बिहीबार, जेठ ३, २०८१

भाग्य कर्मका कुरा !

नेपालखोज २०७८ मंसिर २४ गते ८:००

मलाई पहिले ज्योतिषीका फलादेशहरुमा धेरै त होइन अलिअलि चाहिँ विश्वास लग्दथ्यो तर अचेल अलिअलि पनि लाग्न छोड्यो।

मलाई अचेल समय कहिले पनि खराब हुँदैन भन्ने लाग्छ । कुनै पनि मानिसको जीवनमा समय जहिले पनि एउटा अनुकूल र अर्को प्रतिकूल हुन्छ । हाम्रो जीवनको अनुकूल समयलाई हामी राम्रो समय भन्छौं भने हाम्रो प्रतिकूल समयलाई खराब भन्छौं ।

अनुकूल समयमा धैरै कर्महरु (कामहरु) गर्नु पर्दैन र काहीँ कतैबाट चुनौती पनि आउँदैन भने प्रतिकूल समय भनेको त्यो समय हो जहाँ धेरै कर्महरु (कामहरु) गर्नुपर्छ र चुनौतीहरु पनि धैरै आउँछन् । यसलाई अर्को शब्दमा भन्नुपर्दा एउटा आरामको समय र अर्को श्रमको समय भन्दा हुन्छ ।

ज्योतिषमा आरामको समयलाई राम्रो भनिन्छ । त्यो बेला सबै कुरा हामीले सोचे जस्तै हुन्छ। तनाव रहित भई आरामपूर्वक त्यो बेलाको समय बित्छ । यति बेला हामीलाई जीवनमा चुनौतीहरू आउँदैन । राम्रो समयमा तनाव बिना जीवनमा कुनै हलचल नभइ त्यो समय शान्तीसँग बित्छ भन्ने ज्योतिषीको भनाइ हो ।

राम्रो समयमा हाम्रो जीवन आरामसँग बित्ने भएकाले यो बेला हामी धैरै कामहरु गर्दैनौं पनि । त्यसैले हाम्रो राम्रो समयले हामीलाई शिथिल र आलस्य बनाइ रहेको हुन्छ । यो बेला धन र वस्तुहरूको बढी संग्रह भैरहेको हुन्छ । व्यापार छ भने नाफा बढी भैरहेको हुन्छ, तर यो समयमा व्यक्तित्व विकास चाहिँ भइरहेको हुँदैन । कुनै पनि मानिसको व्यक्तित्वको विकास खराब समयमा नै हुन्छ ।

कुनै खेलाडीको, कुनै लेखक वा कविको, कुनै राजनीतिज्ञको श्रेष्ठ प्रदर्शन प्रतिकूल परिस्थितिहरूमा नै बढी भएको पाइन्छ । संघर्षले हाम्रो जीवनलाई निखार्छ । प्रतिकूलताले हाम्रो व्यक्तित्व फलाम जस्तो बलियो बनाउँछ ।

ज्योतिषमा विश्वास गर्ने कतिपय मानिसहरु आफ्नो र आफ्ना केटाकेटीहरूको जन्म कुंडलीमा राम्रो महादशा फलानो फलानो समयावधिमा आउँछ भनेर ज्योतिषीले भन्दा बडो खुशी भएको देखिन्छन् र खराब महादशा यो-यो समयमा आउँछभन्दा बडो दुखित हुन्छन् । ज्योतिषको मेरो अनुभवमा कुनै पनि महादशा राम्रो नराम्रो भन्ने हुँदैन । हामी त्यो समयमा कस्तो ( कर्म ) काम/ ब्यवहार वा “डिल” गर्छौं त्यसैमा राम्रो र नराम्रो निर्भर हुन्छ । मैले कतिपय साथी भाइ वा नजिकाका नातेदारहरु वा स्वयं आफ्नै अनुभवमा पनि राम्रो समयमा त्यति प्रगति नगरी प्रतिकूल महादशा चलेको बेला प्रगति गरेको देखेको छु । हाम्रो जीवनको राम्रो र नराम्रो भन्ने कुराहरु हाम्रो कर्म, विचार र जीवनचर्याबाट निर्धारित हुने कुरा हो। यदि तपाईंले राम्रो कर्म गर्नु भएको छ भने खराब महादशामा पनि राम्रै हुन्छ । मैले यस्ता धेरै मानिसहरु देखेको छु जसको अनुकूल (राम्रो ) दशाहरु हुँदाहुँदै पनि दुखी, रोगी भई धेरै तनावहरु झेलेर बसि रहेका छन्। ज्योतिष बिद्याले जे फलादेश गरेता पनि मानिसको जिवन चक्र सदैव एकनास हुँदैन ।

एउटा नेपाली उखान पनि छ ” डाक्टरको छोराछोरीको गलगाँड , ज्योतिषीको छोरी राँड ” यसो सोचेर हेर्दा लाग्छ हाम्रा भगवानहरू चाहे ती श्री राम हुन वा श्री कृष्ण उनीहरूको भव्य व्यक्तित्व निर्माण उनीहरूको संघर्षबाट भएको हो । संघर्षमा नै व्यक्तित्वको निर्माण हुन्छ । संघर्षमा मानिसको व्यक्तित्व जति परिस्कृत हुन्छ त्यति उसको कर्म वा कृतित्वमा निखार आउँछ यसमा ग्रह दशाहरुले, राम्रो-नराम्रो गर्दैन ।

सारा कुराहरू हाम्रो सोचले घटनाहरूलाई हेर्ने हाम्रो दृस्ट्रिकोणले हाम्रा कर्महरुले निर्धारित गर्छ र राम्रो र नराम्रो भन्ने कुराहरु त्यसैमा निहित हुन्छ ।

प्रतिक्रिया