‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोज्यो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका हुन् ।
उनले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउँदै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न चेतावनी दिए । अध्यक्ष नेपालले पूर्वराजाले पनि पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गरेर बसे हुने चेतावनी दिए ।
अध्यक्ष नेपालले भन्ने, ‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउले दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढीसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म बिस्फोटको रुपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्दछौँ ।’
अध्यक्ष नेपालले नेपाली जनताले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराए ।

प्रतिक्रिया