कांग्रेस महाधिवेशन : साझा उम्मेद्वारको विकल्प नभएको भन्दै प्रदर्शन

काठमाडौं । संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिदैँ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा आज आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरुले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकतावद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरुले प्रदर्शन गरेको बताए । नेताहरुले त्याग गरेर भएपनि पार्टीलाई एकतावद्ध बनाएर अगाडी लानुको विकल्प नभएको उनको भनाई छ ।
युवा नेताहरुले एकता मात्रै जितको आधार हो, साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने, नेताहरु मिल्नुस्, कांग्रेस जोगाउनुस्, कांग्रेस जोगाउने कि कुर्सी ? लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै सो प्लेकार्डहरु बैठकमा उपस्थित भएका नेताहरुलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया