समस्यासँग कसरी जुध्ने ?

जीवनमा उतारचढावहरू आउन सक्छन् । हामीले कुनै साना कुनै ठुला चुनौतीहरूको सामना गर्दछौं जसलाई हामीले जित्नुपर्ने हुन्छ । त्यसैले हामीले समस्याको समाधान निकाल्नु महत्त्वपूर्ण हुन्छ ।
सुझाव १ – आफ्नो दिमाग शान्त बनाउनुहोस् तपाईंलाई रिस उठेको, चिन्ता लागेको वा निराशा भएको हुनसक्छ र त्यसो हुनु सामान्य कुरा हो । यसप्रकारका सोचाई आएको बेला आफ्नो दिमाख शान्त राख्नुभयो भने तपाईंलाई सहयोग पुग्छ । एउटा हात छातीमा र अर्को हात निधारमा राखी लामो शास विस्तारै लिनुहोस् र आफ्नो सासमा केन्द्रित हुनुहोस् । तपाईंको दिमाखमा यस प्रकारका भावना र सोचाई आउँछन् भने तिनलाई तपाईंको अगाडिबाट उडेर जाने एउटा बादलको रूपमा लिनुहोस् जो क्षितिजपारि पुगेर बिलाउँछ । शान्त भएर सोच्नु भयो भने तपाईं सामु आउने समस्याहरू प्रभावकारी रूपमा समाधान गर्न सहयोग पुग्छ ।
सुझाव २- दोष नदिनुहोस् केही नराम्रो घटना भयो भने हाम्रो पहिलो ध्यान दोषारोपणतर्फ जान सक्छ । जस्तै, मैले सबै कुरा बिगारें, उनले मलाई यसो गर भनिन्, सुरूवात उसले गरेको हो, यसमा मैले केही गर्न सकिन, उनीहरूले मेरो कुरै बुझ्दैनन् आदि । तर दोष कसको थियो भन्ने कुरामा केन्द्रित भएर समस्याको समाधानमा सहयोग पुग्दैन । बरू झन् निराश बनाइदिन्छ । बरू, तपाईंले के कुरामा नियन्त्रण गर्न र अझै राम्ररी काम गर्न सक्नुहुन्छ भन्ने बारेमा केन्द्रित हुनुहोस् । के-कस्तो परिवर्तनको आवश्यकता छ ? तपाईंले के गर्न सक्नुहुन्छ वा तपाईंलाई के-कस्तो सहयोग आवश्यक छ भन्ने बारेमा सोच्नुहोस् । आफूले सोचेभन्दा तपाईं निकै बलियो र सहनशील हुनुहुन्छ ।
सुझाव ३ – समस्याको बारेमा विस्तृत रूपमा सोच्नुहोस् प्रश्न सोध्नाले समस्याको बारेमा अझ राम्ररी बुझ्न मद्दत पुग्छ। यो समस्या कसरी आइपर्याे ? यस्तो कसरी भयो ? तपाईंको लागि यो किन धेरै महत्त्पूर्ण छ ? यसले कसलाई प्रभावित पार्छ ? अब के हुन्छ जस्तो लाग्छ ? तपाईंलाई के कुराले यस्तो निराश बनाएको छ ?
