरै हिसाबले बलियो भएको देखेको छु ।
तपाईंले देश खत्तम भएको कहाँ कहाँ देख्नुभएको छ, मलाई औँल्याएरै देखाइदिनुस् न !
तपाईं आफू (वा परिवार) ३० वा २० वा १५ वर्षअघिका तुलनामा कमजोर हुनुभएको छ कि बलियो ?
यसमा खुला पासपोर्टले दिएको अवसरको भूमिका कति छ ?
कुनै व्यक्ति वा परिवार आर्थिक वा सामाजिक हिसाबले ‘खत्तम भएको’ देख्नुभएको छ ?
कोही सुकुम्बासी भएको देख्नुभएको छ ? कि हिजोका सुकुम्बासीले घर-घडेरी जोडेको देख्नुभएको छ ?

जनता बलिया हुँदै जाने र देशचाहिँ ‘खत्तम हुने’ हुन्छ ?

म राजनीतिलाई कमजोर मान्छेको आँट, बल र मर्यादा बढाउने औजारका रूपमा बुझ्छु । गएको ७० वर्ष (सात साल यता ), ६० वर्ष (पञ्चायत यता ) ४० वर्ष (जनमत सङ्ग्रह यता), ३० वर्ष (बहुदल यता ) र १५ वर्ष (गणतन्त्र यता ) तपाईं आफूले देखे चिनेका मान्छेको आँट, बल र मर्यादाका परिप्रेक्षमा हेर्नुस् त ?

‘नयाँ राजा जन्मिए’ भन्ने अर्को गलत कथनलाई किन हामी मलजल गरिरहेका छौं ? ती हामीले नै छानेका मान्छे होइनन् ? र अर्घेल्याइँ गर्नेलाई चुनावमार्फत गलहत्याउने अधिकार हामीसित छैन र ?
र यो सबै लोकतन्त्रले दिएको होइन र ?

बेलाबेला लोकतन्त्र जिन्दावाद भनेर चिच्याउन मन लाग्दैन र ?
मलाई त लाग्छ !

शर्माको यो स्टाटसमा रोचक टिप्पणी-प्रतिटिप्पणीहरु आएका छन् । हेरौं केही चुनिएका प्रतिक्रिया :

किशोर नेपाल
गजब ।

रमेश ज्ञवाली
म पनि खत्तमै भयो लाग्ने मनुवा हो , यो पढे पछि भने कसो कसो भाको छ !

योगेश योगेश
लोकतन्त्र र गणतन्त्रले हामीलाई बलियो बनाएको छ। सबभन्दा ठूलो कुरा निशंकोच खत्तम भयो भन्न सक्ने वातावरण दिएको छ र सुधार भएका कुरालाई पनि नजरअन्दाज गर्नसक्ने ‘आत्मविश्वास’ दिएको छ ।

हरि थापा
खत्तम तिनैले भन्ने गर्छन् जस्ले छोटो अवधिमा अकुत कमाएका छन र नवधनाढ्य वर्गमा रुपान्तरण भएका छन् । हो, यो नकारात्मक न्यारेसनलाई बदल्नु जरुरी छ ।

राजीव घिमिरे
‘यो उमेर पुगेको छोराको जुँगा उम्रेको देखेर बाउ मख्ख परेको जस्तै हो ।’ भन्छन् धेरैले, तर मलाई पनि यो ‘उमेर’ ले हैन लोकतन्त्रले नै हो भन्ने लाग्छ। मैले पनि साथ साथै भने लोकतन्त्र जिन्दावाद !

सुमी सिंह
म ओतप्रोत भए हजुरको सकारात्मक सोच ले, म चाहन्छु हामी सबैले यसरी नै सोच्न सकौं, देश साँच्चै खत्तम किमार्थ भएको छैन, मेरो हृदयबाट सहमति हजुरसँग ।

आरडी कुलुङ नेपाली
नेपाली अचाक्ली अधैर्य छन् । उनीहरुलाई अस्थिरता मन पर्छ ।

विशाल नेपाल
मामा सेयर नै गर्न चाहें ।

विज्ञान ढकाल
तर हामीले चोरहरु मध्ये अलिक राम्रो चोरलाई छान्नुपर्ने बाध्यता छ । कसैलाई पनि भोट गर्दिनँ भन्न पाइँदैन ।

कल्पना भेटवाल
एकदम चित्तबुझ्दो कुरा ! देश खत्तम् भयो भनेर खुलमखुल्ला विचार प्रकट गर्न पाइएको कुरा किन भुल्छौं हामी ?
सानी छँदा राम कार्कीले गाउँमा हामीलाई लुकिछिपी कम्युनिजमबारे पढाउँथे, हामी भुराहरु-बसाईं हिँडेको ताँतीले… र रामेश-मञ्जुलका गीतहरु मुसाले पनि नसुन्ने स्वरमा गाउँथ्यौं, हाम्रो गाउँको चन्द्रनहर-हेडबाँधको चौतारोमा बसेर, किशोर र युवावयबीच कचल्टेका हामी केही केटाकेटीहरु क्लब खोल्न बैठक बस्दा प्रहरीले हामीलाई सोधखोज गर्दै मार् झपारेर थरहरी बनाइदिएको थियो ।
मेरा आफ्नै प्रहरी पिताजीले मेरो कापीमा ‘सर्वहाराका लागि हतकडी सिवाय हार्नलाई केही छैन जित्नलाई सारा संसार छ’ लेखिएको देखेपछि ‘राजाको सिन्दूर पहिरेको प्रहरीकी छोरी भएर तँ राजाकै गाथगादी ताक्ने ? तँ अत बन्ने ?’ भन्दै कलिलो गालामा बाघेझापु हानेर रौद्र रुप देखाउनुभएको थियो एक बाजी !
महगु लेखीको चुनाव जुलुस र सीताराम लालाका हर्कबढाईंमा मात्र हो हामीले जिन्दावादको इन्कलाबी नारा लगाउन पाउने उतिखेर ।
नर्सिङ क्याम्पस विराटनगरमा पहिलोपटक स्ववियु खोल्दाताका प्रशासनले गरेको दुर्व्यवहार र दिएको सकसको कुरो गरिसाध्य छैन । काठमाडौंको आरआर क्याम्पसको संगीत सन्ध्या कार्यक्रममा सन्जय नेपाल नाउँबाट भूमिगत रही लेखन गर्ने आजका प्रदीप नेपाल अचानक सार्वजनिक हुँदा परिवेश बडो भयप्रद थियो ।
यसरी बितेका केही दशकयताका अनेक सकारात्मक परिवर्तनहरुको साक्षी छु म ! त्यसैले तीव्र अनुभूति हुन्छ मलाई- देश खत्तम् भएको छँदै छैन !

