शुक्रबार, वैशाख १४, २०८१

फरक

मनोहर पोखरेल २०७८ मंसिर ११ गते ९:३६

खचाखच थियो बस । सिट सबै भरिएका थिए । मलाई झुन्डिएको देखेर सिटमा बसेको एक युवक विजयभावमा मुस्कायो । सिट फोल्डिङ गर्दै खुट्टा अझै तन्काएर आराम फरमायो । बस रोकिए पछि एक ज्येष्ठ नागरिक महिला चढेकी थिइन् । भिडले ठेलेर उसकै छेउमा उभिन पुगेकी थिइन् । हत्तपत्त उसले आँखा बन्द गरेर सुतेको अभिनय गरेको थियो । अघिल्लो स्टेशनमा बस रोकिनासाथ एक सुन्दर युवती चढेकी थिइन् । उनी चढ्नासाथ गाडीभरी मगमग अत्तरको बासना छरिएको थियो ।

गाडी आफ्नो गतिमा गन्तव्यतर्फ हल्लिदै लम्कँदै थियो । यात्रा गर्दै गर्दा उसले आँखा चिम्लेको थियो । अत्तरको वासनाले मोहित ऊ युवतीसँग टाँसिन पुगेको थियो । केहीबेरमा उसले बिस्तारै पालैपालो दुवै आँखा खोल्यो । निद्राबाट ब्युझेझैं गरी ती केटीलाई पुलुक्क हेऱ्यो । युवतीलाई उसले क्षणभर टोलाएर हेऱ्यो र मख्ख पऱ्यो ।

हतारहतार केटो उठ्यो र भन्यो- ‘तपाई बस्नुस ।’ केटीले डराएर ध्यान नदिएझै गरेकी थिइन् । युवकले दोहोऱ्याएर भनेको थियो- ‘म धेरै बेर बसेँ, अब तपाई बस्नुस, म उभिन्छु ।’ युवतीले चारैतिर हेरिन पछाडि उभिएकी ज्येष्ठ नागरिक महिलातर्फ उनको ध्यान टक्क अडियो । ‘आमा तपाईँ बस्नुस्, म त उभिएरै यात्रा गर्न सक्छु ।’ आमालाई आग्रह गर्दै युवतीले पाखुरा समाएर सिटमा बसाएकी थिइन् ।

प्रतिक्रिया