सुझाव ४ – समाधानका उपायको सुची तयार पार्नुहोस् र समाधान निकाल्ने कोशिश गर्नुहोस् । तपाईंले सामना गर्नु परेको समस्याको बारेमा सोच्नुहोस् । तपाईंलाई लेखेर सजिलो लाग्छ भने त्यसपछि समाधानका सम्भावित उपायहरूको सुची तयार पार्नुहोस्, जुन अरूबाट सिकेका वा व्यवहारिक हुन सक्छन् । तपाईंले टिपोट गर्नु भएका प्रत्येक उपायले पार्न सक्ने सकारात्मक तथा नकारात्मक नतिजाको बारेमा सोच्नुहोस् र कुन चाहिं उपाय कोशिश गर्न सजिलो हुन्छ भन्ने बारेमा पनि सोचेर समाधानको उत्कृष्ट उपाय लागु गर्ने कोशिश गर्नुहोस् । के राम्रो भयो र के राम्रो भएन भन्ने बारेमा सोच्नुहोस् । कहिलेकाही एउटाभन्दा बढी उपाय पनि गर्नुपर्ने हुनसक्छ । तपाईंको समस्या समाधानको एउटा हिस्सा सो समाधानमा कसरी अनुकुलन गर्ने र फेरि कोशिश गर्नु पनि हो ।
सुझाव ५ – सहयोगको लागि कहिले अनुरोध गर्ने भन्ने कुरा थाहा पाउनुहोस् । यदि तपाईंले समस्यामा फसेको वा बढी चिन्तित रहेको पाउनुभयो भने बुझ्नुहोस् कि यो तपाईंको विश्वासिलो व्यक्ति वा विज्ञ परामर्शदाताको सहयोगको लागि अनुरोध गर्ने शक्ति हो। निम्न अवस्थाहरू तपाईंको जीवनमा आयो भने सहयोगको लागि अनुरोध गर्नुपर्दछ
-तपाईं रातिमा सुत्न सक्नुहुन्न, वा निदाइहाले पनि धेरै बेर निदाउन सक्नुहुन्न ।
-आफ्नो शरीरको तागत र/वा हौसला कम भइरहेको महशुस गरिरहनुभएको छ ।
-तपाईंको खाना खाने तरीका फरक परेको छ : या त भोक नै लाग्दैन, या ज्यादै धेरै खाना खानुहुन्छ ।
-जुनसुकै बेला अत्तालिने, तनाव वा चिन्ता महशुस गर्नुहुन्छ ।
-समस्याको सामना गर्नको लागि मादक पदार्थ वा लागुऔषध सेवन गर्नुहुन्छ।
-धेरै जसो समयमा एक्कासि आत्तिएको महशुस गर्नुहुन्छ : जस्तै, सास फेर्न अप्ठ्यारो भए जस्तो, मुटु फुलेको जस्तो । जति कोशिश गरे पनि शान्त हुन र आनन्दित महशुस गर्न सक्नु भएको छैन ।
-अब बाँचेर अर्थ छैन जस्तो लाग्ने, आफैंलाई हानि पुर्याउने वा मर्ने विचार आउने वा अब सुतेपछि फेरि कहिले पनि उठ्न सक्दिन कि भन्ने जस्ता भावनाहरू आइरहन्छन् ।
-तपाईंले आफु माथि हिंसा वा दुर्व्यवहार भइरहेको महशुस गर्नुहुन्छ ।
-यदि तपाईंले माथि उल्लेख भएका वा त्यस्तै अवस्थाहरू महशुस गरिरहनु भएको छ भने स्थानीय स्वास्थ्य संस्था वा सामाजिक एवं सामुदयिक केन्द्रहरूमा सहयोगको लागि अनुरोध गर्नु महत्त्वपुर्ण हुन्छ, तथापि आफ्नो समस्याको बारेमा बताउन तपाईंलाई असहज लाग्न सक्छ ।
तपाईंले महसुस वा अनुभव गरिरहेका समस्याहरूको बारेमा विस्तृतमा जानकारी दिन चाहनुहुन्न भने पनि तपाईंले सहयोगको लागि अनुरोध गर्नुभएको व्यक्तिले तपाईंलाई सहयोगको आवश्यकता रहेको कुरा बुझेका छन् भने पर्याप्त हुन्छ र उनीहरूले तपाईंलाई आवश्यक सहयोग गर्न सक्छन् ।
यसको अर्थ, तपाईंले आफ्नो समस्याको बारेमा केही कुराहरू भन्न सुरु गर्न सक्नुहुन्छ जसले गर्दा तपाईंलाई सहयोग गर्ने व्यक्तिले तपाईंको आवश्यकता बुझ्न सक्छन् । विशेषगरी तपाईंलाई जीवन बाँच्नुको कुनै अर्थ छैन जस्तो लागिरहेको वा भौतिक हानिको अनुभव भइरहेको र सुरक्षित हुनको लागि तपाईंलाई सक्दो छिटो सहयोगको आवश्यकता परेको अवस्थामा यो महत्वपुर्ण हुन्छ ।
स्रोत : युनिसेफ
प्रतिक्रिया