दिवाकर पोखरेल
मलाई लाग्दैन, राजनीतिको नाममा ठूला माछाले देश खोक्रे पारे, हो टालेको र फाटेको लुगा, जुत्ता लगाएको देख्नुपरेको छैन, त्यो त सिलप्याक बक्सामा आउने मान्छेको कमाइले हो, हाम्रा कुलंघारले कहीँकतै रोजगार सिर्जना गरेको छ ? अब फेरि सिलप्याक मान्छेसँग चन्दा माग्न आउँदै छन् ।

केदार शर्मा (दिवाकर पोखरेलको टिप्पणीमा प्रतिटिप्पणी)
‘मलाई लाग्दैन’
नलाग्न पायो । लोकतन्त्रको मजा यसमै छ। यसले आफूलाई जिन्दावाद नभन्नेहरूलाई ‘अराष्ट्रिय तत्त्व’ घोषणा गर्दैन ।

‘राजनीतिको नाममा ठूला माछाले देश खोक्रे पारे’
हो, भ्रष्टाचार बढेको छ (वा भ्रष्टाचारका बारेमा खुलेर बोल्न पाइएको छ)। तर देश खोक्रो भएको छैन। तथ्याङ्कले त्यो कुरा बताउँदैन। ऋणको रकम बढेको छ, कामको परिमाण र परिणाम पनि बढेको छ। यो तथ्याङ्कको कुरा हो।

‘टालेको रफाटेको लुगा, जुत्ता लगाएको देख्नुपरेको छैन’
परिवर्तन यतिमा मात्र सीमित छैन । सामाजिक सुरक्षाका दिशामा हाम्रो नीति र सामर्थ्य दुवै बढेको छ । वन बढेको छ र मान्छेको दैहिक दुःख घटेको छ । बालमृत्युदरमा र महिला स्वास्थ्यमा आएका परिवर्तनहरूको टाइमलाइन हेरौँ, सबै काम २०४७ पछि भएको हो ।

‘त्यो त सिलप्याक बक्सामा आउने मान्छेको कमाइले हो’
आंशिक सत्य हो, तर कुरा यो मात्र होइन। हामीले अरबको दानवीकरण अति गरिसक्यौँ । तर त्यहाँ गएर काम गर्ने र कमाएर फर्किनेहरूलाई सोधेनौँ, किन मान्छे राजीखुसी पनि विदेश गइरहेका छन् ? विदेशमा नेपाली मर्नु नराम्रो कुरा हो तर जाने र फर्किनेको तुलनामा त्यहाँ निधन हुनेहरूको सङ्ख्या धेरै सानो छ । सकारात्मक पक्ष पनि हेरौँ ।

‘हाम्रा कुलंघारले कहीँ कतै रोजगार सिर्जना गरेको छ ?’
‘हाम्रा कुलंघार’ हाम्रै हुन्, तिनलाई हामीले नै जन्माएर हुर्काएका हौँ । अर्काका कुलंघारले सडकमा मान्छे किच्याएर हिँड्दा पनि बोल्न नपाइने र त्यसैलाई ढोग्नुपर्ने व्यवस्थाभन्दा मलाई त आफ्नै कुलंघारलाई अर्को चुनावमा सिध्याउने व्यवस्था गतिलो लाग्छ। जिन्दावाद त्यसैलाई भनेको हुँ ।
‘अब फेरि सिलप्याक मान्छेसँग चन्दा माग्न आउँदै छन्’
मसित त कहिल्यै मागेका छैनन् । भोट मात्र दिन्छु ।

सर्वेश शर्मा
समर्थनसहित,
‘नेपाल अहिलेसम्म जति जे बनेको छ, सबै तत्कालीन राजा र पञ्चायतका कारण भएको हो, त्यसपछि नेताहरुले ‌केही गरेनन्’ भन्ने भाष्य जबरजस्त स्थापित गराउन खोजिएको छ र केही हदसम्म सफल पनि भएको देख्छु, सामाजिक ‌सन्जाल हेर्दा ।
भारतमा ब्रिटिस ‌उपनिवेश नभएको भए के हुन्थ्यो र त्यसले के प्रभाव पार्‍यो भन्ने विषयमा केही विचार सुन्न पाइए‌ जस्तै पञ्चायती व्यवस्था र विशेषगरी महेन्द्रीय मोडेलको ‘रामराज्य’ को ‘विकास र समृद्धि’ बारे केही तथ्यपरक लेख, विचार सुन्न /पढ्न पाइन्छ कतै ?

प्रतिक्रिया