आगामी आर्थिक वर्षभित्र पुरातात्त्विक सम्पदाको पुनर्निर्माण सक्छौं : विभाग

काठमाडौं । पुरातत्व विभागले आगामी आर्थिक वर्षभित्र पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पुनर्निर्माण कार्य सक्ने बताए । तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले बजेट अभावकै कारण गुम्बाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पारेका छन् । १२सय ३३ वटा गुम्वा पुनर्निर्माण गर्नुपर्नेमा सरकारले २६ वटा गुम्बाका लागि १६ करोड बजेट दिएकाले त्यसलाई अगाडि बढाउन सक्ने अवस्था नरहेको महानिर्देशक गौतमको भनाई थियो ।
उनले एउटा गुम्बाको पुनर्निर्माण गर्न करिव ७ देखि ८ करोडसम्म लाग्ने अवस्था रहेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराएका छन् । विभागका अनुसार पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणका लागि बजेटको साथै विज्ञताको पनि अभाव छ । विभागले जनकपुरस्थित रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने कामलाई पनि अघि बढाएको छ ।
महानिर्देशक गौतमले भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको तिलौराकोटलाई पनि विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।विभागले सम्पदाहरुको उत्खनन तथा संरक्षण कार्यलाई अघि बढाउन बजेट, जनशक्ति र विज्ञताको अभाव रहेको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सहभागी सांसदहरुले सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक योजना बनाउन नसकेको भन्दै विभागको आलोचना गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाम्रा सम्पदाहरु पर्यटनसँग जोडिएको भन्दै त्यसको संरक्षण र विकासमा आवश्यक योजना बनाउन ढिलाई गर्न नहुने बताए । उनले रामजानकी मन्दिर, लुम्विनीलगायतका सम्पदाहरुको उचित व्यवस्थापनमा ध्यान दिन पनि विभागलाई सचेत गराएका छन् ।
नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विभागले सम्पदाहरुको संरक्षण हुनेगरी योजनावद्ध ढंगले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण कार्यमा गम्भिर भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् । सांसद राजभण्डारीले सिंहदरबारस्थित ग्यालरी बैठकको पुनर्निर्माणमा अझै ध्यान दिन नसकेको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया